coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोलियाका ट्रकमाथि वनको अनुसन्धान

प्रहरीले गोलियासहित नियन्त्रणमा लिएर इलाम चोक बजारमा राखेका ट्रक । तस्बिर: भीम चापागाई‌ं

इलाम–    प्रहरीले मेची राजमार्गका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका रुखका गोलिया बोकेका ट्रक चालकसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ । ‘प्रक्रिया नपुर्याइ’ गोलिया निकासी गर्न लागेको भन्दै शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएका २० मध्ये ७ ट्रक र ६ चालक आइतबार वन कार्यालयमा बुझाइएको हो।
      १३ ट्रकको काजगात पुगेकाले शनिबार बिहानै छाडिएको प्रहरीले जनाएको छ। सहायक वन अधिकृत हरिहर यादवले प्रहरीले ६ चालक र ७ ट्रक अनुसन्धानका लागि बुझाएको बताए। ‘हामीले ती ट्रकमा ल्याइएको गोलियाबारे अनुसन्धान थालेका छौं,’ उनले आइतबार साँझ भने, ‘अनुसन्धानमा समय लाग्ने भएकाले अहिल्यै केही भन्न मिल्दैन।’ प्रहरीले मेची राजमार्गअन्तर्गत सदरमुकामनजिकै धोविधारा, इलाम चोक बजार र गोलाखर्क भञ्ज्याङबाट ती ट्रक नियन्त्रणमा लिएको थियो। ‘कागजपत्रबिनै गोलिया निकासी गर्न लागेको’ र गोलिया ‘सिल’ नगरेको पाएकाले नियन्त्रणमा लिएको प्रहरीका एसपी सुशीलकुमार यादवले बताए।  
    प्रहरीले रुखको गोलिया निकासी गर्दा घाटगद्दी (रुख काटेर गोलिया थुपारेको स्थान)मै टाँका र सिलबन्दी गर्नुपर्नेमा व्यवसायीले दरपिट र सिलबेगरै सदरमुकामसम्म ल्याएको दाबी गरेको छ। व्यवसायी भने वन कर्मचारी सबै घाटगद्दीसम्म पुग्न नसकेकाले धेरै सहायक सडकको केन्द्र पर्ने स्थानमा सिल गर्न ती ट्रकहरू आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । वन पैदावर व्यवसायी संघ अध्यक्ष सोनामकाजी लाप्चाले सबैतिरका घाटगद्दी पुगेर वन कार्यालयका अधिकृतस्तरका कर्मचारीले गाडीमा गोलिया सिल गर्न सम्भव नभएकाले धोबिधारामा एकैठाउँ सिल गर्न लाग्दा प्रहरीले ट्रकहरू नियन्त्रणमा लिएको बताए। उनले प्रहरीले धोबिधारा आइपुग्नुअघि नै नियन्त्रणमा लिएका केही ट्रक धोविधारा कटाएर इलाम चोक बजारसम्म पुर्याएको पनि बताए ।
    तर, वन कार्यालयले भने वनका कर्मचारीले घाटगद्दीमै पुगेर सिल लगाउने गरेको बताए । सहायक वन अधिकृत यादवले भने, ‘सिल नगरी घाटगद्दीभन्दा अन्यत्र गोलिया लैजानै पाइँदैन,’ उनले भने, ‘धोबिधारामा ल्याएरमात्र सिल गर्ने गरिएको पनि होइन । कर्मचारी घाटगद्दीमा नपुगुञ्जेल पर्खिएर उनीहरूले सिल लगाएपछिमात्र ल्याउनुपर्ने हो ।’ उनले गोलियामा सिल गरेको छ या छैन भन्नबारे अनुसन्धान हुन बाँकी नै रहेको बताए । व्यवसायीले भने सबै कागजपत्र पुर्याएर ल्याएको गोलियासमेत नियन्त्रणमा लिएर प्रहरीले दुःख दिएको बताएका छन् । वन पैदावर व्यवसायी देवेन्द्र मुखियले आफूले राँकेबाट सबै प्रक्रिया र कागजात पु¥याएर ल्याएको ट्रकसमेत समातेर प्रहरीले अनाहकमा दुःख दिएको गुनासो गरे ।

 

प्रकाशित: ५ असार २०७३ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App