coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री न्युयोर्क जाने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन असोज ३ गते न्युयोर्क प्रस्थान गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो ।

‘एक साता लामो भ्रमण हो,’ प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले भने, ‘असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीसमेत समावेश रहेको प्रधानमन्त्रीको भ्रमण टोली सानो हुनेछ ।’

यसैबीच सरकारले तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का शिक्षण संस्थामा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तेस्रो चरणको चुनावअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लामा मतदान हुँदैछ ।

त्यस्तै विदेशमा बस्ने नेपालीका नागरिकता नभएका सन्तानलाई चार वर्षको राहदानी दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । ‘विदेशमा बस्दै आएका नेपाली नागरिकका नागरिकता लिइनसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि राहदानी प्रदान गर्ने निर्णय गरेको छ,’ बस्नेतले भने ।

दाताको संयुक्त कोषमार्फत विश्व बैंकले प्रदान गर्ने एक अर्ब पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्ने निर्णय पनि भएको छ ।

आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा कूटनीतिज्ञ ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । आचार्य यसअघि  राष्ट्रसंघको अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापुहरुको मुलुकका लागि उपमहासचिव बनेका थिए ।

राष्ट्रसंघको स्थायी प्रतिनिधि हुँदाहुँदै राजीनामा दिएर उपमहासचिव बन्न गएका आचार्यलाई सरकारको तोकेको जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना भएको थियो । परराष्ट्रसचिव हुँदै गर्दा आचार्यलाई नेपालका लागि राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाइएको थियो ।

यसैगरी अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नरेन्द्र बस्नेतलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App