७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

काठमाडौं- व्यवसायीले दसैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । उपत्यकामा दसैं-तिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि बाँकी १५ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाट समेत ल्याइने छ ।

यहाँ उत्पादन नहुँदा मासुमा भारतीय भर पर्नुपर्ने अवस्था रहेको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ,’ संघका अध्यक्ष गोविन्द पाठकले भने, ‘दसैंलाई करिब ३५ हजार खसीबोका भारतबाट ल्याउने तयारी छ ।’

खसी प्रतिगोटा करिब १४ हजार रुपैयाँका दरले बिक्री हुने संघले जनाएको छ । सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैंमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्ने छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडा–च्यांग्रापालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ ।

दसैं, तिहारमा मांशाहारीले घरघरै खसी–बोका काट्ने परम्पराले मासुको माग उच्च हुने भएकाले भारतबाट करिब आधा अर्बको खसीबोका ल्याउनुपर्ने चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ ।

स्वदेशी उत्पादनले १०–१५ प्रतिशतमात्र थेग्ने संघले जनाएको छ । यो सिजनमा मात्र करिब आधा अर्ब रुपैयाँ भारत जाने भएको छ ।

भारतबाट मात्र नभएर चीनबाट केरुङ, मुस्ताङको कोरला नाका हुँदै पनि भेडाच्यांग्रा ल्याउने क्रम सुरु भएको छ । हिमाली क्षेत्रमा भेडाच्यांग्रा पाल्ने किसानले चीनको सीमा क्षेत्रबाट भेडच्यांग्रा किनेर ल्याई मिसाएर बेच्ने सम्बन्धित जिल्लाका किसान बताउँछन् ।

चाडवाडमा सहरी क्षेत्रमा खसीबोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याउने तयारी गरिएको छ  ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसीबोका ल्याउने अध्यक्ष पाठकले बताए । ‘८५–९० प्रतिशत खसीबोकाको मासु विदेशबाट ल्याएको प्रयोग गर्नुपर्नेछ,’ उनले भने, ‘यहाँ पर्याप्त उत्पादन नहुँदा यस्तो समस्या भएको हो ।’

व्यापारीसहित सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले राजधानीमा दसैंतिहारलाई करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा बिक्री गर्ने योजना बनाएको छ । संस्थानले दसैंतिहारका लागि १५ सय खसीबोका, एक हजार भेडाच्यांग्रा उपत्यका ल्याएर बेच्ने जनाएको छ ।

उपभोक्तालाई स्वस्थ र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडाच्यांग्रा र खसीबोका ल्याउन लागिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ‘संस्थानका विभिन्न जिल्लामा भएका शाखामार्फत उपत्यकामा ल्याउने व्यवस्था मिलाउछौं,’ कार्कीले भने, ‘यसबाट माग पूरा नभए पनि बजारको मूल्य नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास लिएका छौं ।’

माग बढ पनि चाडवाडमा मासु अभाव हुन नदिने व्यवसायीले बताएका छन् । दसैंतिहारको लागि आवश्यक मासुको व्यवस्थापन गर्नको लागि गाउँगाउँ पुगेर खसीबोका संकलन गर्छन् ।

चाडपर्वमा उपभोक्तालाई स्वस्थ मासु ख्वाउन पशु विभाग अन्तर्गतका पशु क्वारेन्टाइनले समेत निगरानी बढाउने जनाएको छ । मासुजन्य वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले भारतबाट प्रवेश गर्ने सीमा क्षेत्रका क्वारेन्टाइनमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । मासुको लागि प्रयोग हुने पशुलाई जिल्लाबाट निकासी गर्दा सम्बन्धित जिल्लाको पशु सेवा कार्यालयले स्वास्थ्य जाँच गरी प्रमाणपत्र दिनुपर्छ ।

चाडवाडको बेलामा गुणस्तहीन मासु लगायत वस्तुको बिक्री वितरण निरुत्साहित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली गठन गरेर परिचालन गर्ने जनाएका छन् ।

सरकारले अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने योजना अघि बढाएको छ । पशुको उत्पादन र उत्पादकत्व बढाउँदै पशुजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने योजना रहेको पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । ‘मुख्य तीन वस्तुमा आत्मनिर्भर बन्ने योजना छ,’ सचिव जिसीले भने, ‘अण्डा, मासु उत्पादनलाई प्राथमिकतामा राखेका छौं ।’

प्रकाशित: २९ भाद्र २०७४ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App