७ वैशाख २०८१ शुक्रबार
समाज

सदरमुकाम भित्रै मौलाउँदै कालोबजारी

बजार अनुगमनका क्रममा घरेलु मदिरा नष्ट गराउँदै सरोकारवाला सरकारी कर्मचारी तथा उपभोक्ता अधिकारकर्मीहरू । तस्बिर : किसान संगीत नेपाली

लमजुङ – जिल्लाको सदरमुकाम समेत रहेको बेसीसहरमा नै उपभोक्ताको हित विरुद्ध कालोबजारी मौलाउँदै गएको पाइएको छ।    

बजार अनुगमनका क्रममा यहाँका विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरूले मापदण्ड मिच्दै उपभोक्ताको हित विरुद्धका गतिविधि गर्दै आएको भेटिएको हो । अनुगमनका क्रममा विभिन्न पसलहरुमा उत्पादन मिति उल्लेख नगरिएका, उपभोग्य अवधि गुज्रिएका, सडेका सामानहरु भेटिनुको साथै अखाद्य पदार्थको मिसावट भएका देखि कमगुणस्तरका सामानसम्म भेटिएको थियो । त्यस्तै बिनादर्ता पसल सञ्चालन गरेको, एउटा व्यवसाय दर्ता गरी अर्कै व्यापार गरेको, मापदण्ड विपरीतका सामानहरुको बिक्री वितरण गर्ने गरेको पनि पाइएको अनुगमन तथा निरीक्षण अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले बताए।

दुधजन्य सामानको विक्री वितरण गर्ने पसलहरूमा पोखरास्थित पन्थी आइसक्रिममा उत्पादन मिति नै उल्लेख नभएको आइसक्रिम बिक्री भइरहेको भेटिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डाक्टर लक्ष्मण ढकालले बताए । उनका अनुसार, मासु व्यवसायीहरूले कुखुराको मासु सँगै दाना राखेर बिक्री गर्ने गरेको, स्टीलनेस स्टीलको मासु काट्ने औजार र जोख्ने ढक तराजु हुनु पर्नेमा फलामकै सामाग्रीहरू चलाउँदै आएको, मासु काट्ने स्थलमा अनावश्यक सामाग्रीहरू पनि राख्ने गरेको पाइएको छ । त्यस्तै मासु काट्ने, प्रशोधन गर्ने र बिक्रीकक्ष समेत वेग्लै हुनु पर्नेमा कुनै पसलले पनि त्यो मापदण्ड पुरा गरका छैनन् । मासुजन्य पदार्थको बिक्री वितरणका क्रममा धेरै संक्रमण हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउनु पर्नेमा व्यवसायी गम्भीर हुने गरेका छैनन्।

बजारमा खुलेआम हिमाली जिल्ला मनाङबाट ल्याइएको स्याउको मदिरा बिक्री गर्दै आएको भेटिएपछि सो मदिरा पनि नष्ट गरिएको बेसीसहर नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । त्यस्तै, उपभोग अवधि गुज्रिएका स्प्राइट, फेन्टा जस्ता पेय पदार्थहरू समेत धेरै पसलमा भेटिएका छन् । बजारमा विशेषगरी भारतीय र तराईमूलका नागरिकले सञ्चालन गरेका खाजा घरहरु दर्ता नगरी सञ्चालन गरेको र तिनका खाजा बनाउने ठाउँ औसत भन्दा फोहोर भेटिएको थियो । दर्ता नै नगरी मिठाई पसल चलाएको र मिठाईमा रंगहरुको मिसावट भएको पनि भेटिएको पौडेलले बताए । मसलाजन्य वस्तुहरुमा पनि मिसावटयुक्त र कमसल वस्तुहरु विक्री गर्ने गरेको देखिएको छ। 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नजिँकिदै गरेका चाडपर्वको माहौलमा उपभोक्ता माथि हुन सक्ने ठगी र कालोबजारीलाई नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई तिव्ररुपमा अघि बढाइएको छ । दशैं, तिहार, छठ लगायतका पर्वमा दैनिक उपभोग्य वस्तु, खाद्य तथा मसलाजन्य पदार्थ, पेय पदार्थ लगायतका सामानको खरिद विक्री ठूलो परिणाममा हुँदा गुणस्तरहीन र अखाद्य पदार्थको मिसावट हुन सक्ने भएकाले अनुगमनलाई तिव्रता दिइएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए। 

बेसीशहरको ठाडोलाइन, क्याम्पस रोड, नारायणस्थान, भिमसेनस्थान, झिंगेखोला, शेराबजार, पुरानो बैंकचोक हुँदै मनाङ्गे चौतारासम्म गरिएको अनुगमनका क्रममा किराना पसल, मासु पसल, फलपूmल पसल, डिपार्टमेन्टल स्टोर्स र औषधीपसलहरूमा विशेषगरी उत्पादन मिति उल्लेख नगरिएको र उपभोग अविधि गुज्रिएका खाद्यसामाग्री तथा औषधी भेटिएको सप्रजिअ अधिकारीले बताउँछन् । बजार अनुगमनका क्रममा सीमित मात्रमा भेटिएका कमगुणस्तरका खाद्यसामाग्री, उपभोग्य अवधि गुज्रिएका पेय पर्दाथ तथा औषधी छुट्टै राख्न सुझाव दिएको उनले बताए । ‘अनुगमन गर्दा मुख्य समस्या औषधी व्यवसायमा देखियो,’ अधिकारी भन्छन्, ‘औषधी विक्री गर्न मात्रै फार्मेसीले बेड राखेरै विरामी जाँच्ने र डाक्टरको विज्ञापन गरेको समेत भेटियो ।’ प्रशासनको अनुगमनले मात्रै बजारको अवस्थामा सुधार ल्याउन नसिकने भएकोले विक्रेता र उपभोक्ता दुवैपक्ष स्वस्थ्य बजारको लागि सचेत हुनुपर्ने उनी बताउँछन्। 

अनुगमनमा प्रशासन कार्यालय सँगै बेसीसहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य, पशु सेवा कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । अनुगमन कार्यलाई निरन्तर रुपमा अघि बढाउने प्रशासन कार्यालयले जनाएको छ।  

चाडपर्व सुरु भएसँगै सदरमुकाम बेसीशहर मात्रै नभई भोटेओडार, पाउँदी, सुन्दरबजार, सोतीपसल, दुईपिप्ले, भोर्लेटार, तार्कुघाट, तीनपिप्ले, खुदी, भुलभुले लगायतका बजारहरुमा समेत मिति गुज्रिएका, कमगुणस्तर र गुणस्तरहीन बस्तुको विक्री वितरण हुँदै आएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । जिल्लाका बजारहरुमा कमतौल, कम परिमाण, कम गुणस्तर, मिति गुज्रिएका सामानहरुको खुल्लेआम विक्रीवितरण भइरहेको भएपनि सरोकारवाला निकायको ध्यान त्यसतर्फ पुग्न नसकेको उपभोक्ताको गुनासो छ। 

बाहिरबाट गाडीमा ल्याएर विक्री गर्दै हिड्ने व्यापारी सँग खरिद गर्दा सस्तो पर्ने र धेरै नाफा खाएर उपभोक्तालाई बेच्न सकिने भएकोले सानाबजार र गाउँघरका अधिकाँश व्यापारीले उत्पादन मिति, उपभोग गर्ने अवधि र गुणस्तरीयता लाई ख्याल नगर्ने पाइएको छ । अर्कोतिर उपभोक्ता स्वयंले पनि सामान खरिद गर्दा त्यस्ता कुरामा ध्यान दिने प्रवृत्ति नभएको उपभोक्ता हित संरक्षण मञ्च लमजुङका उपाध्यक्ष अग्निविलास अधिकारीले बताए।

प्रकाशित: २८ भाद्र २०७४ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App