७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तह निर्वाचन : प्रमुख दलबीच नै प्रतिस्पर्धा

राजविराज- प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रित तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको उपस्थिति बाक्लो देखिएको छैन । निर्वाचन परिणाम आफ्नो पक्षमा पर्न दलहरू मात्र होइन स्वतन्त्र उम्मेदवार सक्रिय छन् । कुनै विषय वा मुद्दालाई लिएर प्रदेश नम्बर दुईमा दल विशेषको पक्षमा लहर देखिएको छैन । त्यसैले संगठनको जालो गाउँगाउँमा पु¥याएका परम्परागत दल कांग्रेस र एमालेले त्यसको लाभ लिने विश्लेषण गरिएको हो ।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका दलहरूको परिणामका विषयमा आआफ्नै दाबी छ । कांग्रेसले एक सय स्थानीय तह जित्ने दाबी गरेको छ भने एमाले प्रदेश नम्बर दुईबाट पनि आफूलाई पहिलो दलका रूपमा स्थापित गर्ने योजनामा छ ।
राजमार्ग र आसपासका क्षेत्रमा बाक्लो उपस्थिति देखाइरहेको एमाले प्रभाव दक्षिणी क्षेत्र (भित्री) मधेस केही पातलो छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवादले धनुषासहितका केही जिल्लामा मत परिणाम प्रभावित पार्न सक्छ ।
एमाले वैकल्पिक सदस्य एवं धनुषा नेता श्रीप्रसाद साहले प्रदेश नम्बर दुईको निर्वाचन परिणाम कांग्रेस र एमालेका पक्षमा बराबर आउने आँकलन गरे । उनले पार्टीको जित सुनिश्चित भए पनि आन्तरिक व्यवस्थापन कमजोर हुँदा केही ठाउँ गुमाउने आशंका व्यक्त गरे । ‘कांग्रेसले भन्यो भन्दैमा हामी पनि गफ दिँदैनौं,’ उनले भने, ‘एमालेले ४० देखि ५० तहमा जित्छ ।’
एमालेले सिरहा र सर्लाहीमा मुख्य ध्यान केन्द्रित गरेको छ । आन्तरिक विवादका कारण धनुषा एमालेका लागि त्यति सहज छैन । महोत्तरी र सप्तरी पनि कमजोर जिल्लाका रूपमा हेर्ने गरिएको छ । पार्टी नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहट सन्तोषजनक रहेको एमाले विश्लेषण छ ।
कांग्रेसले एक सय स्थान जित्ने दाबी गर्दै आएको छ । आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा तुलनात्मक रूपमा सिरहा र सप्तरीमा कांग्रेस  कमजोर छ ।
कांग्रेस नेता विमलेन्द्र निधिले एक सय तहमा जित्ने लक्ष्यसहित चुनावी प्रचारमा जुटेको दाबी गरे । उनले प्रदेश २ मा एमालेको उपस्थिति कमजोर रहेको बताए । ‘एमालेको छटपटाहटले पनि त्यही संकेत गरेको छ,’ उनले भने, ‘प्रदेश २ मा हाम्रो पक्षमा लहर छ ।’
माओवादीले २०७० को संविधानसभा निर्वाचनभन्दा यसपटक आफ्नो अवस्था सुधार्ने योजनासहित चुनावी अभियानमा केन्द्रित छ । मधेस केन्द्रित दलहरूको दक्षिणी क्षेत्रबाट आउने मतले चुनाव जित्नेमा आशावादी देखिन्छन् ।
संविधान संशोधन मुद्दा छाडेर निर्वाचनमा सहभागी भएका मधेसी दल मतदाताको ‘अघिल्ला दुई चरणको निर्वाचन किन बहिष्कार गरेको’ भन्ने प्रश्न खेपिरहेका छन् । निर्वाचनको मुखमा विभिन्न ६ दल मिलाएर गठन भएको राजपामा टिकट वितरणपछि तीव्र असन्तुष्टि बढेको छ ।
संघीय समाजवादी फोरम नेपाल राजपाभन्दा आफ्नो दललाई चुनावमा कसरी जिताउन सकिन्न भन्ने धुनमा छन् । विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकको उपस्थिति फिक्का देखिएको छ भने राप्रपाको उपस्थिति कमजोर देखिन्छ ।
मधेस राजनीतिका जानकार तथा पुराना नेता भरतविमल यादवले प्रदेश २ को निर्वाचन मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादीबीच हुने दाबी गरे । तीन दलपछि मधेस केन्द्रित दलको पक्षमा मत जाने उनको विश्लेषण छ । यादवले नागरिकसँग भने, ‘मधेस केन्द्रित कुनै दलले १० प्रतिशत सिट कटाउन पनि मुस्किल देखेको छु ।’
मधेस केन्द्रित दलमा संविधान संशोधन पक्षधरको भोट विभाजित हुँदा सांगठनिक रूपमा चुस्त एमालेले अप्रत्याशित परिणाम ल्याउन सक्छ ।
मधेस मामिलाका जानकार यादवले एमालेप्रति मधेसी जनता त्यति सकारात्मक नदेखिए पनि उम्मेदवारको प्रभावका कारण उसले धेरै ठाउँमा चुनाव जित्न सक्ने विश्लेषण गरे । ‘पार्टी विरोधी छ तर उसले उठाएको उम्मेदवार राम्रो छ,’ उनले भने, ‘पार्टीको विरोध गरेर के भयो ? उम्मेदवारलाई भोट हाले पनि जित्ने एमाले हो । तर, दुई नम्बर प्रदेशमा कांग्रेस बलियो छ ।’
माओवादीले पहिलाभन्दा संगठन सुधार गरेको बताउँदै यादवले भने, ‘राजपासहितका मधेसवादी दलमा आन्तरिक विवाद धेरै छ ।’
संविधान संशोधनको विषयले मधेसका जनता पक्ष र विपक्षमा विभाजित भएजस्तो देखिए पनि स्थानीय तहको निर्वाचन प्रचारमा त्यसले खासै महŒव पाएको छैन । विकास निर्माणका मुद्दाले चुनावी प्रचारमा बढी प्राथमिकता पाए पनि  जातीय मुद्दाले निर्वाचन परिणामलाई प्रभावित पार्ने देखिएको छ । यद्यपि अवस्था र अनुकूलता हेरेर सबै दलले संविधान संशोधन र मधेसका मुद्दालाई उठाउन भने छाडेका छैनन् ।
प्रदेश २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिकासहित १ सय ३६ स्थानीय तहका लागि असोज २ गते हुने निर्वाचनबाट यस क्षेत्रमा ६ हजार ६ सय २७ जनप्रतिनिधिका चयन हुनेछन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मताधिकार प्रयोग गर्नेछन् । मतदानका लागि २१ सय ६६ मतदानस्थल र ३५ सय ७८ मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी खटिनेछन् ।  
प्रभाव जोगाउने लडाइँ
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच स्थानीय निर्वाचनमा आआफ्नो गृहजिल्लामा पार्टीलाई जिताएर कसरी प्रतिष्ठा जोगाउन भन्नेमा लडाइँ सुरु भएको छ । मधेस आन्दोलनका कारण प्रदेश नम्बर दुईको निर्वाचन सबैको प्रतिष्ठाको विषय बनिरहेका बेला दलका शीर्ष नेता आफ्नो अस्तित्व  जोगाउन सक्रिय भएर लागेका छन् ।
एमाले नेता माधवकुमार नेपाल, राजपा नेताहरू महन्थ ठाकुर, शरद्सिंह भण्डारी,  कांग्रेस प्रभावशाली नेता विमलेन्द्र निधि, माओवादी नेता गिरिराजमणि पोखरेल, मातृका यादवलगायतका नेताहरूको गृहजिल्ला यही प्रदेशमा पर्छ । यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र सिरहा हो ।
संघीय समाजवादी फोरमकी नेत्री रेणु यादवको पनि यही प्रदेश हो । उनीहरू सबैले स्थानीय चुनावलाई आफ्नो राजनीतिक भविष्यसँग जोडेर हेरेका छन् ।
सबैभन्दा धेरै गाउँपालिका सर्लाहीमा छ भने जनसंख्यामा धनुषा अगाडि छ । धनुषाको १८ स्थानीय तहका १ सय ६९ वडाका लागि ३ सय २७ मतदानस्थल र ५ सय ३२ मतदान केन्द्र तोकिएको छ । ३ लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । धनुषा पूर्वराष्ट्रपति रामवरण यादव तथा नेताहरू विमलेन्द्र निधि, सत्रुधन महतो, रघुवीर महासेठको गृहजिल्ला हो ।
२० स्थानीय तह रहेको सर्लाहीमा २ सय वडाका लागि ३ सय १८ मतदानस्थल र ५ सय १ मतदान केन्द्र छन् । यहाँ ३ लाख ६६ हजार ६ सय मतदाता छन् । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव यही जिल्लाका हुन् ।
महोत्तरीमा १५ स्थानीय तहमा १ सय ३८ वडाका लागि २ सय ५८ मतदानस्थल, ४ सय १५ मतदान केन्द्र तोकिएको छ । यहाँ  ३ लाख ८ हजार ४ सय ९ मतदाता छन् । महोत्तरी शरद्सिंह भण्डारी र गिरिराजमणि पोखरेलको गृहजिल्ला हो ।
नेता माधवकुमार नेपाल र प्रभु साहको गृहजिल्ला रौतहटमा १८ स्थानीय तह छन् । १ सय ५७ वडा रहेको यस जिल्लामा २ सय ७७ मतदानस्थल र ४ सय ३४ मतदान केन्द्र छन् भने लाख २१ हजार १८ मतदाता छन् । जितेन्द्र सोनलको गृहजिल्ला बारामा १६ स्थानीय तहका लागि १  सय ६७ वडा छन् ।  बारामा ३ सय ३ मतदानस्थल र ४ सय ५८ मतदान केन्द्र छन् । यस्तै जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन् ।
दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज रहेको पर्सामा १४ स्थानीय तह छन् । पर्सामा १ सय १२ वडाका लागि १ सय ६७ मतदानस्थल र ३ सय४४ मतदान केन्द्र छन् जहाँ २ लाख ८० हजार २ सय १२ मतदाता छन् ।
प्रदिप गिरी, सीतादेवी यादव, चित्रलेखा यादवसहितका नेताको गृहजिल्ला सिरहामा १७  स्थानीय तह छन् । १ सय ६४ वडाका लागि २ सय २१ मतदान स्थलमा ४ सय ३१ मतदान केन्द्र छन् । सिरहामा ३ लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।
 

सुरक्षामा कडाइ
मतदानको दिन नजिकिँदै जाँदा प्रदेश २ को सुरक्षा प्रबन्ध कडा बनाइएको छ । निर्वाचन अघि र पछि पनि कुनै अप्रिय घटना नहोस् भनेर चारवटै सुरक्षा निकाय परिचालित भइसकेका छन् । निर्वाचन सुरक्षाका लागि प्रदेश २ मा ६१ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चार तहको सुरक्षा प्रबन्ध गरिएको निर्वाचनमा मतदानस्थल, मोबाइल परिचालन, रिजर्व फोर्स, निर्वाचन कार्यालय सुरक्षा र प्रहरीका कार्यालय सुरक्षामा सुरक्षाकर्मी तैनाथ छन् ।
भारतीय सीमा क्षेत्रबाट हुन सक्ने सम्भावित आपराधिक घटनाप्रति पनि सुरक्षा निकायले तयारी गरेको छ । सिरहमा र सप्तरीमा जयकृष्ण गोइत र नगेन्द्र पासवान ज्वाला समूहलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ ।
आठ जिल्लाका दुई हजार १ सय ६६ मतदानस्थलमध्ये एक हजार तीन मतदानस्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ । सबैभन्दा बढी संवेदनशील धनुषालाई मानिएको छ । यहाँ २ सय २२ अति संवेदनशील र १ सय पाँच संवेदनशील मतदानस्थल छन् । त्यसबाहेक सिरहामा १ सय ९ अति संवेदनशील ९ संवेदनशील, सप्तरीमा २ सय ६ अति संवेदनशील, १ सय ३५ संवेदनशील मतदान स्थलका रूपमा पहिचान गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
सर्लाहीमा १ सय ४१ अति संवेदनशील र १ सय ५१ संवेदनशील, पर्सामा ३७ अति संवेदनशील र ८९ संवेदनशील, बारामा ६६ अति संवेदनशील १ सय २९ संवेदनशील, रौतहटमा ८२ अति संवेदनशील र ८७ संवेदनशील भनी सुरक्षाकर्मीले पहिचान गरेका छन् । म्यादी प्रहरीको प्रयोग नगरिएको यस निर्वाचनमा नेपाल प्रहरीले मात्र ३० हजार जनशक्ति परिचालित छन् भने त्यसबाहेक सशस्त्र प्रहरीले करिब आठ हजार र नेपाली सेनाले झन्डै १८ हजार सुरक्षाकर्मी खटाएको छ ।

प्रकाशित: ३० भाद्र २०७४ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App