१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तिलाठी सम्पर्क बाहिर, चार दिन पनि टिकेन सडकको डाइभर्सन

तिलाठी (सप्तरी)- नेपाली सेनाद्वारा निर्मित सप्तरीको तिलाठीस्थित राजविराज–कुनौली सडकअन्तर्गतको खाँडो पुल डाइभर्सन खाँडो नदीले बगाएको छ । गत आइतबार मात्रै उक्त डाइभर्सनको अनुगमन निरीक्षण गर्न रक्षा सचिव श्रीधर पौडेल तथा कार्यवाहक सेनाप्रमुख बलदेवराज महत हेलिकोप्टर चढेर तिलाठी आएका थिए ।

                डाइभर्सन निर्माणस्थलसम्मै गुगेर रक्षा सचिव र कार्यवाहक सेना प्रमुखले सेनाको कामप्रति सन्तुष्टि व्यक्त गरेका थिए । तर चार दिन नबित्दै बुधबार बिहानै खाँडो नदीमा आएको सामान्य बाढीले उक्त डाइभर्सन बगाएको हो । डाइभर्सन बगाएपछि राजविराज–कुनौली सडक खण्डमा यातायात अवरुद्ध भएको छ भने तिलाठी कोइलाडी गाउँपालिका केन्द्रसँग अधिकांश वडाको सम्पर्क बिच्छेद हुन पुगेको छ ।

                तिलाठीस्थित प्रहरीचौकी र बोर्डर आउट पोस्ट तिलाठी गाउँपालिका मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट सम्पर्क विच्छेद भएको सामाजिक परिचालक राजेशकुमार बत्सले जानकारी गराए । असार पहिलो सातातिर नै खाँडो नदीले बगाएको उक्त डाइभर्सन चुनाव लक्षित गरेर नै सेनालाई निर्माण गर्न दिइएको थियो ।

                सही तरिकाले काम नगरिएका कारण सामान्य बाढीले नै उक्त डाइभर्सन बगाएको स्थानीयको आरोप छ । ‘तीनवटा ह्युम पाइप राखेर खाँडो नदीबीचमा डाइभर्सन बनाएर बाढी थेग्ने प्रयास गर्नु मजाकबाहेक केही पनि होइन’, स्थानीय देवनारायण यादवले भने, ‘पछिल्लो तीन वर्षदेखि सडक विभागले जस्तै सेनाका प्राविधिकले पनि गल्ती मात्रै दोहो¥याए ।’ बाढीले डाइभर्सन बगाएपछि एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कातिर उम्मेदवारको प्रचार अभियानसमेत प्रभावित बनेको छ ।

                 डाइभर्सन निर्माणका लागि यसअघि पनि सडक विभागले पटक पटक बजेट निकासा गरेको थियो । विभागले ठेकेदारसँगको मिलोमतोमा गुणस्तरहीन काम गरेर उक्त रकम झ्वाम पार्ने गरेको स्थानीयको आरोप छ । सडक अवरुद्ध भएपछि उक्त क्षेत्रका झन्डै आधा दर्जन बढी गाउँका बासिन्दालाई सास्ती बेहोर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । जिल्लाको दक्षिणी भेगका गाउँलाई सदरमुकाम राजविराजसँग जोडने मुख्य मार्ग यही हो । ‘सदरमुकाम राजविराजसँग सम्पर्क जोडने एक मात्र विकल्प यही सडक हो’, तिलाठीका अमर यादवले भने, ‘यतायात अवरुद्ध भएपछि काम विशेषले सदरमुकाम जान पनि मुस्किल भएको छ ।’

                सप्तरीकै पहिलो कालोपत्रे सडकका रुपमा रहेको राजविराज–कुनौली सडकलाई राज्यले पूर्ण रुपमा बिर्सिसकेको स्थानीय गनु मुखिया बताउँछन् । सदरमुकाम राजविराजलाई जिल्लाको दक्षिणी भेगका दर्जनौं गाविस हुँदै भारतीय नाका कुनौली–बोर्डरसम्म जोड्ने यस सडकको झन्डै चार किलोमिटर सडक अत्यन्तै जर्जर अवस्थामा रहेको उनले बताए । उनले भने, ‘यसको जीर्णोद्धारभन्दा पनि पुनर्निर्माण आवश्यक छ ।’

                सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी, कोचाबखारी, लौनियाँ, सकरपुरा, कोइलाडी, रम्पुरामल्हनियाँसहितका गाविसको विकासको आधार मानिने यो सकडको दूरवस्थाका कारण जिल्लाको विकासमा अवरोध पुगेको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानको भनाइ छ ।

प्रकाशित: २९ भाद्र २०७४ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App