७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेलमार्ग शीघ्र बनाउन नेपाल–चीन सहमत

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र चीनबीच सीमा वारपार रेललाइन निर्माणसम्बन्धी प्राविधिक कार्य शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएको बताएका छन् । चीनको विभिन्न तहमा भएको द्विपक्षीय वार्ताबाट नेपाल र चीनबीच राजनीतिक तहमा एकअर्काप्रति विश्वासको वातावरण अभिवृद्धि भएको समेत उनले जनाए ।

‘नेपाल र चीनबीच सीमापार रेल लाइन निर्माणसम्बन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएका छन्,’ ६ दिने चीन भ्रमण सम्पन्न गरी मंगलबार राति स्वदेश फर्केपछि मन्त्री महराद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

आफ्नो चीन भ्रमण सन्तोषजनक रहेको उल्लेख गर्दै उनले भ्रमणबाट आपसी समझदारी र विश्वास अभिवृद्धि गरी द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पु¥याउन थप योगदान पुगेको जनाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछियाङसँगको भेटमा आफूले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाका रूपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य अघि बढाउन अनुरोध गरेको महराले बताएका छन् ।

चिनियाँ प्रधानमन्त्रीसँग अन्तरदेशीय रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति भएको कुरा समेत राखेको उनले जनाए । भ्रमणका बेला आपूmले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) ले उपलब्ध गराएको अवसरबाट लाभ लिन दुवै देशले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएको उनले बताएका छन् ।

‘नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी समझदारीपत्रअन्तर्गत रहेर भौतिक पूर्वाधारको विकास, ऊर्जा सीमा वारपारको सञ्जाल निर्माणजस्ता क्षेत्रमा नेपालले प्रस्ताव गरेको आयोजनामा चीनले सहयोग गर्नेछ,’ मन्त्री महराले भनेका छन् । 

हिमाल वारपार हुने गरी रेलमार्ग निर्माणका सम्बन्धमा चिनियाँ प्रधानमन्त्री लीले उक्त मार्ग संसारको सबैभन्दा कठिन भूबनोट भएर जाने तथा छोटो दुरीमा ठूलो उचाइको अन्तर पर्ने भएकाले पर्याप्त वैज्ञानिक अध्ययन अनुसन्धान गरी काम  अगाडि बढाउने बताएको उनले जनाए । तातोपानी नाका भौगर्भिक अध्ययनपछि सुरक्षालाई समेत विचार गरी सञ्चालनमा ल्याइने चिनियाँ प्रधानमन्त्रीले बताएको मन्त्री महराले उल्लेख गरेका छन् ।

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई पक्षबीच सहमति भएको समेत उनले जनाए । यस्तै, भ्रमणका बेला नेपाल र चीनबीच ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ठूलो उपलब्धि भएको मन्त्री महराले जनाएका छन् । छङ्दुमा नेपाली कन्सुलेट जनरल स्थापना गर्ने विषयमा चिनियाँ पक्ष सहयोग गर्न सहमत भएको उनले जानकारी दिए । ‘बेइजिङ र ग्वाङजाउमा नेपाली हवाई कम्पनीलाई उडान अनुमति दिने सम्बन्धी काम शीघ्र अगाडि बढ्ने भएको छ,’ मन्त्री महराले भनेका छन् ।

 

प्रकाशित: २८ भाद्र २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App