८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?

बालकृष्ण अधिकारी/महेशकुमार दास

जलेश्वर- माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते हुने तेस्रो चरणको निर्वाचले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ ।

संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा केही समयअघिसम्म दुई नम्बर प्रदेशमा चुनावले नछोए पनि अहिले सबै पक्ष र दलहरू चुनावी प्रचारमा जुटेका छन् । नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुईको माहोल निकै तातेको छ ।

निर्वाचन आयोगले कुन तहका उम्मेदवारले कति पैसा खर्च गर्न पाउने र कस्ता प्रचार सामग्री प्रयोग गर्न पाउने भन्ने आचारसंहिता बनाए पनि त्यसको कार्यान्वयन भएको छैन । दैनिक चुनाव प्रचारमा खटिएका नेता तथा कार्यकर्तालाई खाने र बस्नेसहितको व्यवस्था मिलाउँदा निर्वाचन महँगो बन्दै गएको छ ।

बढ्दो महँगीसँगै कार्यकर्तामा बढेको विलासी बनेसँगै मतदाता रिझाउन उम्मेदवारले गर्ने खर्च निकै बढेर गएको छ । निर्वाचन आयोगले तोकेको खर्च सिलिङ एकै दिनको कार्यक्रमलाई पनि नपुग्ने देखिए पनि साना वा ठूला सबै दलका उम्मेदवार आफूले पैसा खर्च नगरे पनि अन्य दलका उम्मेदवारले निकै पैसा खर्च गरेको आरोप लगाउने गरेका छन् । तर, उनीहरू निर्वाचन महँगो बन्दै गएको र पैसा नभएको निष्ठावान मान्छे अब उम्मेदवार बन्न नसक्ने बताउँछन् ।

निर्वाचन आयोगले कुन तहका उम्मेदवारले कति पैसा खर्च गर्न पाउने र कस्ता प्रचार सामग्री प्रयोग गर्न पाउने भन्ने आचारसंहिता बनाए पनि त्यसको कार्यान्वयन भएको छैन । दैनिक चुनाव प्रचारमा खटिएका नेता तथा कार्यकर्तालाई खाने र बस्नेसहितको व्यवस्था मिलाउँदा निर्वाचन महँगो बन्दै गएको प्रमुख राजनीतिक दलका उम्मेदवारहरू बताउँछन् । गाउँपालिका प्रमुखको खर्च दस लाखबाट सुरू भएर दस करोड रुपैयाँसम्म हुनेगरेको छ ।

उम्मेदवार बन्नकै लागि लाखौं रकमको चलखेल हुने गरेको आरोप दलकै नेताहरूले बेलाबेलामा लगाउने गरेका छन् । विभिन्न दलबाट उममेदवार बनेका नेताहरूले आफूले चुनाव प्रचारका लागि धेरै पैसा खर्च नगरे पनि प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवारले पैसा खर्च गरेको आरोप लगाउने गरेका छन् । 

कांग्रेसका तर्फबाट जलेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार अशोककुमार साहले विगतको तुलनामा यसपालिको निर्वाचन निकै खर्चिलो बनेको सुनाए । सामान्य व्यक्ति उम्मेदवार बन्नै नसक्ने अवस्था आउन थालेको भन्दै उनले मधेसमा निर्वाचन प्रचारका लागि अझ धेरै खर्च लाग्ने बताए । छिमेकी मुलुक भारतसँग सीमा जोडिएकाले पनि पैसाको प्रभाव अझ बढी हुने गरेको उनको भनाइ छ । तर, उनले भने, ‘मैले त खर्च गरेको छैन ।’

निर्वाचन प्रचारका लागि उपप्रमुख र आफ्नो गरी दुई गाडीका साथै पर्चा, पम्प्लेट, ब्यानर, खानाका लागि केही रकम खर्च भइरहेको सुनाए । ‘चुनाव प्रचारमा जानेलाई खानाका लागि एउटा टेन्टको व्यवस्था गरिदिएको छु,’ उनले भने, ‘अरु त पोस्टरसहितका प्रचार सामग्रीमा केही खर्च हुन्छ ।’

एकपटकमा ४०÷५० नेता कार्यकर्ता खाना खाने हुने गरेको जानकारी दिँदै उनले भने, ‘अन्य दलका उम्मेदवारले ३ देखि ५ सय दिएर मनोनयनकै दिन मान्छे लगेको सुनेको छु ।’

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार कौशलेन्द्र शर्माले मधेसको सोच र प्रवृत्ति फरक भएको बताए । छिमेकीको प्रभाव मधेसको राजनीतिमा देखिने गरेको सुनाउँदै उनले भने, ‘पैसाका लागि राजनीति र राजनीतिका लागि पैसा हुने गरेको छ । जुन राम्रो होइन ।’

आफूसँग पैसा नभएकाले निर्वाचनमा खर्च गर्नसक्ने अवस्था नभए पनि अन्य दलबाट प्रत्यासी बनेकाले भने लाखौं खर्च गरेको सुन्नमा आएको उनले तर्क गरे । प्रचारमासँगै हिँडेकालाई दालभात त खान दिनै प¥यो तर अरू पैसा कहाँबाट ल्याएर खर्च गर्ने भन्ने प्रश्न गर्दै उनले भने, ‘जनयुद्धबाट आएको पार्टीले पैसा दिँदैन, हामीसँग पनि छैन ।’

प्रचारमा सँगै हुने २५ देखि ४० जनालाई प्रत्येक छाक खाना खुवाउने गरेको सुनाए ।

एमाले उम्मेदवार माधव मण्डलले पैसा खर्च नगरी अन्य दलका नेता तथा कार्यकर्ता प्रचारमा समेत नहिँड्ने गरेको सुनाए । आफ्नो दलको पैसा खर्च गर्ने कुनै नीति नभएको दाबी गर्दै उनले भने, ‘अरू दलले पैसा धेरै नै खर्च गरेको सुन्दैछु तर हाम्रो त्यस्तो नीति छैन ।’

पैसाले नभएर जनताको मन जितेर निर्वाचन जित्ने बताउने मण्डलले पनि चुनाव निकै खर्चिलो र महँगो बनेको स्वीकार गरे । पैसा नहुनेले उम्मेदवार बन्न नसक्ने अवस्था आइरहेको सुनाउँदै उनले भने, ‘दिनहुँ मासु चिउरा, जेरस्वारीसहितको भोज हुँदै गरेको सुनेको छु । हामीले जहाँ पुग्छौं, त्यहींका वडा अध्यक्ष उम्मेदवारलाई खाना बनाउन लगाएका छौं ।’

पार्टी उम्मेदवारकै घरबाट चाल, दाल झिकेर प्रचारका क्रममा खाना खाने गरेको उनको भनाइ छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट जलेश्वरका मेयर उम्मेदवार रामशंकर मिश्रले प्रचारमा हिँडेकालाई वडाध्यक्ष वा सम्बन्धित नेताका घरमा खानाको व्यवस्था गर्ने गरेको बताए । प्रचारमा हिँडेकालाई घरमा खान जाऊ भन्न नमिल्ने सुनाउँदै उनले भने, ‘एकडेढ सय सँगै हुन्छन् । तिनीहरूलाई खाना खुवाउने गरेको छु ।’

अरू दलले टेन्ट लगाएर मेस चलाए पनि आफूले भने न्यूनतम आवश्यकतामा मात्र खर्च गर्ने गरेको उनको जिकिर छ । ‘खानु त प¥यो तर हामीले हलुवा, जेरी नभएर दालभात मात्र खाने गरेका छौं,’ उनले भने, ‘प्रचारका लागि पनि न्यूनतम सामग्रीमात्रै प्रयोग गरेका छौं ।’

राजपाबाट सोही नगरमा प्रमुखका आकांक्षी रहेका रमेश साहले पार्टी अध्यक्ष मण्डलले टिकट वितरणका क्रममै आर्थिक चलखेल गरेको आरोप लगाए । उम्मेदवार बन्नकै लागि पैसा खर्च गर्ने प्रवृत्ति सबै पार्टीमा रहेको आरोप लगाउँदै उनले भने, ‘शरत्सिंह भण्डारीको डायग्राममा यहाँ (जलेश्वर) मा केन्द्रले नै पैसाको चलखेल ग¥यो । त्यसले गर्दा कार्यकर्ता र जनतामा असन्तिुष्ट छ ।’

सबै दलका उम्मेदवारले मेस चलाएर खाना खुवाउने गरेको सुनाउँदै उनले भने, ‘अब हजार होइन, चुनाव लड्न करोड खर्च गर्नुपर्ने अवस्था छ ।’

जलेश्वर ११ लोचनाका रामवलम राय निर्वाचन प्रचार कसरी भइरहेको छ भन्ने  कुरा साँझमात्रै थाहा हुने बताए । ‘विकास निर्माण कुरा होइन, बेलुका भएपछि खानपिनको कुरा मात्र हुन्छ,’ उनले सुनाए, ‘साँझ बजारतिर वा भोज लगाएको ठाउँमा पो चुनाव लाग्छ । सबै खान्छन्, पिउँछन् अनि रमाइलो गर्छन् । तर, विकासको कुरा त्यतिखेर कसैले गर्दैन ।’

प्रकाशित: २७ भाद्र २०७४ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App