८ वैशाख २०८१ शनिबार
समाज

स्थानीय चुनावले गाउँको कायापलट हुने अग्निपीडितको आशा

औरही (सिराहा)- औरहीका अग्नीपीडितले सरकारले आफूहरूलाई दुई नम्बरको नागरिकसरह व्यवहार गरेको गुनासो गरेका छन् । आफ्नो पक्षमा बोलिदिने जनप्रतिनिधि नहुँदा राज्यबाट आफूहरू उपेक्षामा परेको भन्दै उनीहरूले उचित राहतसमेत नपाएको गुनासो गरेका हुन् ।

‘हाम्रो गाँस र बास खोसिँदासमेत सरकारले हामीलाई २५ हजार दिएर झारा टार्ने काम ग¥यो,’ औरही –५ का अग्नीपीडित विल्टु साह भन्छन्, ‘बाढी र भूकम्प प्रभावितलाई सरकारले खै के के दियो रे हामीलाई चाहिँ वास्तै गरेन ।’

बस्तीमा आगो सल्किएपछि घरमा भएका नगद पनि झिक्न नभ्याएको सुनाउँदै उनले भने, ‘लगाएकै गन्जी र धोतीमा तीन दिन गुजारेँ ।’

घर, अन्न, नगद, लत्ताकपडा गरी आठ÷दस लाखको क्षति भएको उनले सुनाए । जति नोक्सान भए पनि सरकारले सबैलाई त्यही २५ हजार दिएको सुनाउँदै उनी भन्छन्, ‘त्यसले केही नभए पनि सरकारले दिएको राहत भनेर लिएँ ।’

भूकम्पबाट घर भत्केकालाई घर बनाउन सरकारले पैसा दिइरहेको रेडियोबाट सुनेका विल्टु भन्छन्, ‘जसोतसो बस्ने घर त बनाएको छु ।’ राहत वितरणमा राज्यले विभेद गरेको बुझाइमा रहेका उनले भने, ‘घर जल्दा २५ हजार भूकम्प र बाढीबाट भत्किएकालाई चाहिँ किन धेरै ? हामीलाई राज्यले नै दोस्रो दर्जाको व्यवहार ग¥यो ।’

अग्नी प्रभावितले आफ्नो क्षमताले वासको व्यवस्था गरिसकेको सुनाउँदै उनी थप्छन्, ‘गाउँपालिकाको चुनाव भइरहेको छ । आफ्नो (चिनेका)ले जिते विकास हुन्थ्यो कि ।’

२०६९ मा आगलागी हुँदा सिंगो बस्ती नै खरानीमा परिणत भएपछि विस्थापित भएका सबैले घर बनाइसकेका छन् । सरकारले दिएको २५ हजारले घर नबने पनि थपथाप गरेर घर बनाएको सुनाउँदै विल्टु थप्छन्, ‘अब विकास चाहियो । विकास गर्नेलाई भोट दिने हो ।’

बाटो, खानेपानी, सिँचाइको विकास होस् भन्ने उनीहरूको चाहना छ । निर्वाचनका बेला सबै दलका नेताहरू विकास गरिदिन्छु भन्दै आउने गरे पनि त्यसपछि कोही फर्केर नआउने भन्दै अर्का अग्नीपीडित मोहमद मस्तीकीले भने, ‘घर खरानी हुँदा केही नगरे पनि अब गाउँको विकास गरिदिए हामीलाई राहत पुग्थ्यो ।’

असोज २ गते हुने स्थानीय तह चुनावमा भोट माग्न पुग्ने सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसँग औरहीका अग्नीपीडितको एउटै माग छ, ‘हामीलाई विकास चाहिएको छ ।’ घर बनाउन सहयोग नगरे पनि जनप्रतिनिधिले जनताका समस्या बुझ्नेमा उनीहरू आशावादी छन् ।

आफूहरूलाई दुःख पर्दा नआउनेलाई भोट माग्न आउने अधिकार पनि नभएको बताउँदै मोहमदले भने , ‘नेताहरू लाजै नमानी आइरहेका छन् ।’

पालमुनि र स्कुलमा बस्दा नमस्कार गर्दा पनि वास्ता नगर्नेहरूले अहिले आफै नमस्कार गर्दै आइरहेको सुनाउँदै उनले भने, ‘जनताका दुःखमा टाउको लुकाउनेहरू भोट देऊ भन्दै घरमै आइरहेका छन् ।’ 

विल्टुजस्तै औरहीका रामबाबु साकेलाई पनि राज्यले आफूहरूलाई अन्याय गरेको सुनाए । राहत वितरणमा मात्र नभएर गाउँको चुनाव गराउने कुरामा पनि छुट्याएको उनको गुनासो छ । पहाडमा पहिला चुनाव गराएर मधेसमा पछि गरेको भन्दै उनले भने, ‘यहाँ पहिला गरेर पहाडमा पछि गरेको भए पनि हुन्थ्यो । हामीलाई सधैं हेपिएको छ ।’

चुनाव भए आफ्नो गाउँठाउँमा विकास हुने आशामा रहेका उनले भने, ‘सबैले विकास चाहेको छ बाटो, पानी, नाला, सिँचाइ ।’

खोलामा पानी बढेपछि गाउँमा आउन पनि समस्या पर्ने भन्दै उनले भने, ‘बाटो राम्रो बनाउनुप¥यो । पुल बनाउनुप¥यो ।’

कांग्रेस, एमाले, माओवादी र फोरमबीचमै प्रतिस्पर्धा हुने बुझाइमा रहेका साके भन्छन्, ‘पहाडी र मधेसी बस्ने, खाने, काम गर्ने र बाँच्ने सबैलाई अधिकार हुनुपर्छ ।’

जनताले पहाडी र मधेसी नभनेको बताउँदै उनले भने, ‘हामीहरू कहाँ पहाडी मधेसी भन्छु । नेताहरूले मात्र त्यसो भन्छ ।’

औरहीकी जानकी मेहता पनि असोज २ गते हुन लागेको गाउँ (स्थानीय) चुनावमा गाउँसेवीलाई मतदान गर्ने बताउँछन् । कसलाई मतदान गर्ने त भन्ने प्रश्नमा उनले भनिन्, ‘गोप्य मतदान हो हजुर अहिले कहाँ भन्नु । तर, हामी जसले विकास गर्छ उसलाई भोट दिन्छौं ।’

भोटका बेलामा सबै आउने तर पछि कुनै पार्टीका नेता फर्केर आउने नगरेकामा औरहीका बासिन्दा रुष्ट छन् । अप्ठेरो पर्दा गाउँमा आउनेलाई नै भोट दिने भन्दै उनले थपिन्, ‘हामीजस्ता सानातिनाको पनि कुरा सुन्न, सबैको कुरा गर्नेलाई जिताउनुपर्छ । भोट पाएपछि गाउँ नआउनेलाई होइन ।’

‘गाउँको चुनाव पहिला नै भएको भए आगोले गाउँ नै जल्दा आफ्नो पक्षमा आवाज उठाइदिने मान्छे हुनेथिए । चुनाव भएको भए भोट दिएका नेतालाई भन्न पाइन्थ्यो,’ उनले भने, ‘बल्ल चुनाव हुन लागेको छ, अब हाम्रो पक्षमा बोल्ने हुन्छन् कि ।’

औरही गाउँपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेसबाट सुभाषकुमार यादव, एमालेबाट सुवर्ण यादव, माओवादीबाट सिद्धार्थ यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट नरेन्द्रकुमार यादव र संघीय समाजवादीबाट शिवजी यादव मैदानमा छन् । 

प्रकाशित: २९ भाद्र २०७४ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App