६ वैशाख २०८१ बिहीबार
नागरिक खोज

अनियमितता गर्नेमाथि कारबाही हुन्छ

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन्। निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारमा सत्तासीन दल चुप लागेर बसेको आरोप लागिरहेको बेला देउवा र दाहालले मुख खोलेका हुन्।

देउवाले नेपाल आयल निगमले जग्गा किन्दा अनियमितता भएको पुष्टि भए कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘निगमको जग्गा खरिद प्रकरणमा सरकार मौन बसेको छैन । छानबिन भइरहेको छ’, विराटनगरमा मंगलबार पत्रकारसँग प्रधानमन्त्री देउवाले भने, ‘संसद्का विभिन्न समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यो प्रकरण छानबिन गरिरहेका छन् । त्यसैले सरकारले सिधै हात नहालेको हो ।’ प्रधानमन्त्री देउवाले जग्गा खरिदमा अनियमितता पुष्टि भए संलग्न सबैलाई कारबाही हुने बताए ।

प्रदेश २ मा हुने  चुनावी सभालाई सम्बोधन गर्न निस्केका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवालाई विराटनगर विमानस्थलमा पत्रकारले ‘निगमको जग्गा खरिदमा भएको अनियमितताबारे सरकारको धारणा के हो ?’ भन्ने प्रश्न सोधेका थिए ।

संसदको सार्वजनिक लेखा समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगम नेतृत्व र सञ्चालक समितिलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिइसकेका छन् ।

चुनावी अभियानमै हिँडेका सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि निगमको जग्गा खरिदमा भ्रष्टाचार पुष्टि भए दोषीमाथि कारबाही हुनुपर्ने बताए । दाहालले पनि विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निगममा बेथिति रोक्न आपूर्तिमन्त्रीलाई निर्देशन भइसकेको जानकारी दिए । ‘जग्गा खरिदमा बेथिति भएको हो भने कडा कदम चाल्नुपर्छ,’ दाहालले भने, ‘मैले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई पनि भनेको छु, यसमा  छुट दिनु हुँदैन ।’ आपूर्ति मन्त्री मण्डल उनकै पार्टीका नेता हुन् । यस विषयमा संसदीय समितिले छानबिन गरी अनियमितता भएको निष्कर्ष निकाले पनि सरकार र राजनीति दलका शीर्ष नेताले सार्वजनिक रुपमा मुख खोलेका थिएनन् ।

 

प्रकाशित: २८ भाद्र २०७४ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App