८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि

काठमाडौं- सरकारमा सहभागिताबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) भित्र असन्तुष्टि देखिएको छ । समावेशी र युवा व्यक्तित्वलाई मन्त्रिपरिषद्मा नपठाएको भन्दै केही सांसदले सोमबार बिहान पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् ।
कमला शर्मा, बबिना मोक्तान लवाती, इस्तियाक अहमद, सइन्द्र बान्तवा, रामकुमार सुब्बासहितका सांसदले राणासँग मन्त्रिपरिषद् समावेशी नभएको र युवालाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘प्रतिनिधित्व समावेशी भएन न त नयाँ र युवाले अवसर प्राप्त गरे,’ असन्तुष्ट एक सांसदले भने, ‘मन्त्रीमा भएका व्यक्तिबारे विभिन्न टीकाटिप्पणी र भूमिकासमेत विवादस्पद देखिएको छ । विभिन्न काण्डमा जोडिएका व्यक्तिलाई पठाउँदा त्यसले राम्रो सन्देश दिएको छैन ।’
राप्रपा प्रजातान्त्रिकका १९ सांसदमध्ये दस जना महिला छन् । संसदीय दलका नेता दीपक बोहोरा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा जोडिएका व्यक्ति हुन् ।।
असन्तुष्ट हुनेमध्ये धेरैजना तत्कालीन राप्रपा नेपालका सांसद छन् । ‘राप्रपा नेपालमा पद्धति बसेन व्यक्तिवाद चल्यो भनेर राप्रपा प्रजातान्त्रिक गठन गरेका हौं,’ सांसद विराजविक्रम विष्टले भने, ‘हामी मन्त्री भएनौं भन्ने चिन्ता होइन, पार्टी पद्धतिअनुसार चलेन भन्ने चिन्ता हो ।’ तत्कालीन राप्रपा नेपालबाट सांसद बनेका रामकुमार सुब्बा, सइन्द्र वान्तवा, रेशम लामा, विराज विष्ट, बबिना मोक्तान लावती, कमला शर्मा, सीता लुइँटेल, सइन्द्र वान्तवा, धनोदेवी महरा अहिले राप्रपा प्रजातान्त्रिकमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता बोहोरा, विक्रम पाण्डे र सुनिल थापालाई मन्त्री पदको शपथ गराएकी छन् । बोहोरालाई विज्ञान तथा प्रविधि, पाण्डेलाई वन र थापालाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नै रेशम लामालाई उद्योग राज्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा मन्त्री बोहोराको भूमिकाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिने भएको छ ।

 

प्रकाशित: २७ भाद्र २०७४ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App