coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एचआइभी संक्रमित समस्यामा

बिरा गडाल
बैतडी–दशरथचन्दनगरपालिका–१० बाराकोटकी ३९ वर्षीया जसुदेवी बिष्टलाई बिहान खाए बेलुका के खाने चिन्ता हुन्छ। ९ वर्ष अघि एचआइभी सक्रमणबाट पतिको मृत्युसँगै उनको आर्थिक अवस्था खस्कँदै गएको हो। उनका छोरा हेमन्त र उनी आफैं पनि एचआइभी संक्रमित छन्।
एआरटी सेवन गरिरहेका दुवैलाई पोषिलो खाने कुरा खान स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्। तर उनलाई पोषिलो खाने कुराको त कुरै छोडौं बिहान बेलुकाको छाक टार्नै समस्या छ । संक्रमित भएपछि उनको एक खुट्टाले राम्रोसँग काम गर्न छोडेको छ । अपांग खुट्टाले उनलाई काम गर्न कठिन हुने गरेको छ।
यस्तै कटौजपानी–७ की जसु लावडको अवस्थापनि दयनीय छ । एक छोरी  र तीन छोराको पालन पोषणको जिम्मा उनको काँधमा छ। उनी र दुई वर्षीय छोरा एचआइभी संक्रमित छन्। मागेर छाक टार्दै आएकी लावड को दैनिकी चलाउन हम्मेहम्म छ।
यस्तै महाकाली–५  बजगाडाकी जानकी चन्दको पनि उनीहरुको भन्दा फरक समस्या छैन । भारतमा रोजगारीमा रहेका पतिबाट संक्रमित भएकी चन्दका एक छोरा र एक छोरी गरी तीनै जना संक्रमित छन्। आर्थिक अवस्था कमजोर भएका चन्दको आफन्तले खेतीपाती लगाउने गरेका छन्।  समय–समयमा आँफू र छोराछोरी बिरामी पर्ने गरेको उनले बताइन् । उपचार गर्न समेत पैसाको खाँचो हुने गरेको दुखेसो गरिन्।
जिल्लामा श्रीमानबाट संक्रमित भएका एकल महिला र बालबालिकाको बिचल्ली छ। औषधि सेवन गरिरहे पनि आवश्यक पोषिलो खाने कुरा खान पाएका छैनन्। जसले गर्दा बेला बेला अन्य सक्रमणले सताउने गरेको संक्रमित बताउँछन । एचआइभी संक्रमितलाई समाजले हेर्ने नजर पनि राम्रो छैन्। उनीहरुलाई घृणाको नजरले हेर्दा समाजमा सहज जीवनयापन गर्न समस्या हुने गरेको उनीहरु बताउँछन्।
बैतडीमा गतबर्ष भन्दा एचआइभी संक्रमितको संख्या बढेको छ । गतवर्षको भन्दा ९जना बढेर यो वर्ष १ सय ७० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमा ८४ पुरुष र ८६ जना महिला रहेका छन्। तीमध्ये १७जना बालबालिका रहेका छन् । संक्रमित मध्ये १ सय १६ जनाले मात्र एआरटी औषधि सेवन गरिरहेका छन्। बाँकी ५४ जना नयाँ पत्ता लागेका र एआरटी  सेवन सुरु गरेका छैनन । एआरटी लिएका १ सय १६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा औषधि लिइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
औषधि  सुरु गरेका मध्ये १७ जनाको मृत्यु भइसकेको छ । आठ वर्षको अवधिमा उनीहरुको मृत्यु भएको हो। २ जना सम्पर्कमा छैनन् । यस्तै ९ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । ५ जना संक्रमितलाई भने औषधि रोकिएको एचआइभीको क्षेत्रमा कामगर्दै आइरहेको संस्था बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) काकार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिए ।
औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको उनले बताए। एचआइभी संक्रमितमा अहिले विभिन्न खालका समस्या देखिएको संक्रमितहरुले बताएका छन । एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएपनि संक्रमितले पोषिलोे खानेकुरा खान नपाएको गुनासो गरेका छन्।

 

प्रकाशित: ५ असार २०७३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App