८ वैशाख २०८१ शनिबार
राजनीति

आचारसंहिता उल्लंघनका घटना बढे

लहान- प्रमुख राजनीतिक दलले आफ्नै सहमतिमा बनेको निर्वाचन आचारसंहितको धज्जी उडाएका छन् । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा दलहरूले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि तीव्र बनाएका हुन् ।

निर्वाचनमा सहभागी दलहरूले एकअर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाउन पछि नपरे पनि सबैले आफ्नो हैसियत र आकारअनुसार त्यसको उल्लघंन गरिरहेका छन् । कुनै पनि दल आचारसंहिता उल्लंघन गर्नबाट टाढा नरहे पनि राष्ट्रिय मानवअधिकार आयोगले आचारसंहिता उल्लघंनका गम्भीर घटना नभएको दाबी गरेका छन्।

निर्वाचन अनुगमनमा लाहान आइपुगेका आयोग सदस्य सुदीप पाठक आचारसंहिता उल्लंघन हुने सानातिनाबाहेक गम्भीर प्रकारका घटना नभएको दाबी गरे । ‘आचारसंहिताको केही पूर्ण पालना भएको छ भन्ने त होइन,’ लाहान आइपुगेका पाठकले नागरिकसँग भने, ‘तुल, पोस्टर, ब्यानर छन् । तर, गम्भीर उल्लघंनका घटना भएका छैनन् ।’

महोत्तरी, धनुषा, सिरहासम्म निर्वाचनमा सहभागी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पोस्टर, पम्प्लेट, टोपी, टिसर्टका साथै ठूला माइकको प्रयोग गरी प्रचार गरिरहेका छन् । राजमार्ग र आसपासका ठाउँमा दलहरूले ब्यानर नै राखेर प्रचार गरिरहेका छन् । निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा बालबालिको समेत प्रयोग भइरहेको छ । आयोग सदस्य पाठकले उम्मेदवारी मनोनयनका दिन दल र तिनका उम्मेदवारले बालबालिकाको प्रयोग गरेका भए पनि त्यसपछि भने त्यस्ता घटना नभएको दाबी गरे ।

निर्वाचनमा उम्मेदवार बनेका सबैले दिनहँु भोज खुवाइ रहे पनि निर्वाचन अनुगमनका लागि हिँडेका विभिन्न संघसंस्था र निर्वाचन आयोगले समेत त्यसप्रति आँखा चिम्लिरहेका छन् ।

निर्वाचन अनुगमनका लागि राजमार्ग, जिल्ला सदरमुकाममा दिनहुँ दर्जनौं गाडी कुदिरहेका देखिन्छन् । तर, सडकबाटै देखिने स्थानमा उम्मेदवारले भोजभतेर गरिरहँदा पनि त्यसको कसैले पनि वास्ता र गरेका छैनन् ।

दुर्गम गाउँदेखि सुगम सहरसम्म सबै ठाउँमा उम्मेदवारले सयौंलाई दिनहुँ खाना खुवाइरहेका छन् । सहरी क्षेत्रमा होटल, पार्टी प्यालेस वा टेन्ट टाँगेर नेता कार्यकर्ता, शुभेच्छुक र मतदातालाई खाने व्यवस्था मिलाइको छ भने ग्रामीण भेगमा उम्मेदवारले आफ्नै घरमा खाने प्रबन्ध गरेको भेटिन्छ । साँझ हुने चुनावीसभा वा घरदैलो कार्यक्रम खाजा वा खानाबिना हुने गरेको छैन । भोट माग्न हिँड्नेलाई मात्र होइन मतदाताका लागि नै खानासहितको व्यवस्था उम्मेदवारले गर्ने गरेका छन् ।

आयोग सदस्य पाठकले त्यस विषयमा आयोगको ध्यानाकर्षण भइरहेको बताए । धनुषामा पोस्टर धेरै ठाउँमा टाँसिएका पोस्टर हटाउन राजनीतिक दल र सरोकारवाला पक्षको ध्यानाकर्षण गराइसकिएकोे बताउँदै पाठकले भने, ‘निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष ढंगबाट सम्पन्न गर्न आयोगले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । अब पनि गर्नेछ ।’

केन्द्रीय निर्वाचन अनुगमन टोली सदस्य धु्रवकुमार शर्माले महेन्द्र राजमार्गअन्तर्गत सिराहा जिल्लाका विभिन्न  खण्डमा भएका सबै प्रचार सामग्री हटाइएको बताए । ‘राजमार्गमा भएका तुल, ब्यानर हटाइएका छन्,’ उनले भने, ‘निर्वाचन आचारसंहिताविपरीत प्रयोग भएका टिसर्ट, टोपीसहितका केही प्रचार सामग्री पनि नियन्त्रणमा लिइएको छ ।’

सिराहामा निर्वाचन अनुगमनका लागि आएका अर्का सदस्य रामप्रसाद थपलियाले राजनीतिक दल र परिवारको चाहनाविपरीत बालबालिका दलहरूका झन्डा लिएर सडकमा निस्किने गरेको सुनाए । ‘बालबालिकाको प्रयोग भएको छ,’ उनले भने, ‘कतिपय परिस्थितिमा दलहरू र परिवारले रोके पनि बालबालिका रमाइलाका लागि पनि झन्डा लिएर निस्किने गरेको देखिन्छ ।’

गरिबि र कमजोर शैक्षिक अवस्था भएका ठाउँमा बालबालिकालाई प्रलोभन देखाएर प्रचारमा हिँडाउने र प्रचार सामग्री वितरण गराउने काम दलहरूले गरिरहेका छन् ।

मौन समयको सबैभन्दा धेरै दुरुपयोग हुने गरेको सुनाउँदै मानव अधिकार आयोगका सदस्य पाठकले विगतका चुनावमा शून्य समयमा असाध्यै फोहोरी खेल भएको र निर्वाचनमा सहभागी दलले एक अर्काप्रति आरोप–प्रत्यारोप लगाउनु राम्रो नभएको बताए । ‘दलहरूलाई मतदानका लागि प्रतिनिधि छान्न सहज होस् र कुनै प्रकारको सामाजिक थ्रेट नहोस् भनेर मौन अवधिको व्यवस्था गरिएको हो,’ उनले भने, ‘दलहरूले पनि एकअर्काप्रति सम्मान गर्न सिक्नुपर्छ ।’

प्रकाशित: २८ भाद्र २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App