काठमाडौं– बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोतसाधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियामा रहेका वर्गीय असमानतालाई अन्त्य गर्दै स्थानीय पर्यटकीय विकासमा जोड दिन सकेमा बर्दियाको विकासमा टेवा पुग्ने जनाए । सामाजिक समस्याका रूपमा रहेका कमलरी, हलिया तथा थारूका समस्या अन्त्य गर्दै थारूका परम्परागत संस्कृति र भेषभूषाको संरक्षण र प्रबद्र्धन गर्न सके पर्यटक आकर्षण गर्न सकिने मन्त्री दहितको भनाइ थियो।
थारू संग्रालय, ताल तलैया तथा धार्मीक स्थलहरूको प्रबद्र्धनसँगै कृषि क्षेत्रबाट समेत राम्रो विकास गर्न सकिने उनले बताए। बर्दियाको विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तत्पर रहेको दहितको भनाइ थियो।
सिंचाई मन्त्री सञ्जयकुमार गौतमले पूर्वाधार विकासमा धेरै अघि बढेको बर्दिया नयाँ मोडलमा अघि बढिसकेको दाबी गरे । बर्दिया स्रोतसाधनका हिसाबले तराईका २३ जिल्लामध्ये राम्रो जिल्ला भित्र पर्ने भन्दै उनले बर्दियाको विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताए । ‘पूर्वाधार विकासमा बर्दिया अघि बढिसकेको छ । आर्थिक आयआर्जन तथा पर्यटन विकासका लागि पनि हामी लागिरहेका छौं,’ उनले भने।
पशुपंछी मन्त्री सन्तकुमार थारूले बर्दियाको विकासका लागि सबै राजनीतिक दल एउटै मञ्चमा उभिनुपर्नेमा जोड दिए । हाल नौ महिनामा सरकार परिवर्तन हुने प्रवृत्तिले बर्दिया मात्र नभएर सम्पूर्ण मुलुक नै उपलब्धिविहीन भएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्दै दीर्घकालीन सरकारको अवधारणाले मात्र हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने दाबी गरे । उनले बर्दियामा रहेका बहुसंख्यक थारूहरूका समस्या समाधान गर्दै जस्तो सुकै परिस्थितिमा पनि पर्यटक पुग्न सक्ने अवस्था सिर्जना गर्न सके बर्दियाको विकासमा निकै ठूलो उपलब्धि हासिल हुने दाबी गरे । त्यसका लागि विमानस्थल निर्माण लगायका काम भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्व गभर्नर तिलक रावलले बर्दियाको विकासका लागि राजनीतिक विचारभन्दा माथि उठेर सोच्नुपर्ने बताए । उत्पादनमूलक गतिविधिमा जोड दिनुपर्ने भन्दै उनले जिल्लाका विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गरी त्यस अनुसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । समाजका अध्यक्ष शुभमान श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
प्रकाशित: २६ भाद्र २०७४ ०२:४५ सोमबार