६ वैशाख २०८१ बिहीबार
समाज

‘नेतालाई भोटसँग मतलब छ, लोकसँग हैन’

मैनाकडेरी (सप्तरी)- गत साउन २६ गते सप्तरीका विभिन्न खोलामा एकैसाथ आएको भीषण बाढीले घरखेत बगेर विस्थापित भएका पीडित अझै त्रिपालमुनि छन् । एक महिना बितिसक्दा पनि पुनस्र्थापनाका लागि राज्यबाट भरपर्दो प्रतिबद्धता आउन नसकेको उनीहरूको गुनासो छ ।

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत मैनाकडेरीस्थित चन्द्रनहरको डिल, हनुमाननगर कंकालनी नगरपालिकाको सकरदहीस्थित कोसी पश्चिमी नहरको डिल, सोही नगरपालिकाको हनुमाननगर–रम्पुरा जोड्ने कोसी पश्चिमी तटबन्धलगायतका स्थानमा पालबाट बनाइएका तीन सयभन्दा बढी अस्थायी टहरामा एक हजार बाढीपीडित जीवनयापन गर्दैछन् ।

दिउँसो छाला डढाउने चर्को घाम, राति सर्पलगायतका विषालु जन्तुको त्रासका बीच बालबालिकासहित कष्टपूर्ण जीवनयापन गर्दै आएका विस्थापितको घर फर्किने ठेगान छैन । उनीहरूमा अधिकांश दलित र विपन्न समुदायका छन् । कसैको घरजग्गा सबै कटान भइसकेको छ भने धेरैको घर भत्किएर बस्नेलायक छैन ।

बाढी विस्थापितका बस्तीमा पनि चुनाव लागेको छ । उनीहरू बस्ने अस्थायी टहरामाथि विभिन्न दलका रंगिबिरंगी झन्डा टाँगिएका छन् । तुल, ब्यानर, पर्चा पम्पलेटजस्ता प्रचार सामग्री पनि उत्तिकै हेर्न सकिन्छ । नमुना मतपत्रमा छाप लगाउन सिकाउने दलका कार्यकर्ताको चहलपहल पनि कम्ती देखिँदैन ! ठूल्ठूला प्रतिबद्धतासहित घरदैलो अभियानमा रहेका उम्मेदवारले बाढी विस्थापितको बस्ती छुटाउँदैनन् ।

विस्थापितमा पनि मत हाल्ने उत्साह र आतुरता छ । तर कष्टपूर्ण दिनचर्याका कारण सरकार, स्थानीय प्रशासन र दलका नेतासँगै उम्मेदवारप्रति आक्रोश र गुनासो पनि उत्तिकै छ । चन्द्रनहरको डिलमा एक महिनादेखि बस्दै आएकी विस्थापित ७० वर्षीया देवसुन्दैर रामलाई चुनावमा कस्तो उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनी सोध्दा उनी सञ्चारकर्मीप्रति नै आक्रोशित देखिइन् । सञ्चारकर्मीलाई दलका लागि भोट माग्ने कार्यकर्ता ठानेर उनी आक्रोशित भएकी हुन् । उनले भनिन्, ‘नेता क त अपना भोटसँ मतलब छै, लोगसँ थोरबे छै, लोग मरौ आ जिवौ (नेतालाई भोट लिनुसँग सरोकार छ, जनतासँग मतलब छैन, मान्छे मरून् वा बाँचून् ) ।’

बाढीबाट घरवारविहीन बनेका आफूजस्ता पीडितका समस्याप्रति नेतामा चासो र चिन्ता नै नरहेको गुनासो गर्दै उनले भनिन्, ‘यस्तो चर्को घाममा पालमुनि बालख नातिनातिना राख्नुपर्ने बाध्यता छ । बच्चाहरू धमाधम बिरामी पर्न थालेका छन्, न औषधि छन् न उपचार गराउने पैसो नै ।’ घन्टैपिच्छे बस्तीमा पालैपालो उम्मेदवार लावालस्करसहित आउने गरे पनि आश्वासन बाँड्नेबाहेक केही पनि नगरेको उनको गुनासो छ ।

‘सबैलाई भोटमात्रै चाहिएको रहेछ’, अर्की विस्थापित कविताकुमारी रामले भनिन्, ‘यसरी पालमा कष्टपूर्ण जीवन बिताउने हाम्रो रहर होइन तर कतिपय नेताले नै पालमा बस्नेहरू वास्तविक विस्थापित नभएको सिडिओलाई बताउने गरेका छन् ।’ दोहोरो चरित्रका ती नेतालाई भोट हाल्न मनले नमानेको उनको भनाइ छ ।

चन्द्रनहरको डिलमा ८०÷८५ अस्थायी टहरा छन्, जहाँ करिब ५ सय बाढी विस्थापितको बसाइ छ । सकरदहीस्थित कोसी पश्चिमी नहरमा ४० वटाजति अस्थायी टहरा रहेको स्थानीय अरुणकुमार यादवले बताए ।

कोसी पश्चिमी तटबन्धमा रहेका अस्थायी टहरामा तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका मुसहर र अन्य दलित बस्तीका विपन्न परिवार आश्रित छन् । बाढीले सप्तरीमा तिलाठी कोइलाडी तथा तिरहुत गाउँपालिका र हनुमानगर कंकालनी नगरपालिका सबैभन्दा बढी प्रभावित छन् । बाढी विस्थापितको पुनस्र्थापना एवं बाढी तथा डुबान समस्याको दिगो समाधान यहाँको मुख्य चुनावी अजेन्डा छ । उम्मेदवारका घोषणापत्र एवं प्रतिबद्धतापत्रमा भने यसबारे ठोस योजना भने देखिँदैन ।

तिरहुत गाउँपालिकामा राजपाका विजयकुमार यादव, लोकतान्त्रिक फोरमका दीपेन्द्र लगरवार, संघीय फोरमका हेमन्तकुमार बहरखेड (यादव) मेयर उम्मेदवार छन् । उनीहरूले विस्थापितको पुनर्वास र नदी नियन्त्रण आफूहरूको प्रमुख मुद्दा रहेको बताउँछन् । कसरी ? यो प्रश्नमा उनीहरू प्रस्ट छैनन् ।  

 

प्रकाशित: २८ भाद्र २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App