coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी शीर्ष नेता तराईमा

काठमाडौं – प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु तराईमधेस झरेका छन्। 

अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए । 
‘अध्यक्षज्यू केही दिन अझै २ नम्बर प्रदेशमा नै रहनु हुनेछ,’ दाहालका प्रेस संयोजक मनहरि  तिमिल्सनाले भने, ‘चुनावी प्रचारप्रसार र पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।’ उनका अनुसार कम्तीमा भदौ महिनाभरि अध्यक्ष दाहाल सो प्रदेशमै रहनेछन्।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भने चुनाव अवधिभर सर्लाहीमा रहनेछन् । उक्त जिल्लाबाट विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय र पूर्वसांसद शिवपुजन राय प्रवेश गरेपछि सो जिल्लाका स्थानीयत तहमा चुनाव जित्नेमा माओवादी आशावादी भएको छ ।  राजपा अध्यक्ष मण्डलका तीन सदस्य क्रमशः महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवको गृहजिल्ला भएकाले पनि सो जिल्लामा मधेस केन्द्रित दलको पकड भत्काउने उद्देश्य माओवादीको छ। 

धनुषामा नेता रामबहादुर थापा, रामचन्द्र झा र श्रवण यादव खटिएकाले केही स्थानमा विजयी हासिल गर्न सक्ने माओवादी आँकलन छ । ‘कम्तीमा ५ स्थानीय तह जित्ने उद्देश्यसहित माओवादी नेता खटिनुभएको छ,’ सहिद नगरनगरपालिका मेयर उम्मेदवार उदय बरबरिया यादवले नागरिकसँग भने । उनका अनुसार जनकपुर उपमहानगरपालिकाबाहेक अन्य स्थानमा माओवादीले बढी नै प्रभाव पार्नेछ।

सहरी विकासमन्त्री प्रभु साह गृहजिल्ला रौतहटमा खटिएका छन् । गौर नगरपालिकाबाहेक अन्यत्र उम्मेदवार उठाएको माओवादी केन्द्रले चन्द्रपुर, कटहरिया र मौलापुरलगायतका स्थानीय तह जित्ने दाउमा छ । ‘जिल्लाको आधाजति स्थानीय तह माओवादीले जित्नेछ’, कटहरियाका माओवादीका मेयर उम्मेदवार सियाराम कुशवाह नागरिकसँग भन्छन् । सो जिल्लामा अध्यक्ष दाहालदेखि पूर्वमन्त्री हरिबोल गजुरेललगायतका नेता क्रियाशील छन्।

पर्सामा स्थायी समिति सदस्य उर्मिला अर्याल खटिएकी छन् । सप्तरीमा चक्रपाणि खनाल खटिएका छन् भने सिरहामा विश्वनाथ साह र महेन्द्र पासवानलगायतका नेता चुनावको नतिजा पार्टीको पक्षमा लाग्न खटिएका छन् । ‘सप्तरी र सिरहामा सबैभन्दा पहिला विनाविवाद उम्मेदवार टुंग्याउने काम गरेका थियौं । आधारभूमि जोगाउन केन्द्रित छौं’, साहले भने । 
सप्तरीका सांसद अशोककुमार मण्डलले ९ नगरपालिका र ९ गाउँपालिका रहेको सो जिल्लामा आधाभन्दा बढी स्थानीय तहमा माओवादीले चुनाव जित्ने दाबी गरे। 

नयाँ विकसित सहर बर्दिबास नगरपालिकामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल  खटिएका छन् । बिरामी भए पनि महोत्तरीमा माओवादीलाई जिताउन पोखरेलसहित भरत साहलगायतका शीर्ष नेता लागिपरेका छन् । 

 

 

प्रकाशित: २६ भाद्र २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App