coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेविरुद्ध खनिए कांग्रेस र संघीय फोरम

जनकपुर- निर्वाचन प्रचारप्रसारका क्रममा आफ्ना उम्मेदवारलाई भोट माग्न धनुषा आएका कांग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखक र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेविरुद्ध कडा प्रहार गरेका छन् ।

सोमबार जनकपुरमा छुट्टाछुट्टै कार्यक्रममा ती नेताहरूले एमालेलाई मधेसमा भोट माग्ने कुनै अधिकार नभएको जिकिर गरे । ‘मधेसी समुदायलाई गैरनेपाली देख्ने एमालेलाई मधेसमा भोट माग्ने कुनै अधिकार छैन’ रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने ।

उनले राजपा नेपालको पनि खुलेरै आलोचना गरे । पहिलो चरणको स्थानीय तह निर्वाचनमा आफूहरू सहभागी भएपछि हदैसम्मको गाली गर्ने राजपा नेताहरू यतिबेला चुनावमा भाग लिएकाले चुनावको विकल्प नरहेको उनले बताए । ‘मानिसको शरीरमा रगतको महŒवजतिकै लोकतान्त्रिक मुलुकमा निर्वाचनको महŒव हुन्छ,’ उनले भने ।

‘एमाले मधेसविरोधी पार्टी हो । दुई राज्यको सिद्धान्तअनुरुप खसआर्य र मधेसी थारूलाई फरक हेर्ने दृष्टिकोणका कारण कुनै पनि मधेसी नागरिकले एमालेलाई भोट दिनुको अर्थ छैन,’ फोरमको चुनावी अपिलमा उल्लेख छ ।

सोमबारै जनकपुरमा कांग्रेस निकट मिडिया सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधिले आफू सरकारमा रहेका बेला जनकपुरका सडक, विमानस्थल र भन्सार नाका सञ्चालनलगायत क्षेत्रमा गरेको कामको लामो फेहरिस्त प्रस्तुत गरे । ‘कांग्रेस नेतृत्वको सरकारले गरेको कामलाई सही मूल्यांकन गर्ने हरेक नागरिकले यतिबेला कांग्रेसलाई मतदान गर्नैपर्ने हुन्छ,’ उनले भने ।

निधिले संविधान संशोधनका विषयमा एमाले कट्टर मधेशविरोधी साबित भइसकेको आरोप लगाए । ‘मधेशको मुद्दालाई प्रस्टताका साथ सम्बोधन नगरेको संविधानलाई संशोधन गर्ने बेला एमालेले लिएको अडान कुनै हालतमा मधेसीले स्वीकार्न सक्दैन,’ उनले भने, ‘एमालेले पाएको अवसर गुमाइसक्यो अब मधेसी जनताले उसलाई ठेगान लाउन बाँकी छ ।’

एमालेबाहेक अन्य दलप्रति लचक देखिएका अर्का नेता लेखकले मधेसवादी दलको पनि विरोध गरे । ‘मधेसवादी दलले मधेसका लागि काम गर्ने हैसियत बनाउन सकेन, मधेस मुक्तिका लागि शक्तिसम्पन्न राजनीतिक दलको भूमिका आवश्यक छ । मधेसवादी दलहरू आफै विभाजित रहेकाले अब मधेसी जनतालाई कांग्रेसको विकल्प छैन,’ उनले भने । लेखकले संविधान संशोधनको नेतृत्व कांग्रेसले गरिरहेकाले कारण मधेसमा जनलहर आफूहरूको पक्षमा देखिएको ठोकुवा गरे ।

प्रकाशित: २७ भाद्र २०७४ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App