coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इटहरीलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउँछु : गच्छदार

इटहरी- उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्।

 ‘इटहरी उपमहानगरपालिका क्षेत्रका दसवटा वडा क्षेत्र नं. ३ मा समेटिएको छ। अब मेरो प्राथमिकता इटहरीलाई महानगरपालिका बनाएर प्रदेश नं. १ को राजधानी बनाउने प्रयास रहनेछ,’ मन्त्री गच्छदारले सोमबार इटहरी वडा नं. १५ मा आयोजित थारु समुदायको जितिया पर्वको कार्यक्रमपछि पत्रकारसँग भने। उनले इटहरीलाई महानगरपालिका बनाउन त्यसअनुसारका पूर्वधार निर्माण गर्न आफूले पहल गर्ने बताए।

गच्छदारले इटहरीलाई डुबान हुन नदिनका लागि सेरा खोला तटबन्ध गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने बताए। ‘यसपटक बाढीले इटहरीलाई तहसनहस बनाएपनि अर्को वर्षदेखि त्यस्तो हुन दिनु हुँदैन,’ उनले भने, ‘मेरो पुरानो निर्वाचन क्षेत्र पनि सिंगो इटहरी भएको र अहिलेपनि दसवटा वडा आफ्नो निर्वाचन क्षेत्रमा परेकाले गर्दा इटहरीवासीको भावनाअनुसार काम गर्नेछु।’

उनका अनुसार, जनकपुर र बुटबल महानगरपालिका बनाउने प्रस्ताव गरिएकाले ती दुई शहर महानगरपालिका बनाउँदा इटहरी पनि पर्नेछ।

असोज २ गते हुन लागेको स्थानीय निकायको तेस्रो चरणको चुनाबमा कुनै पनि दलबीच तालमेल नभएपछि मंसिर १० र २१ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भने आवश्यकता अनुसार तालमेल गर्ने बताए।

४७ वर्ष अघिदेखि राजनीतिमा सक्रिय गच्छदारले आफू निरन्तर जनताको सुखदुखमा साथ दिएकैले गर्दा सफल भएको जिकिर गरे। सुनसरी दुहबी घर भएका गच्छदारलाई मधेसका महियाको संज्ञा दिने गरिन्छ।

उनले नेपाली कांग्रेस निकट नेविसंघमा सक्रिय रहेर पञ्चायतविरुद्ध आन्दोलन चर्काउँदा पाँच वर्षसम्म जेल जीवन बिताएका थिए। जेल जीवन विताएलगतै पाँच वर्षसम्म उनले भारतमा निवासन जीवन बिताए। ‘मैले राजनीति थाल्दा थारुमा म मात्र थिए,’ जेल सजाय भोगे,’ उनले भने, ‘२०४८ सालमा पहिलोपटक सञ्चार मन्त्री हुँदा सरकारी सञ्चार माध्यममा कोही थारु अधिकृत थिएनन्।’

गच्छदार २०४८ सालमा सुनसरी क्षेत्र नं. २ बाट कांग्रेसका तर्फबाट विजयी भएका थिए। २०५१ र २०५६ सालको निर्वाचनमा पनि उनी क्षेत्र नं. २ बाटै विजयी भएका थिए। गच्छदार पहिलो संविधानसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेसवादी दलबाट सुनसरी क्षेत्र नं. ३ र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ३ बाटै नेपाल लोकतान्त्रिक फोरमबाट विजयी भएका थिए। 

प्रकाशित: २६ भाद्र २०७४ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App