७ वैशाख २०८१ शुक्रबार
कला

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

काठमाडौं–अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।

कार्यक्रममा डोट्याली कवि विवशले छन्द र गद्यका डेढ दर्जन कविता सुनाउने छन् । उनी आफ्ना रचनामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँड्ने सरल कवि हुन्।   ‘विवशका कवितामा सुदूरपश्चिमको सुवास पाइन्छ‘, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ भन्छन्,  ‘पोखरामै बसेर सुदूरपश्चिमको स्वाद चाख्ने प्रयासमा लागेका हौं।’

साँस्कृतिक अध्येता समेत रहेका कविले कविताका साथमा पश्चिमका संस्कृतिहरु डेउडा, हुड्केली, माँगल, देयाका साथै मिथकहरुबारे जानकारी गराउने तयारी गरिरहेका छन् । नेपाल पर्यटन बोर्डको हल पार्दिमा हुने एकल वाचनमा उनलाई कविहरु अमृत सुवेदी र विर्सना बस्नेतले सघाउने छन् । कविता सुनेपछि साहित्यकारहरु प्रकट पगेनी शिव र पद्मराज ढकालले विवशका कविताबारे अनुभूति पस्कने छन् ।

आयोजक प्रतिष्ठानका तर्फबाट प्रमूख अतिथि शिक्षाविद् जोर्ज जोनले कवि विवशलाई सारंगी हस्तान्तरण गरेपछि एकल वाचन सुरु हुनेछ । जीवनको पहिलो एकल वाचन भएकाले कवि औधि उत्साहित छन् ।

विवशका स्रमाई, असौजको जून र यादै जनमभरि गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह, तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकारको पुरस्कार पाएका थिए। उनका तीन दर्जन गीत रेडियोमा बज्छन् । 

प्रतिष्ठानसँग रैका ट्राभल्स, नेपाल पर्यटन बोर्ड पोखरा, गजल सन्ध्या पोखरा, डोट्याली समाज पोखरा, कन्सेप्ट नेपाल र हेलो इन गेष्ट हाउस पोखराले सहकार्य गर्दैछन्।

प्रकाशित: २७ भाद्र २०७४ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App