७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्लास्टिक छाप्रोमा लाखौंको कारोबार

काठमाडौं-काठमाडौंका मल र सपिङ सेन्टरहरुमा चाडपर्वसँगै चहलपहल बढेको छ । उपत्यकाका मलहरुमा विभिन्न अफरका साथ ‘सेल मेला’ पनि चलिरहेको छ । बम्पर अफर र क्यासब्याक जस्ता अफरले उपभोक्ता तानिरहेको छ । यस्तै उपभोक्ताको भीड लागिरहने अर्को ठाउँ हो– भृकुटीमण्डप ।

यही भृकुटीमण्डपमा बिनाछुट सदावहार रुपमा मेलाकै झल्को दिने गरी प्लास्टिकको छानोभित्र १४ सय पसल सञ्चालनमा छन् । सिंहरबारको आँगनमा त्रिपालमुनि सञ्चालित खुला बजारमा दसैं नजिकिएसँगै रौनक छाएको छ । यहाँ न कुनै छुट छ, न कुनै सेल मेला । तर ग्राहकको चहलपहल र भीडभाड उस्तै छ । 

मन्थलीका रामेश्वर उप्रेती मंगलबार यही प्लास्टिक छानामुनिको बजारमा दसैंका लुगा छान्दै थिए । उनले ११–११ सयमा दुइटा पाइन्ट किन्दै सस्तो र राम्रो लुगा पाइने भएका कारण त्यहाँ पुगेको बताए । सिन्धुपाल्चोककी पवित्रा लामा (२१) ले पनि दसैंको लुगा किन्न आएको बताइन् । सस्तो र ब्रान्डेड लुगा पाइने भएका कारण खुला बजारमा आएको उनको भनाइ थियो । 

सामान्य आर्थिक अवस्था भएका उपभोक्तामाझ भृकुटीमण्डपको खुला बजार सस्तो बजारको परिचित छ । पछिल्लो समय व्यवसायीको आर्थिक अवस्थामा यहाँको कारोबारले सुधार ल्याएपछि ब्रान्डेड सामान पनि राख्न थालेको काठमाडौं निम्न व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले देशकै मुटु सिंहदरबारको अगाडि २०४९ पुस २ गते सुरु बजार सर्वसाधारणमाझ लोकप्रिय रहेको बताए । 

‘विगतमा सामान्य रुपमा लत्ता–कपडा र फेसनेबल सामग्री राखेका थियौं । सामान्य ग्राहक नै आउँथे । अहिले धेरैको पुँजी सुधार भएका कारण ब्रान्डेड सामान राखेका छौं । अध्यक्ष ओलीले भने, ‘सर्वसाधारणका लागि खुला र सस्तो बजार भनेको यही हो । यो काठमाडौंमा बसोबास गर्ने मेचीदेखि महाकालीसम्मका सर्वसाधारणको लत्ता–कपडा किन्ने गन्तव्य बनेको छ ।’

२०४२ सालबाट वीर अस्पताल अगाडिको खुला मञ्चमा सुरु गरिएका पसललाई २०४६ सालको परिवर्तनपछि व्यवस्थित गर्ने क्रममा भृकुटीमण्डप सारिएको थियो । तत्कालीन काठमाडौं नरपालिकाको समन्वयमा समाज कल्याण परिषद्ले फोहोरको थुप्रो भएको ठाउँमा अहिलेको बजार राख्ने निर्णय गरेको थियो ।

अहिले यहाँको खुला बजार धेरै खर्च गर्न नसक्ने सर्वसाधारणदेखि अलि बढी खर्च गर्न सक्नेको समेत प्राथमिकतामा परेको अध्यक्ष ओलीको दाबी छ । खुल्ला बजारको १४ सय पसलमा २५ सय हाराहारीले रोजगारी पाएका छन् । यहाँका व्यवसायीले संघमार्फत वार्षिक एक करोड रुपैयाँ जति समाज कल्याण परिषद्लाई भाडा दिने गरेका छन् ।

परिषद्सँग काठमाडौं निम्न व्यवसायी संघले २०६४ सालबाट १५ वर्षका लागि हालको जग्गा लिजमा लिएको संघले जनाएको छ । यो खुल्ला बजारलाई व्यवस्थित गर्न सात क्षेत्रमा विभाजन गरिएको अध्यक्ष ओलीले जानकारी दिए ।

खुला बजारका व्यवसायीले ५० हजार लगानीबाट सुरु गरेको कपडा व्यवसायमा अहिले ५० लाखसम्म लगानी गरेका छन् ।

व्यवसायीहरुले अहिले खुला बजार सहकारी संस्था, भृकुटीमण्डप सहकारी संस्था समेत सञ्चालन गरेका छन् । सञ्चालक समिति तथा संघका अध्यक्ष ओलीका अनुसार थोरै लगानी भएका व्यवसायीको मार्ट हो– भृकुटीमण्डपका छाप्रे पसल ।

भोजपुर घर भएका विशाल गिरी २०५४ सालबाट जेन्टसको पाइन्ट पसल सञ्चालन गरिरहेको बताउँछन् । विगतमा सामान्य रुपमा सुरु गरेको पसलमा अहिले २० लाख लगानी पुगेको उनको भनाइ छ । राज्यलाई भाडा तिरे पनि बर्खाको बेला निकै सास्ती हुने उनको भनाइ छ । त्रिपालभन्दा व्यवस्थित भवन निर्माण भए खुला बजार नमुना हुने गिरी बताउँछन् ।

अर्की व्यवसायी भवानी कोइरालले सात वर्षदेखि कपडा पसल चलाइरहेको बताइन् । ‘दसैंसँगै चहलपहल बढेको छ । कारोबार चाडपर्वकै समयमा बढी हुने हो । सस्तो हुने भएकाले सर्वसाधारणले यहाँको बजार रोज्ने गरेको पाइन्छ,’ उनले भनिन् ।

बजारको आफ्नै नियम

यो बजारको आफ्नै नियम छ । कुनै व्यापारी ग्राहक ठगेको थाहा पाएमा उसलाई तत्काल कारबाही हुन्छ । बजारलाई अनुशासित र मर्यादित बनाउन गलत व्यवहार गर्नेलाई सजाय दिन समिति बनाइएको छ । सुरक्षित व्यापार र गुणस्तरीय सामान दिन खुला बजारले अभियान नै सञ्चालन गरेको व्यवसायीको दाबी छ ।

 

प्रकाशित: २८ भाद्र २०७४ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App