१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दुई नम्बर प्रदेशमा सय सिट जित्ने कांग्रेस दाबी

काठमाडौं- नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय निर्वाचनमा कम्तीमा एक सय तहमा विजयी हुने दाबी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी २ नं. प्रदेशमा हुने चुनावमा कम्तीमा सय तहमा विजयी हुने दाबी गरेका हुन् ।

मधेसका जनताको भावना र झुकाव हेर्दा कांग्रेस पहिलो पार्टी हुनेमा आफू विश्वस्त भएको रमेश लेखकको दाबी ।

२ नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी हुनेमा आफू ढुक्क भएको लेखकले बताए । ‘कांग्रेसले स्थापना कालदेखि नै मधेस र मधेसका जनताका लागि काम गर्दै आएको छ । यो २ नम्बर प्रदेशका जनताले बुझेका छन्’, उनले भने ।
२ नम्बर प्रदेशका विभिन्न जिल्लामा प्रचारप्रसारमा सहभागी भई काठमाडौं फर्किएका लेखकले त्यहाँका जनताको भावना र झुकाव हेर्दा कांग्रेस पहिलो पार्टी हुनेमा आफू विश्वस्त भएको दाबी गरे ।
लेखकले भने, ‘मधेसी भाषाभाषी, जनजातिलगायतका भवनालाई समेटेर संविधान स्वीकार्य बनाउन कांग्रेसले लिएको कदमले पनि पार्टी पहिलो हुन्छ ।’ एमालेले मधेसको विरोधमा काम गरेको अनुभूति मधेसवासीको भएको उनले दाबी गरे । ‘मधेसका जनताले कांग्रेसले मधेसको पक्षमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति भइरहेको छ,’ उनले भने ।
आठ सय किमि हुलाकी सडक निर्माण गर्ने, तराई–मधेसलाई काठमाडौंसँग जोड्ने फास्ट ट्र्याक नेपाली सेनालाई बनाउनदिने, निजगढ एअरपोर्ट निर्माण गर्नेलगायत रेल्वे सेवाविस्तार, सिँचाइ र शिक्षाका पूर्वाधार कांग्रेसको पालामा भएको उनले दाबी गरे ।
लेखकले कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवलगायतका शीर्ष नेता, केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सांसद तथा पूर्व सांसद २ नम्बर प्रदेशका विभिन्न तहमा पुगी चुनावे प्रचारप्रसारमा खटिएको बताए ।
यही असोज २ मा २ नम्बर प्रदेशका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ, जसमा एक महानगरपालिका तीन उपमहानगरपालिका, ६९ नगरपालिका र ६३ गाउँपालिका छन् । यीमध्ये मिथिला र निजगढ नगरपालिकामा माओवादी केन्द्र र गौर नगरपािलकामा फोरम नेपालसँग कांग्रेसले चुनावी तालेमल गरेको छ ।

प्रकाशित: ३० भाद्र २०७४ ०३:०९ शुक्रबार

दुई नम्बर प्रदेशमा सिट जित्ने कांग्रेस दाबी