८ वैशाख २०८१ शनिबार
खेल

युनाइटेड अंक बाँड्न बाध्य

लन्डन– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टोलीले स्वाभाविक लयअनुसार प्रदर्शन गर्न नसक्दा स्टोक सिटीसँग बराबरीमा रोकिएको बताएका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार स्टोकले घरेलु मैदानमा युनाइटेडलाई २–२ को बराबरीमा रोकेको हो । ४३औं मिनेटमा इरिक म्याक्सिम चौपा–मोटिङले गरेको गोलमा स्टोकले अप्रत्याशित अग्रता लिएको थियो । उनले मामे विराम डियोफको पासलाई पोस्टको दिशा दिएका थिए । तर स्टोकले आफ्नो अग्रता धेरै समय टिकाउन सकेन । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलमा युनाइटेड खेलमा फर्किएको थियो।

५७औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । हेनरिक मिखितारियानको पासमा लुकाकुले गरेको प्रहार स्टोकका गोलकिपर ज्याक बुटल्यान्डले रोके पनि उनले रिबाउन्डमा प्राप्त बललाई जाली चुमाएका थिए।

६३औं मिनेटमा इरिकले गोल गर्दै स्टोकलाई खेलमा फर्काउँदा युनाइटेड अंक बाँड्न बाध्य भएको हो । इरिकले जाद्रान साकिरीको पासलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए।

यस बराबरीपछि ४ खेलको समाप्तिमा १० अंक जोडेको युनाइडेट पुनः शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा समान १० अंक जोडेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । यसअघि लिभरपुलमाथि ५–० को सानदार जित हात पारेको सिटी केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको थियो ।
माउरिन्होले अन्तर्राष्ट्रिय विश्रामपछि खेलाडीले लय गुमाएको भन्दै निराश देखिए ।

‘विभिन्न कारणले गर्दा यो खेल हाम्रा लागि कठिन रह्यो । अन्तर्राष्ट्रिय विश्राामपछि मेरा खेलाडी उत्कृष्ट लयमा देखिएनन्,’ माउरिन्होले भने, ‘उनीहरूले आफ्नो स्वाभाविक लयसमेत गुमाएको देखियो तर पनि हामी खेलमा हाबी भएका थियांै । हामी बलियो चुनौती दिँदै जित नजिक पुगेका थियौं तर दुर्भाग्यवश हामी अंक बाँड्न बाध्य भयौं । त्यसैले म टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन । एउटा टोली जितका लागि र अर्को टोली एक अंंकका लागि प्रतस्पर्धा गरिरहेका थिए । उनीहरूले कडा चुनौती दिँदै अंक खोस्न बाध्य भए ।’

यता साबिक विजेता चेल्सीले लेस्टर सिटीमाथि २–१ को कठिन जित हात पारेको छ । 
४१ औं मिनेटमा स्पेनिस स्ट्राइकर अल्भारो मोराटाले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । मोराटाले सिजर एजप्लिक्वटाको पासलाई पोस्टको दिशा दिएका थिए । यसै सिजन स्पेनिस महारथी रियाल मड्रिडबाट चेल्सीमा आबद्ध भएका मोराटाको यो क्लबका लागि तेस्रो गोल हो।

५०औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । एन्टोनियो रोडिगेरको पासलाई कान्टेले पेनाल्टी बक्सबाहिरबाटै आकर्षक रूपमा जाली चुमाएका थिए। 

६२औं मिनेटमा स्ट्राइकर जेमी भार्डेले पेनाल्टीमा गोल गर्दै खेल अन्तर कम गरे पनि लेस्टरलाई खेलमा फर्काउन त्यो पर्याप्त भएन । भार्डेलाई चेल्सीका गोलकिपर थिबाउट कोर्टियोसले पेनाल्टी बक्समा लडाउँदा लेस्टरले पेनाल्टीको अवसर पाएको थियो।

यस जितपछि ९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा झर्दा ३ अंक जोडको लेस्टर १५औं स्थानमा यथावत् छ ।
‘हामी खेलमा हाबी थियौं, त्यसैले यो जितबाट हामी सन्तुष्ट हुनुपर्छ,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘हाम्रो प्रदर्शनका हिसाबमा यो राम्रो नतिजा हो । विश्रामपछि स्वाभाविक लयमा फर्कदै जित हात पार्नु सहज कार्य होइन ।’
त्यस्तै पछिल्लो दुई खेलमा स्टोक र लिभरपुलसँग पराजित भएपछि आलोचित बनेका आर्सनलका प्रशिक्षक आर्सेन वेंगरका लागि घरेलु मैदानमा सम्पन्न खेल सुखद बन्यो।

इमिरेट्समा सम्पन्न खेलमा आर्सनलले बर्नामाउथलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा डेनी वेलब्याकले दुई र एलेसान्द्रो लाकाजेट्ले एक गोल गरे ।  यस जितपछि ६ अंक जोडेको आर्सनल नवौं स्थानमा छ । हालसम्म अंकको खाता खोल्न नसकेको बर्नामाउथ पुछारबाट दोस्रो स्थानमा छ।

शनिबारै सम्पन्न अर्को खेलमा टोटेनह्यामले एभर्टनमाथि ३–० को सहज जित हात पारेको छ। 
टोटेनह्यामको जितमा स्ट्राइकर ह्यारी केनले दुई र क्रिस्टियन इरिक्सनले एक गोल गरे । यस खेलमा गरेको पहिलो गोलपछि केनले टोटनह्यामबाट आफ्नो गोल संख्या १ सय पुर्‍याएका थिए । जारी सिजन उनको यो पहिलो गोल हो।
त्यस्तै वाट्फोर्डले साउथह्याम्पटनलाई २–० ले पराजित गर्दा ब्रिङ्टोनले वेस्ट ब्रोमलाई ३–१ ले पराजित गर्‍यो।

‘हामी बलियो चुनौती दिँदै जितनजिक पुगेका थियौं तर दुर्भाग्यवश हामी अंक बाँड्न बाध्य भयौं । त्यसैले म टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन।’

प्रकाशित: २६ भाद्र २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App