coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस आन्दोलनको उद्गमस्थलमा प्रतिष्ठाको लडाइँ

लहान- मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन्। नेपली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी,  संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र सहितका १५ जना मेयरका उम्मेदवार छन्।

असोज २ गते हुने स्थानीय चुनावबाट यो नगरपालिकामा १ सय २२ जना चुनिने छन् । संविधान संशोधनको मुद्दा, आर्थिक सम्बृद्धि र विकासलाई चुनावी अजेन्डा बनाएर दलहरू प्रचारमा जुटेका छन् । लहानको नेतृत्व लिन प्रत्याशी बनेका सबैले परिणाम आफ्नो पक्षमा आउने दाबी गरे पनि मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच हुने देखिन्छ । अन्य दलमा को तेस्रो हुने भने प्रतिस्पर्धा चलिरहेको स्थानीयको बुझाइ छ । यहाँको पुरानो वडा(१ देखि १०) मा कांग्रेस एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच त्रिकोणत्मक प्रतिस्पर्धा हुने देखिन्छ । थपिएका नयाँ वडा(१० देखि २४) मा संघीय समाजवादी फोरम, कांग्रेस र एमालेबीचमा प्रतिस्पर्धा हुने स्थानीयहरु बताउँछन्। यो नागरपालिकामा एमालेसँग कांग्रेसले  प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।

उम्मेदवारी दर्ताअघि लहानमा एमाले हाबी भए पनि उम्मेदवारी दर्ताको दिन काँग्रेसले उतारेको मासले माहोल बदलीयो। त्यसपछि कांग्रेस बराबरी प्रतिस्पर्धामा देखिएको लहानका बुद्धीजिवि चक्रपाणी दहालले सुनाए। ‘अहिलेसम्म हेर्दा प्रतिस्पर्धा दुई दलबीच नै हुने देखिन्छ,’ उनले भने, ‘अन्य उम्मेदवार दुई दलभन्दा केही पछि रहेको देखिन्छ ।’ यद्यपी, यो प्रतिस्पर्धामा तेस्रो नम्बरको दल छिर्न सक्ने गुन्जाइस अझै सम्भव रहेको उनले बताए। नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा बागी उम्मेदवारी परेको छैन । तर, वडाहरुमा काँग्रेसका कार्यकर्ता अर्को पार्टी र स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमूख दलले जातीय समिकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामुहिक जातीय हिसावले साह र एकल जातीय हिसावले थारुको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन् ।

यहाँ काँग्रेसबाट मेयरमा अचमितलाल चौधरी, एमालेबाट मुनी साह, माओवादी केन्द्रबाट खडकनारायण चौधरी, राप्रपाबाट लगनलाल चौधरी, संघीय समाजवादी फोरमबाट वैद्यनाथ साह, राजपाबाट डा.महादेव साह उम्मेदवार छन्।

मुनी साहले २०५४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी र राप्रपाका उम्मेदवार लगनलाल चौधरीसँग  चुनाव जितेका थिए। त्यो बेला दोस्रो नम्बरमा राप्रपाका लगनलाग र तेस्रोमा काँग्रेस उम्मेदवार रामसुन्दर थिए । अहिले काँग्रेसको उम्मेदवार फरक छ । तर, एमालेको उम्मेदवार उही–मुनी साह । काँग्रेसका मेयर उम्मेदवार अचमितलाल चौधरी यसअघि दुई पटक स्थानीय चुनावमा उम्मेदवार भैसकेका छन् । ०४९ मा उनी आफ्नै वडा पडरीयाबाट वडाअध्यक्षमा चुनाव लडेका थिए । त्यो बेला उनी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीसँग पराजय भोगेका थिए । दोस्रो पटक ०५४ सालमा फेरी उही पदमा चुनाव लडेर फेरी एमालेकै उम्मेदवारसँग पराजित भए । अहिले उनी २४ वडा रहेको लहान नगर हाक्ने रेसमा सहभागी भएका छन् ।

एमालेको मजबुत र पुरानो संगठनका साथै परीचित अनुहारलाई उम्मेदवार बनाएकाले एमालेको अवस्था मजबुत रहेको एकथरी बुद्धीजिविको विश्लेषण छ । एमालेमा यहाँ बागी उम्मेदवारी नपर्नु र कांग्रेसका परीचित अनुहार भित्रीनु  पनि सकारात्मक संकेत भएको स्थानीय वुद्धीजिविहरुको  बुझाइ छ । ‘अन्य दलको भन्दा कांग्रेसको संगठन पनि मजबुत छ तर, वडाहरुमा बागी उम्मेदवारी परेकाले कांग्रेसले लुज गर्न सक्छ ।’ ‘संगठानात्मक मतबाहेकको मत जसले आफ्नो पक्षमा पार्न सक्यो उही उम्मेदवार जित्ने हो काँग्रेसका एक कार्यकर्ताले भने,‘पार्टी कार्यकर्तामाझ हाम्रो उम्मेदवार परीचित भएपनि आम मतदातामाझ उहाँको परिचय कमजोर छ ।’

कांग्रेसभित्रको आन्तरिक विवाद(देउवा पौडेल लाइन संघर्ष) का कारण यहाँ टिकट विवाद मारपिटमै छताछुल्ल भयो । अर्को पुराना धेरै क्याडर टिकट नपाएर विद्रोह गरे । यसको फाईदा प्रतिस्पर्धीले उठाउने देखिन्छ। जातीय आधारले लहान नगरपालिकामा पचपनीया(तेली, सुडी, कलवार, गुप्ता, कलाल)को मतदातामा बलियो होल्ड छ । दोस्रोमा चौधरी(थारु) तेस्रोमा महतो(कोईरी) र चौथोमा यादव मतदाता छन् । यहाँ मुस्लिम र दलित मदतादा निर्णयक अवस्थामा छन् ।

यहाँको राजनीतिमा डेउढी भरसेस बजारको फ्यक्टरले महत्वपूर्ण भूमीका खेल्दै आएको ईतीहास छ । लहानका एकजना पुराना राजनीतिकर्मीले भने,‘स्थानीय, संसदीय र संविधानसभाको निर्वाचनसम्म यहाँ डेउढी(मटिअर्वा नियन्त्रीत) भरसेस एन्टीडेउढी(बजार नियन्त्रीत) छ।’ यहाँ क्याम्पसको चुनावमा पनि यही प्रवृती देखिएको ती राजनीतिकर्मीले भने ।

निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमूख दलले जातीय समिकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामुहिक जातीय हिसावले साह र एकल जातीय हिसावले थारुको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन् । प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन् । यहाँ चौधरीको मत विभाजित हुँदा अर्को चौधरी उम्मेदवारलाई र साह समुदायको मत विभाजित हुँदा अर्को साह उम्मेदवारले त्यसको फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ।

स्थानीय तहको पुर्नसचरनामा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन् । ग्रामीण भेगका मतदाता सहर बजारका भन्दा फरक हुने भएकाले त्यसले पनि चुनावी परिणामलाई प्रभावित गर्न सक्छ।

राजमार्गछेउका वडामा कांग्रेस र एमाले मजबुत रहेको र थपिएका वडामा पनि यही दुई पार्टीको संगठन राम्रो रहेको सम्वद्ध पक्षको जिकिर छ। ‘यहाँ एमाले हामीसँग प्रतिस्पर्धामा छ । त्यसले कांग्रेसलाई अझ सहज बनाएको छ,’ काँग्रेस उम्मेदवार अचमितलाल चौधरीले भने, ‘मेरो निष्ठा र पार्टीको संगठनले मेरो टिमलाई जित दिलाउने छ।’

एमालेका उम्मेदवार मुनी साहले आफ्नो जितले यो नगरको मुर्झाएको चेहरा गुल्जार हुने दावी गरे । लहानको समाज विभिन्न आन्दोलनका कारण भावनात्मक रुपमा क्षतवीक्षत भैसकेको छ । ‘ध्वस्त भैसकेको संरचना, गुमेको सौन्दर्य अवरुद्ध विकासलाई गती दिने बिराट अठोटलाई नगरवासीको सहयोगले अन्तिम रुप दिने लालसा छ’ उनले भने,‘विकासप्रमी भनेर चिन्ने जनताले धोका दिदैन ।’

संघीय समाजवादी फोरम नेपालका ७ नम्बर वडा अध्यक्ष उम्मेदवार राकेश गुप्ता रोशनले चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि आफ्नै जित आफ्नौ हुने दाबी गरे । ‘मधेसी जनताका हकअधिकार र पहिचानका लागि हाम्रो दलको पक्षमा सचेत जनलहर छ,’ उनले भने, ‘चुनाव हामी जित्छौं।’

राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीले लहानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे । कांग्रेस भन्दा अगाडी आफु रहेको दावी गर्दै उनले भने,‘लहानलाई लहान भनेर चिनाउने अवस्था मैले बनाएको हुँ।’ जसको उधारो जनताले मलाई मतदान मार्फत फिर्ता गर्नेछन्, उनले भने। यहाँको विकास, पर्यटन प्रवर्धन, शिक्षा र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर चुनावी प्रचारमा जुटेको उनले सुनाए । ‘कृषि र सिपमूलक शिक्षा त यहाँको मुटु नै भईहाल्यो,’ उनले थपे ।

यहाँको निर्णयक मतदाता मध्येको एक हो ‘यूवा मत’ । उनीहरुको मतलाई आफ्नो पक्षमा पार्न पनि उम्मेदवारहरु कसरत तिव्र बनाएका छन् । मधेस आन्दोलनको उद्गमस्थल लहान । यहाँ भएका तिन पटकको आन्दोलन। त्यसपछि विकसित राजनीतिक घटनाक्रमले युवालाई मधेस केन्द्रित दलतर्फ आकर्षित गरेको मधेसी दलका उम्मेदवारहरुको  विश्लेषण छ। यहाँका परम्परागत मतदाताको मत राप्रपा, कांग्रेस र एमलेको पक्षमा बढी रहेको विश्लेषण गर्दै यूवाको मतमा आफ्नो एकलौटी होल्ड रहेको उनीहरुको दावी छ ।  नेतृत्व चयनका लागि निर्णायक यूवा मतमाथि कब्जा गर्न सबै उम्मेदवार शक्ति खर्चीदै छन्।

मधेस आन्दोलनको उद्गमस्थलमा एमाले आफ्नो जितको झण्डा फहराउने कसरतमा छ। कांग्रेस आफ्नो गुमेको साख फर्काउने कसरत गर्दै छन् । मधेस केन्द्रित दल ‘अखाडा’ मा आफ्नो लाज छोप्न शक्ति खर्चीरहेका छन् ।

प्रकाशित: २७ भाद्र २०७४ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App