८ वैशाख २०८१ शनिबार
अन्य

आध्यात्म र परिवारको सम्बन्ध

रमेश नेपाल,
जीवन विज्ञान विशेषज्ञ

अध्यात्मको अर्थ आँखा बन्द गरेर ध्यान गर्नु मात्रै हैन । आध्यात्मको अर्थ हो, आफूतिर फर्केर आफ्नो आनीबानी, स्वभाव–विचार, कमीकमजोरी आदि कुराको पहिचान गर्नु हो । आफू कस्तो छु, आफ्नो स्वभाव कस्तो छ, घरमा मेरो स्वभावका कारण के कस्तो असर परेको छ, समाजमा कस्तो असर परेको छ, त्यसको समग्र जानकारी लिनु आध्यात्म हो । आध्यात्मको अर्थ आफूतिर फर्कने कला हो । आफ्नो राम्रो–नराम्रो आनीबानी थाहा पाउनुसँगैै कमजोरी हटाउँदै लैजानु हो । यस कारण आध्यात्म र परिवारको गहिरो सम्बन्ध रहन्छ र हुनु पनि पर्छ । जसले आध्यात्म बुझ्छ, उसले परिवार, छिमेकी इष्टमित्र, समाजसँग राम्रो सुमधुर बनाउँछ । जसले आध्यात्म बुझ्दैन, जो आफूतिर फर्कंदैन, उसको परिवारसँगको सम्बन्धमा तिक्तता आउँछ ।
समाजमा थरिथरिका मानिस हुन्छन्, कोही सकारात्मक हुन्छन्, कोही नकारात्मक हुन्छन् । अझ भन्ने हो भने कोही आध्यात्मिक हुन्छन्, कोही गैरअध्यात्मिक हुन्छन् । जो व्यक्ति आध्यात्मिक छ, सकारात्मक छ, त्यो मनिस आफूलाई जान्दछ । उसले आफ्नो स्वभाव, आनीबानी, व्यहोराबारे ऊ जानकार हुन्छ । आफ्नो कमीकमजोरीबारे थाहा पाउँछ, सच्याउँछ र ऊ पछि सफल पनि हुन्छ । जो व्यक्ति गैरआध्यात्मिक छ, ऊ नकारात्मक हुन्छ, अरुको कमीकमजोरी मात्र देख्छ अनि ऊ नराम्रो मात्रै जान्दछ भने आफैँप्रति बेखबर बन्न पुग्छ । यस्तो अवस्थामा उसले आफ्नो राम्रो मात्र देख्छ । हो, यहीँबाट समस्या निस्कन्छ । जबसम्म उसले सबै मान्छे सबै गुणले भरिपूर्ण हुँदैनन् भन्ने बुझ्दैन, त्यहाँ सम्बन्धमा टकराव आउँछ, सम्बन्धमा फाटो आउँछ ।  
सम्बन्ध राम्रो  होस् भन्ने चाहन्छौँ तर सम्बन्ध ठीकविपरीत हुन्छ । वैमनस्य, रिस, डाहतिर सम्बन्ध अघि बढ्दै गइरहेको हुन्छ । परिवारमा कल, झगडा, अशान्ति भइरहेको हुन्छ । भाइभाइबीच झगडा, बोलचाल बन्द, आउजाउसमेत बन्द भएको अवस्था हुन्छ । यसले गर्दा हाम्रो समाज छिन्नभिन्न भएको छ । यसरी परिवार छिन्नभिन्न हुनुको प्रमुख कारण के त ? समस्या समाधान कसरी हुन्छ ? अब हामीले त्यसतर्फ सोच्नुपर्ने बेला भइसकेको छ । हामीले ध्यान दिएनौँ भने हामी मानसिक रोगको सिकार हुनेछौँ । समाजमा डिप्रेसनका रोगी बढाउने छौँ । त्यसैले हाम्रो घर, परिवार, समाज बीचको सन्तुलन मिल्न जरुरी छ ।

तीजको व्रत पुरुषको अहंकार समाप्त पार्न रचिएको हो तर यस पर्वलाई अधिकारकर्मीहरु पुरुषवादी अहंकार मान्ने पर्व भन्छन् जबकि त्यसभित्रको दर्शन बेग्लै छ ।


हामी सधैँ स्वतन्त्र हुन चाहन्छौँ । अर्कोतर्फ हामी अरु सबै आफ्नो अधिनमा रहून्, मैले भनेअनुसार गरून्, मेरो इच्छाअनुसार चल्दिऊन्, आफू मात्र स्वतन्त्र रहूँ भन्ने चाहन्छौँ । यस्तोमा अरुलाई आफ्नो अधिनमा राख्न चाहने अनि कोही अधिनमा बस्न नचाहने अवस्था सिर्जना भएको छ । अनि कसरी सम्बन्ध सुमधुर होस् ? त्यसैले हामी स्वतन्त्रता चाहन्छौँ भने आफ्नो स्वभाव, आनीबानी, बेहोरामा चल्छौँ भने हाम्रा साथी, प्रेमीप्रेमिका, श्रीमान्–श्रीमती, बाआमा, छोराछोरीको आनीबानी, संस्कारलाई स्वतन्त्र छाड्न जरुरी छ ।  
अहिले हाम्रो समाजमा सम्बन्धविच्छेदको समस्या बढ्दै गएको छ । श्रीमान् अलग संस्कार रहनसहन र समाजमा हुर्किएका हुन्छन् । श्रीमती पनि अलग रहनसहनमा हुर्केका हुन्छन् । एकअर्काको स्वभाव र विचार फरक–फरक हुन्छ । एकअर्काको स्वभाव विचार नजानी आफैँले भने जस्तो हुनुपर्छ भनेर दुवैले घमण्ड गर्दा सम्बन्धमा तिक्तता आउँछ । एकअर्काबीच विचार बानीव्यहोरा बुझ्ने एकअर्कालाई सम्मान गर्न थाल्छौँ, सम्बन्धमा समस्या आउँदैन ।  
हामी सबलाई लाग्छ, दुःख मलाई मात्र छ, मलाई कसैले सहयोग गर्दैन । न त श्रीमतीले, न त बा–आमाले, न त छोराछोरीले सहयोग गर्छन् । न त इष्टमित्रले वास्ता गर्छन् । अनि हामी भन्न थाल्छौँ, आफूले जस्तो दुःख कसैले पाएको छैन । उता श्रीमती, बा–आमाको पनि उही हाल छ, समस्या उही छ, गुनासो उही छ । जसै हामीले एक तह माथि उठेर सोच्छौँ, आफ्नोजस्तो दुःख–गुनासो अरुको पनि हुन्छ भन्न थाल्छौँ, अरुको कुरा पनि सुन्न थाल्छौँ, अनि मात्र हामीले बुझ्छौँ– संसार यस्तै रहेछ । अरुले हेरेनन् भनेर मात्र हामी दोष दिन्छौँ तर आफूले अरुलाई कति हे¥यौँ, अरुले भनेको कति मान्छौँ, उनीहरुको सुखदुःखमा कत्तिको साथ दिन्छौँ भनेर ध्यान दियौँ भने पक्कै पनि हामी हाम्रो सम्बन्धबारे स्पष्ट हुन्छौँ ।
हामीले आफ्नो राम्रो आचरणका कारण परिवार, समाज कति खुसी हुन्छ भन्ने थाहा पाउँदा मात्र आनन्दित हुन्छौँ । हामी आफू आनन्दित भयौँ भने परिवार आनन्दित हुन्छ । परिवार–परिवार आनन्दित हुँदा समाज आनन्दित हुन्छ । समाज आनन्दित भयो भने राष्ट्र बलियो हुन्छ ।
हामी अरुले राम्रो भन्दा खुसी र नराम्रो भन्दा बेखुसी हुन्छौँ तर आफूले पनि अरुका बारे कत्तिको राम्रो टिप्पणी गर्छौं ? समस्या त्यहीँनेर छ– हामी आफू राम्रो र अरुलाई नराम्रो भन्न रुचाउँछौँ । कसैको सहानुभूति लिएर हाम्रो आत्मसम्मान हुँदैन । लिन मात्र चाहने तर दिन कन्जुस गर्ने आचरणले हामीलाई फाइदा दिँदैन । श्रीमतीहरुको गुनासो हुन्छ– श्रीमान्ले वास्ता गरेनन्, हाम्रो इच्छा बुझ्दैनन्, घरमा समय दिँदैनन् र बाहिर मात्र ध्यान दिन्छन्, धन कमाउनेबारे मात्र सोच्छन्, आदिइत्यादि आरोप लगाउने गरेको सुनिन्छ । यस किसिमको आरोप बढ्दै जाँदा पतिपत्नी बीचको सम्बन्धमा तिक्तता आउँछ ।
त्यस्तै पतिहरुको पनि गुनासो रहने गर्छ– पत्नी सधैँ माइत मात्र जान्छे, राम्रोसँग बोल्दिन, रुखो व्यवहार गर्छे, शंका–उपशंका गर्छे आदिइत्यादि आरोप लगाउँछन् । यो केवल एकअर्काको माया प्राप्त गर्ने उद्देश्यले भनिएका कुरा हुन् । यसको अन्य केही उद्देश्य छैन ।
पतिहरुको मनोविज्ञान बुझ्दा सारा संसारले प्रशंसा, माया, सद्भाव प्रकट गर्दा पनि उसले श्रीमतीबाट त्यस किसिमको माया, सद्भाव पाएन भने अरुबाट पाएको माया सद्भाव, सम्मान उसलाई महत्वहीन लाग्छ । यही कुरा पत्नीको हकमा पनि लागू हुन्छ । हामी एकर्काको कमीकमजोरी र नराम्रो कुरा चाहिँदोभन्दा बढी खोतलीखोतली भन्छौँ, गर्छौं तर प्रशंसा गर्नबाट भने चुक्छौँ । हामी आफू प्रशंसा चाहने तर आफूले अरुको प्रशंसा कहिल्यै गर्दैनौँ । यहीँबाट परिवारिक विचलन र वैमनस्य सुरु हुन्छ । हामीले अरुका बारे राम्रो कुरा ग¥यौँ, अरुलाई प्रशंसा, माया, सद्भाव दियौँ भने हाम्रो परिवार, समाज र राष्ट्र नै विखण्डन हुनबाट जोगिन्छ ।
आफूले गरेको कर्मबाट घरपरिवार खुसी भयो कि भएन, कर्म गर्नेले आफूसँगै अरुलाई पनि खुसी, आनन्द दियो कि दिएन, यसमा उसको खुसी टिक्छ । आफू खुसी हुन आफूले अरुलाई खुसी दिन सक्नुपर्छ । आफूले गरेको कर्मले परिवार खुसी हुन्छ, आफ्नै कर्म र सेवा भावले समाज खुसी हुन्छ अनि आफू पनि खुसी भइन्छ, आनन्दित भइन्छ तर हामी सित्तैमा खुसी लिन चाहन्छौँ । सित्तैमा मलाई अरुले आनन्दित बनाओस्, खुसी बनाओस् भन्ने चाहन्छौँ । जसका कारण हामी सधैँ दुःखी हुन पुग्छौँ ।
हामी शिव भूमि, बुद्ध भूमिमा बस्छौँ । त्यसैले हामीकहाँ धेरै चाडपर्व छन् । हामी प्रायः सबै बार व्रत बस्छौँ । हामीले ती व्रतसँगै एउटा व्रत पनि थप्नु पर्ने बेला आएको छ । त्यो हो प्रतिवद्धताको व्रत । आज घरपरिवारले जे–जे भन्छन्, म त्यो–त्यो गर्छु भन्ने व्रत । मेरा बा–आमा, श्रीमती–श्रीमान्, छोराछोरी जसले जे भने पनि मान्ने व्रत । आज मेरो मान्ने व्रत हो, म आज मान्छु भन्यौँ भने हामी सबैको ठूलो सत्रु अहंकार समाप्त हुन्छ । हामी अरुले भनेको मान्दा आफ्नो अहं नास भएको ठान्दैनौँ बरु आफू महŒवहीन  भएको ठान्छौँ । घर बिग्रने मूल कारण नै यही हो । यही नै झैँझगडा हुने कारण हो । एक दिन ‘मान्ने व्रत’ लियौँ भने हाम्रो सम्बन्ध मजबुत बन्छ ।
के हामी यो व्रत बस्न मञ्जूर छौँ त ?
हामीले एउटा के कुरा बुझ्न आवश्यक छ भने कार्यालय र घरमा हाम्रो भूमिका फरक हुन्छ र हुनु पनि पर्छ । घर प्रेमले चल्छ । कार्यालय बुद्धिले चल्छ । घर बुद्धिले चलाउन खोज्यौँ भने घर बिग्रन्छ । घरमा ठूलो बन्ने हैन, सानो बन्नुस् । हामी जसरी घरबाहिर जाँदा जुत्ता लगाउँछौँ र घरभित्र आउँदा जुत्ता खोल्छौँ, त्यसैगरी घरबाहिर लिएर जानुस् तपाईंको घमण्ड, अहंकार, पद तर जब घरभित्र आइन्छ ती सबै बिर्सिदिनुस् र घरभित्र ल्याउनुस्, प्रेम, आत्मियता । घरमा जसै प्रेम र आत्मियता लिएर छिर्नुहुन्छ, आफ्नो अहंकारको जुत्ता घरबाहिरै छाड्नुहुन्छ, त्यो घर सुन्दर हुन्छ, सम्पूर्ण हुन्छ, खुसियालीपूर्ण हुन्छ ।
घरमा सानो बन्दिनुस्, इगो त्यागिदिनुस्, प्रेमिल सम्बन्धले घर सिङ्गार्नुस् । प्रत्येक परिवारले यसो गर्यो भने त्यो समाज सुखी समाज हुन्छ । सुखी समाजबाट नै राष्ट्र सुन्दर बन्छ । हामीले यस्तै साना–साना कुरा नजान्दा बेकारमा पीडा भोगिरहेका छौँ ।
वास्तवमा हाम्रा ऋषिहरुले हाम्रो संस्कार मजबुत बनाउन चाडपर्वको सिर्जना गरे । तीजलाई नै हेर्नुस् न ! तीजको व्रतको अर्थ हो– अरुका लागि व्रत बस्नु । यो सुन्दर चलन हो । हामी अरुको दीर्घायुका लागि व्रत बस्छौँ । अचेल अधिकारवादीले यसमा विभेद देख्छन् । लोग्नेका लागि किन व्रत बस्ने भन्छन् । गोडामा ढोग्नु उत्पीडन देख्छन् । तर उनीहरुले एकपक्षीय भएर मात्र बुझेका छन् । उनीहरुले यो बुझेनन्– आफूले प्रेम गरेको मान्छेको के खुट्टा, के टाउको ! जता छुँदा पनि प्रेमैप्रेम ! तीजको व्रतको अर्थ यही हो । अरुलाई खुसी बनाउने मान्छे जहिले खुसी हुन्छ । जब त्यस दिन श्रीमतीले निराहार व्रत बसेर श्रीमान्को शरणमा जान्छिन्, त्यो बेला श्रीमानको अहंकार सकिन्छ । अहंकारी पतिको पनि अहंकार रित्तिन्छ । उसलाई पनि प्रेमिल हुन पत्नीको व्रतले सिकाउँछ । तीजको व्रतले एकअर्काप्रति समर्पणको द्वार खोल्छ । सम्बन्ध सुमधुर बन्छ । तर बुद्धिवादीहरुले पत्नीको त्यो प्रेम, समर्पण बुझेनन् । त्यसमा पुरुषवादी अहंकार मात्र देखे ।
हाम्रा अग्रजले हाम्रो मन व्यवस्थित बनाउन सिकाए । सबैलाई प्रेम गर्न सिकाए । त्यसकै स्वरुप हो मातातीर्थ औँसी, गुरुपूर्णिमा आदि पर्व ।
महिनैपिच्छे सिर्जना गरिएका चाड र पर्वले हामीलाई संस्कार सिकाउँछ । हामीलाई सधैँ आनन्दित र हर्ष– उल्लासपूर्ण रुपमा जीवन व्यतित गर्न सिकाउँछ । हाम्रा ऋषिमुनिहरूले हाम्रो जीवन सुखमय बनाउनकै लागि दसैँतिहारजस्ता पर्व बनाएका हुन् । जीवन स्वर्गमय बनाउन बनाइएका हुन् । हामी मरेपछि स्वर्ग जाने कुरामा विश्वास गर्छौं । यी सबै झुटा कुरा हुन् । मरेपछि हैन, हामीले जीवन जिउने कला सिक्यौँ भने हाम्रो जीवन स्वर्गमय बनाउन अहिले नै सक्छौँ ।  
पहिला हामी आफू आनन्दित हुन सिकौँ । आफूभित्रको फोहोर हटाऔँ । आफूभित्रको राम्रो राखौँ, त्यसलाई अझ बढाऔँ र आफूभित्रको अवगुण हटाऔँ । हामीले आफूभित्रको अवगुण हेरेनौँ भने हामी आफूभित्र जे छ, त्यही प्रस्तुत गर्दै हिँड्छौँ । आफूभित्र गुण हुनेले त्यही प्रदर्शन गर्ने हो । त्यसैले गुण उमारौँ र त्यही प्रदर्शन गरौँ ।

प्रकाशित: २६ भाद्र २०७४ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App