coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावले जातीय राजनीति अन्त्य गर्ने

बालकृष्ण अधिकारी/सुरेश यादव

जनकपुर- प्रमुख राजनीतिक दलबीच संविधान संशोधनका विषयमा मतभेद जारी रहे पनि स्थानीय तह निर्वाचनले जनतामा रहेको क्षेत्रीय र भूगोलको मनभेद भने साँघु¥याउँदै लगेको छ । मधेस आन्दोलनसँगै बढ्दै गएको सामुदायिक असन्तुलनलाई स्थानीय निर्वाचनले हटाउँदै सद्भाव र भाइचाराको भावना बढाउँदै लगेको हो ।

स्थानीय होटल व्यवसायी विजयकुमार झुनझुनवालाले मधेसी र पहाडी भन्ने भावना जनकपुरमा नरहेको दाबी गरे । ‘दलीय व्यवस्थामा मतभेद हुनुलाई अस्वाभाविक रूपमा लिनुहुन्न,’ उनले भने, ‘मधेसी र पहाडी भन्ने मनभेद छैन ।’

क्षेत्र र समुदायका आधारमा गरिने राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने बताउँदै उनले मधेसी र पहाडीभन्दा पहिला सबै नेपाली भएको बताए । ‘पहाडी र मधेसी कोही छैनन्, यहाँ सबै मधेसी मूलका जनता मात्र छन्,’ उनले भने ।

२०६२÷०६३ को आन्दोलनपछि बढ्दै गएको जातीय र क्षेत्रीय मुद्दाले व्यापार व्यवसायका साथै समाजिक सद्भावसमेत कमजोर बन्दै गएको छ । पटकपटकका आन्दोलनले व्यापार व्यवसाय ओरालो लाग्दै जाँदा धार्मिक पर्यटनका साथै यहाँको वैभवसमेत कमजोर बनेको स्थानीयको बुझाइ छ ।

सद्भावनाका तत्कालीन नेता भरतविमल यादवले जनकपुरमा मधेसी र पहाडी भन्ने भावना नरहेको बताए । तर, जातपातका कुरा उठ्ने गरेको  स्वीकार गर्दै उनले भने, ‘मेरो छिमेकी पहाडी समुदायका छन्, मलाई अप्ठेरो पर्दा मधेसी खोज्न जान्न । उनैको सहयोग लिन्छु । उनलाई अप्ठेरो पर्दा म नै जान्छु । अनि पहाडी मधेसी कहाँ छ ?’

प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका वीरगन्जबाट राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवार बनाएका राजेशमान सिंह मधेसवादी कि कांग्रेसबाट उम्मेदवार बनेका अजय द्विवेदी मधेसी भन्ने प्रश्न गर्दै उनले भने, ‘लाभहानीका लागि मधेसी र पहाडीको कुरा हुनु राम्रो होइन ।’

कटैयाचौरीका महेश्वर साहले विभिन्न आन्दोलनले राजनीतिक धार पनि परिवर्तन भएको बताउँदै स्थानीय तह निर्वाचनले त्यसलाई सही बाटोमा ल्याउने अपेक्षा गरेका छन् । ‘मधेसी र पहाडी, यादव र साहुजस्ता सोचको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘सबैभन्दा पहिले म नेपाली हुँ भन्ने भाव हुनुपर्छ । त्यसपछि मैले नेपालका लागि के गर्न सक्छु भनेर अगाडि बढेमात्रै जनता र मुलुकको कल्याण सम्भव छ ।’

जातीय र क्षेत्रीय नाराले पहाडीमात्र नभएर सयौं वर्षदेखि जनकपुरमा बस्दै आएका मधेसी मूलकै जनता ढल्केवर, बर्दिवास, सिन्धुली र काठमाडौं विस्थापित भएको स्थानीयको गुनासो छ । पछिल्लो समयमा जनकपुर आएकाको हालीमुहाली बढेको सुनाउँदै नागरिक समाजका एक अगुवाले भने, ‘पहाडियामात्रै होइन, मधेसी मूलका जनता पनि विस्थापित भएका छन् ।’

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुँदा जनकपुरको गरिमा कमजोर हुँदै गएको स्थानीयको भनाइ छ । स्थानीय अहमद रेजा राईन मधेस आन्दोलनका नाउँमा पहाडी र मधेसीबीच देखिएको विभेदको स्थानीय चुनावले अन्त्य हुनेमा आशावादी छन् ।

‘मधेसभित्रै पनि ब्याकवार्ड र फरवार्ड तथा यादव र ननयादवजस्ता जातीय राजनीति निरुत्साहित हुनेछ,’ उनले भने, ‘चुनावले विकाससँगै समाजमा पनि सकारात्मक परिवर्तन ल्याउनेछ ।’

जनकपुरस्थित जानकीनगरका गणेश साहले चुनावले यहाँको विकासको ढोका खुल्ने बताए । ‘जनप्रतिनिधिले जनताका समस्या बुझेर तत्काल त्यसलाई समाधान गर्नेतर्फ अग्रसर हुनेछन्,’ उनले भने, ‘समाज विकास र सुशासनतर्फ उन्मुख हुनेछ ।’ 

२० वर्षपछि हुन लागेको स्थानीय चुनाव नेताका लागि भन्दा जनताका लागि आवश्यक रहेको बुझाइमा रहेका स्थानीयले जनप्रतिनिधि आएपछि जनकपुरको दुरवस्थाको अन्त्य हुने विश्वास गर्छन्  । सहर बन्नका लागि न्यूनतम पूर्वाधारसमेत जनकपुरमा नभएको भन्दै उनीहरू सडक, ढलसहितका पूर्वाधार निर्माण हुनेमा आशावादी देखिन्छन् ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App