८ वैशाख २०८१ शनिबार
राजनीति

दूध बेचेर गुजारा गर्नेको प्रश्न: ‘चुनावसुनावमे लगलासँ कथी होतै’

बालकृष्ण अधिकारी/महेश दास

जलेश्वर- स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा अगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने चुनावको सरगर्मीले यति बेला नेतालाई मात्रै होइन, तिनका परिवार र आफन्तलाई पनि छोएको छ।

एकैपटक गाउँ÷नगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य गरी धेरै जनप्रतिनिधि चयन गरिँदैछ । यसका लागि एउटै पदमा दर्जनभन्दा बढीको संख्यामा उम्मेदवारी परेको छ । घरैपिच्छे उम्मेदवार खडा भएसँगै चुनावी चहलपहल बढेको छ । तर, महोत्तरी सदरमुकाम जलेश्वर–७ बेलाकी उषा देवीलाई भने यो चुनावले अझै छुन सकेको छैन ।

एकाबिहानै उठेर भैंसीलाई नुहाउने र खुवाउने अनि दूध दुहेर बेच्न जानका लागि बिहान ६ नबस्दै उषादेवी महेन्द्र चोक पुग्छिन् । ९ बजेसम्ममा दूध बेचिसक्ने र त्यसपछि घर फर्केर खाना पकाउने, घाँस काट्न जाने र साँझ फेरि भैंसी स्याहार्ने, रातिको खाना पकाउने उनको दैनिकी हो ।

उनीजस्तै धेरैको दैनिकी छ बेलाका महिलाको । घरकै कामदेखि फुर्सद नपाउने उनलाई चुनावी चहलपहलले खासै प्रभाव पारेको छैन ।

उषाजस्तै भैंसी पालेर परिवारको गुजारा चलाउने फुलो देवीको अवस्था पनि उस्तै छ । उनले त चुनावमा कुनै नेतालाई भोट दिने मनस्थिति बनाएकी छैनन् । ‘घरमा बाढी पसेर बस्नखान नपाएर भोकभोकै विद्यालयमा दिनरात बिताउनु परिरहेको बेला फर्केर हेर्न नआउने नेतालाई भोट दिन्छु म ?,’ झोक्किँदै उनले भनिन् ।

उषाले चुनावसँग कुनै मतलब नभएको बताइन् । भैंसीको दूध दुहेर बेचेपछि बालबच्चालाई खान, लुगाफाटो सबैको जोहो गर्नेगरेको बताउँदै उनले थपिन्, ‘चुनावसुनावमे लगलासँ कथी होतै (चुनावसुनावमा लागेर के पाइन्छ) ?’ उनले चुनावका दिन समय भेटिए भोट खसाउन जान सकिने बताउँदै चुनावकै लागि घरमा बसिरहन नसकिने सुनाइन् ।

एकडारा गाउँपालिका हलखोरी घर भएकी सबिता देवीले काम गरेर पेट पाल्ने जनतालाई चुनाव आए पनि गए पनि केही फरक नपर्ने सुनाइन् । बाढीका कारण घरवारविहीन हुँदा कोही नआएको सुनाउँदै उनले भनिन्, ‘त्यतिबेला हामी नचाहिने अहिले नमस्कार गर्दै भोट माग्न आइरहेका छन् । हामी उनीहरूलाई भोट किन दिने ?’

गरिबका पक्षमा कसैले पनि काम नगरेको गुनासो गर्दै उनले थपिन्, ‘हामीलाई भोट हाल्नभन्दा भैंसी किन्न बैंकबाट ल्याएको ऋण तिर्नु छ । उनीहरूले बैंकको ऋण तिरिदिने त होइनन् ।’

उषा र फुलोजस्तै जलेश्वरको महेन्द्र चोकमा हरेक दिन बिहान ५० महिलाले भैंसीको दूध बेचेर जीविका चलाउँछन् । परम्परागत खेती र पशुपालनमा लागेका यिनीहरूको जीवनशैली पुस्तौंदेखि एकैनासको छ । मुलुकमा राजनीतिक व्यवस्था त कयौंपटक फेरिए तर यिनीहरूको जीवनस्तरमा सुधार हुन सकेन ।

 

 

प्रकाशित: २८ भाद्र २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App