७ वैशाख २०८१ शुक्रबार
समाज

हिरासतमा भएको मृत्युलाई लुकाउन खोजेको भन्दै एसपी सहित तीनलाई बिभागीय कारवाही सुरु

दाङ- आफ्नो नियन्त्रणमा रहेका एक ब्यक्तिको मृत्युलाई वेवारिसे शब भनेर दाङ प्रहरीले सार्वजनिक गरेको घटना गलत प्रमाणित भएपछि प्रहरी प्रमुख दुर्गा सिंह चन्द लगाएत तीन जना माथि बिभागीय कारवाही सुरु भएको छ।

यो घटनाबारे अध्ययन गरेको पाँच नम्बर प्रदेश प्रहरी मुख्यालयले प्रहरी हिरासतमा मृत्यु भएका व्यक्तिलाई वेवारिसे भन्दै गलत सूचना प्रवाह गरेको निष्कर्ष निकाल्दै एसपी सिंह सहित  वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक सुरज खड्का र वडा प्रहरी कार्यालय लमहीकै प्रहरी हिरासत व्यवस्थापनमा खटिएका एक प्रहरी जवानलाई विभागीय कारवाही सुरु गरेको हो।

वडा प्रहरी कार्यालय लमहीको हिरासतमा रहेका गंगटे भनिने एक ब्यक्तिको १४ गते विहान मृत्यु भएपछि प्रहरीले ति व्यक्तिको शब वेवारिसे अवस्थामा घोराही लमही सडक खण्डमा फेला परेको सुचना बाहिर ल्याएको थियो । ‘प्रहरीबाट यो सुचना आउनु धेरै ठूलो गल्ति भयो,त्यो मान्छे प्रहरी हिरासतमै रहेको र उसको मृत्यु भएको भन्ने प्रमाणित भयो,’प्रदेश नम्बर पाँचका प्रहरी प्रमुख,एआईजि मिङ्मार लामाले नागरिकसंग भने ‘गलत सुचना प्रवाह गरेकाले जिल्ला प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय लमहीका प्रमुख र हिरासत व्यवस्थापनका एकजना जवानलाई विभागीय कारवाही सुरु गरिएको हो ।’

एआईजि लामाका अनुसार गंगटे भनिने ति व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले १३ भदौमा चोरीको आशंकामा पक्राउ गरेर लमही बुझाएको थियो ।

लमहीमा चोरीका घटना बढेको भन्दै उक्त घटनामा गंगटेको पनि संलग्नता हुन सक्ने प्रहरी आशंका थियो । १३ गते प्रहरीलेनै लमही अस्पतालमा पुर्याएर ति व्यक्तिको स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच पछि उनलाई वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको थियो । तर वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काले भने ति व्यक्तिलाई आफ्नो प्रहरी कार्यालयमा हिरासतमा नराखेको दाबी गर्दै आएका थिए । ‘मेरो ईकाईमा त्यो मान्छे हिरासतमा आएकै छैन,’उनले केहि दिन अघि नागरिकसंग भनेका थिए ‘हामीहरुले समातेको पनि हैन, जिल्ला प्रहरी कार्यालयलाई सोध्नुस् यो घटना बारे मलाई केहि थाहा छैन ।’ तर एआईजि लामाले भने वडा प्रहरी कार्यालयको हिरासतमै ति व्यक्तिलाई राखिएको पुष्टि गर्दै भने ‘उसलाई अरु थुनुवा संगै राखिएको रहेछ ।’

लामाका अनुसार १३ गते हिरासतमा राखिएका गंगटे र्को दिन (भदौ १४ गते ) विहान ६ वजेतिर बेहोस भएर लडे । अरु थुनुवाहरु कराउन थालेपछि सुरक्षार्थ खटिएका प्रहरीले थाहा पाए । ‘त्यो मान्छे मदिरा अधिक सेवन गर्ने मान्छे रहेछ,’लामाले भने ‘उसले राती पनि मदिरा मागेको रहेछ, तर नपाएपछि उ बेहोस भएर लडेको हुन सक्छ ।’ त्यसपछि उनलाई तत्काल लमही अस्पताल पुर्याईयो । अचेतावस्थामा रहेका गंगटेमा चाल नरहेपछि ईसिजीका लागि लमहीकै फ्लोरेन्स अस्पतालमा लगियो । त्यहाँ पनि ईसिजी मेशिन विग्रीएका कारण उनलाई तत्कालै घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याईयो । यो अस्पतालले उनलाई मृत घोषणा गरिदिएको लामाले बताए ।

प्रहरी हिरासतमै मृत्यु भएका ति व्यक्तिको मृत्युलाई जिल्ला प्रहरी कार्यालयले भने वेवारिसे शब भनेर सार्वजनिक गरेको थियो। आफ्नो अफिसियल फेसबुक पेज मार्फत जिल्ला प्रहरी कार्यालयले पहिचान नखुलेको व्यक्ति वेवारिसे अवस्थामा भेटिएको भन्दै आफन्तीहरुलाई सम्पर्क राख्न भनिएको थियो ।  राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीप चौधरीले यो घटनाको अध्ययन गरेका थिए । एआईजि लामाबाट एक हप्ताको समयावधि पाएका एसएसपी चौधरीले आफ्नो अध्ययन प्रतिवेदन लामालाई बुझाएका थिए। प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरेर घटनाको यर्थाता सार्वजनिक गरेको थियो ।

प्रकाशित: २७ भाद्र २०७४ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App