८ वैशाख २०८१ शनिबार
खेल

मुक्केवाज सुशीलले नागरिकता पाए

काठमाडौं—लामो समयदेखि नागरिकता नभएका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले आज नागरिकता पाएका छन्। सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा गई सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए। सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजी तौलसमूहका स्वर्ण पदक विजेता हुन्।

राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको बताए।

सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा आफू निराश हुनुपरेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए। रासस

प्रकाशित: २८ भाद्र २०७४ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App