मधेस (प्रदेश नम्बर २) का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए÷नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छन् ।
निर्वाचनमा सहभागी दलहरूले एकअर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लघंन गरिरहेका छन् । कुनै पनि दल आचारसंहिता उल्लंघनबाट टाढा नरहे पनि राष्ट्रिय जिल्ला निर्वाचन कार्यालय सप्तरी भने आचारसंहिता उल्लंघनका खासै घटना नदेखिएको बताउँछ ।
निर्वाचन प्रचार–प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, राजविराज नगर क्षेत्रसँगै जिल्लाका सार्वजनिक स्थल र भवनमा दलीय प्रचारप्रसारका पोस्टर तथा झन्डा राखिएका छन् ।
राजविराजस्थित गजेन्द्र चोकको चारैतिर विभिन्न राजनीतिक दलका उम्मेदवारका ब्यानर, चुनाव चिन्हअंकित झन्डा र पोस्टरले भरिभराउ छ । कुनै पनि दलले आफ्नो चुनाव चिन्हअंकित भेस्ट, टोपी, गम्छा लगाउन नपाउने आचारसंहितामा उल्लेख छ । आचारसंहिता पालना गर्ने भन्दै गत शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा भएको निर्णयमा राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आचारसंहिता उल्लंघन हुनेगरी प्रचारप्रसार सामग्री राखिए सुरक्षाकर्मीले तत्कालै झिक्न लगाउने र बारम्बार उल्लंघन गरेको पाइए निर्वाचन कानुनबमोजिम कारबाही भोग्ने बेहोराको निर्णयमा दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । तर, हस्ताक्षर गरेरफर्के लगत्तैदेखि अधिकांश दलले उक्त निर्णयको धज्जी उडाएका छन् ।
यसैगरी राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुइटा चारपांग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने आचारसंहितामा उल्लेख छ । तर, जिल्लामा एकै जना उम्मेदवारले दुईभन्दा बढी चारपांग्रे सवारीसाधन प्रयोग गरिरहँदा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मौन छ । अधिकांश उम्मेदवारले सवारीसाधन प्रयोगका लागि अनुमति लिएका छैनन् ।
राजनीतिक दलले चुनाव प्रचारमा बालबालिकाको प्रयोग पनि गरिरहेको देखिन्छ । दलहरू भने आफूहरूले कुनै पनि बालबालिकालाई कर गरेर राजनीतिक कार्यक्रममा नल्याएको दाबी गर्छन् । बालअधिकारकर्मी सुरेन्द्रप्रसाद गुप्ता भने दलहरूको यो दाबीमा सहमत छैनन् । उनका अनुसार आर्थिक विपन्नता र कमजोर शैक्षिक अवस्था भएका बालवबालिकालाई प्रलोभनमा पारेर प्रचारमा लगाउने काम दलहरूले गरिरहेका छन् ।
परिस्थिति र परिवेशअनुसार उम्मेदवार सबैले दिनहुँ भोज खुवाइरहेका छन् तर निर्वाचन अनुगमनका लागि हिंडेका विभिन्न संघसंस्था र निर्वाचन आयोगका अधिकारीलेले समेत त्यसप्रति आँखा चिम्लेका छन् ।
सप्तरीका प्रमुख निर्वाचन अधिकारी महेश ठाकुर भने जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका गम्भीर घटना नभएको बताउँछन् । ‘दलीय चिह्नअंकित टिसर्टलगायत प्रचारप्रसार सामग्री र शलीबारे केही–केही गुनासा र जानकारी आएका छन् तर गम्भीर घटना भने भएका छैनन् ।’
प्रचारमा बालबालिका
आचारसंहिताविपरीत रौतहटमा राजनीतिक दलका उम्मेदवारले प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेका छन् । बालबालिकालाई पार्टीको झन्डा बोक्न लगाएर उनीहरूले आचारसंहिता उल्लंघन गरेका हुन् ।
जिल्लाका १६ नगरपालिका र २ वटा गाउँपालिका गरी १८ तहको निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी साढे चार हजार उम्मेदवार मैदानमा छन् । अधिकांश पार्टीका उमेदवार आफ्नो पक्षमा मतदाता लोभ्याउन अचारसंहिताको ख्याल नै नगरी प्रचारप्रसारमा होमिएका छन् । उम्मेदवारहरूले प्रचारप्रसारमा ट्र¥याक्टर, पिकअप, मिनिट्रकलगायत सवारीसाधन, डिजे बाजा र बालबालिकाहरूको प्रयोग गर्दै आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।
जिल्लाको मध्यभागमा पर्ने गरुडा बजारमै उम्मेदवारहरू सवारी साधनमा डिजेबाजा बजाएर आफनो पक्षमा मतदाता लोभ्याउन घुमिरहेका छन् । उनीहरूले नाचगान बालबालिकालाई प्रयोग गरेका छन् । तर अनुगमन गर्ने निकाय मौन बसेका कारण यस्ता घटना बढ्दै गएको गरुडा सैलुन व्यवसायी ललिन्द्र ठाकुर बताउँछन् । दलीयबाहेक स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याइरहेका छन् । आचारसंहिता उल्लंघनका काम पटकपटक भइरहँदा पनि रौतहटमा अहिलेसम्म कसैलाई कारबाही भएको छैन ।
निर्वाचन आचारसंहिताको परिच्छेद २ को ८ नम्बरमा राजनीतिक दलका उम्मेदवारहरूले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मिक पुरातात्विक भवनका भित्तामा पर्चा टाँस्न मनाही गरिएको भए पनि यहाँ त्यसको पालना भएको देखिँदैनन् । बुदा नम्बर १३ मा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख छ तर त्यसको विपरीत भइरहेको छ । यसैगरी आचारसंहिताले एक उम्मेदवारलाई दुईभन्दा बढी गाडी प्रयोग गर्न रोक लगाएको छ तर उम्मेदवारले यस प्रावधानको पनि पालना गरेका छैनन् । अधिवक्ता विपीन गौतम आचारसंहिताको चरम उल्लंघन भइरहँदा पनि अनुगमन र कारबाही नभएको बताउँछन् ।
आचारसंहिता उल्लंघनका विषयमा हालसम्म कुनै क्षेत्रबाट उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवले बताए । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले आयोगले तोकेको मापदण्डविपरीत हुने प्रचारप्रसार रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए ।
भड्किलो प्रचारप्रसार
निर्वाचन आचारसंहिताको महोत्तरीमा पनि उल्लंघन भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र निर्वाचन आयोग दुवै रमित्ते बनेर आचारसंहिता उल्लंघनका दृश्य हेरेर बसेका छन् । आचारसंहिताविपरीत भड्किलो र खर्चिलो प्रचारप्रसार तथा भोजभतेरदेखि मतदाता खरिदबिक्रीमा उम्मेदवार संलग्न हुँदा पनि अनुगमन र कारबाही हुन सकेको छैन । यहाँ प्रमुख दलहरूले नै निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचारप्रसार गरेको इन्सेक प्रतिनिधि अजयकुमार साहले बताए ।
फितलो अनुगमन
निर्वाचन आयोग मातहतका कार्यालयको फितलो व्यवस्थापन, वीरगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा देखिएको लापारबाही र निर्वाचन कार्यक्रममा सुरक्षाकर्मीको अनधिकृत हस्तक्षेपले चुनावी उत्साहमा ठेस पु¥याएको वीरगन्जका अगुवाहरूको बुझाइ छ । आचारसंहिता उल्लंघनका घटना रोक्ने आयोेगका कर्मचारी निष्प्रभाावी भएको उनीहरू बताउँछन् । आयोगको अनुगमनमा खटिएका अधिकारी केबल भत्ता पचाउने दाउमा रहेको आरोप मानवअधिकारकर्मी अधिवक्ता कमलमोहन पोखरेलले लगाए । पोखरेलले आयोग लाचार देखिएको टिप्पणी गरे । उम्मेदवारले मतदाता पकडमा राख्न रात्रीकालीन भोजभतेर पनि गरिरहेका छन् । प्रभावमा पारेर मत हासिल गर्ने होडबाजीले लोकतन्त्रमा स्वच्छ र निष्पक्ष निर्वाचको मर्ममा प्रहार भइरहेको उनको बुझाइ छ । ‘व्यक्तिको निर्णय प्रभावित गर्ने उद्देश्यले भोज खुवाउने वा केही दिनेलिने काम भएको छ भने त्यसले मतदाताको स्वतन्त्रतामा हस्तक्षेप गरेको बुझ्नुपर्ने हुन्छ,’ सामाजिक कार्यकर्ता शिवनाथ यादवले भने, ‘अहिले त्यहीं भइरहेको छ । खानु उम्मेदवारहरूको डटेर तर भोट हाल्नु आफू सोचेर भन्ने नारा पनि चलेको छ ।’
एउटै उम्मेदवारले ठूलाठूला आकारका तुल, रंगीचंगी पोस्टर पम्पलेट र दर्जनौं सवारीसाधन प्रयोग गर्दा पनि केही गर्न नसकेको सरकारी अनुगमन संयन्त्रले भोजभतेर जस्ता कुरालाई नियन्त्रण गर्न सक्छ भन्ने विश्वास यादवलाई छैन् । अहिले चुनावमा व्यापक रुपमा भोजभतेर र आचारसंहिताविपरीत गतिविधि हुनुमा ठूला दलहरू मुख्य जिम्मेवार रहेको आमबुझाइ छ । ‘उम्मेदवार छनोटदेखि नै पैसाको खेल देखिन्छ,’ दलित अधिकारकर्मी नीला रामले भनिन्, ‘अहिले दलित बस्तीमा उम्मेदवार र तिनका कार्यकर्ता पसेर भोजभतेर खुवाउने, सारी बाँड्ने जस्ता काम गरिरहेका छन् र भोट यताउति दिए नराम्रो हुने धम्कीपूर्ण कुरा गर्दैछन् ।’
अधिवक्ता रामेश्वर सेढाई नगद, जिन्सी, अन्न र अश्वासन बाँडेर भोट हात पार्ने उम्मेदवारहरूको रणनीतिले आचारसंहिता कागजको खोस्टो मात्र बनेको बताउँछन् । ठाकुरराम बहुमुखी क्याम्पस राजनीतिशस्त्र विभागका प्रमुख प्राध्यापक डा. हरेराम ठाकुर दलहरूलाई आचारसंहितामा प्रतिबद्ध गराउन नागरिक दबाव जरुरी रहेको बताउँछन् ।
बालकृष्ण अधिकारी/जितेन्द्रकुमार झा/राजविराज, मदन ठाकुर/रौतहट, महेशकुमार दास/महोत्तरी, रितेश त्रिपाठी/वीरगन्ज
प्रकाशित: ३० भाद्र २०७४ ०२:२७ शुक्रबार