७ वैशाख २०८१ शुक्रबार
समाज

‘सुरक्षाकर्मी नै सहयोगी’

केपी ढुंगाना / हिमनाथ देवकोटा

रसुवा – नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाइन्ट कट्नुपर्छ। जिल्लाको टिमुरेमा ४, स्याफ्रुमा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावतीमा एक चेक पोस्ट छन्। 

रसुवाका टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानमा नेपाली सेनाका चारवटा चेक पोस्ट छन्। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको सेनाले पनि चेक पोस्ट राखेको छ। 

सीमा र धुन्चेमा सशस्त्र प्रहरीको दुई चेक पोस्ट छन्। प्रहरीको सीमाको २ सहित स्याफ्रु, धुन्चे, कालिकास्थान र बेत्रावतीमा ६ वटा चेक पोस्ट छन्। हरेक चेक पोस्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फेला परेको गाडीको टिमुरेमा रहेको नेपाल प्रहरीको चेक पोस्टमा मात्रै दर्ता रहेको देखिएको छ। 
सुरक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिपुरेमा भदौ १५ गते मध्याह्न गाडी पार भएर तिब्बत गएको देखिन्छ। 
सुन तस्करीको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीका अनुसार सो गाडी १८ गते केरुङ हुँदै काठमाडौं भित्रिएको थियो। रसुवाका अन्य कुनै सुरक्षा चेक पोस्टमा सो गाडी आएको तथ्यांक नहुँदा सुन तस्करीमा सुरक्षा संगठनको व्यवहार शंकास्पद देखिएको छ।

नाका बिहान ८ बजे खुल्छ, साँझ ४ बन्द हुन्छ । नेपालको नाका कटेर तिब्बतको पाङसिङसम्म नेपाली सवारीसाधन जान पाउँछ । बीचमा पर्ने थोङसामा चिनियाँ प्रहरीको चेक प्वाइन्ट छ । स्रोतका अनुसार थोङसाको चेक प्वाइन्ट छल्न तस्कर समूह मालागढी  भएर नेपालतर्फ आउने गरेका छन् । त्यहाँबाट धादिङबेसी निस्कन्छ ।

तस्कर समूहले मूल बाटो छल्न वैकल्पिक बाटोका रूपमा रसुवागढी हाइड्रोको कच्ची सडकसमेत प्रयोग गर्ने गरेका छन् । सो बाटो भएर मैलुङको शान्तिबजार पुगिन्छ । त्यहाँबाट बेत्रावती हुँदै त्रिशूली निस्केर तस्करीको सामान काठमाडौं भित्रने गरेको छ । 

सेना र प्रहरीको चेक पोस्टमा रेकर्ड नभएको विषयमा रसुवाको सुरक्षा अधिकारी बोल्न चाहेनन् । पक्राउ परेकामाथि काठमाडौंमा अनुसन्धान भइरहेकाले जिल्लामा यसबारे नबोल्न निर्देशन आएको उनीहरूको दाबी छ ।

रसुवाका सुरक्षा अधिकारी यसअगाडिका तस्करीमा समेत जोडिएका थिए । रसुवामा खटिएका नेपाल प्रहरीका डिएसपी ओम राना र सेनाको अरिदमन गणका सैनिक रक्तचन्दन तस्करीमा जोडिएका थिए । अनुसन्धानमा मिलेमतोमा रक्तचन्दन तस्करी भएको खुलेपछि सेनाले सैन्य अधिकारीलाई बर्खास्त गरे पनि रानालाई प्रहरी नेतृत्वले सचेत मात्रै गराएको थियो । 

८८ किलो सुन तस्करीमा काठमाडौं प्रहरीको भूमिका पनि शंकास्पद देखिएको छ । सुनबारे संगठनले दिएको निर्देशन पालना नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

तस्करीको सुन ठमेल भित्रिएको सूचनाका आधारमा खोजी गर्न लैनचौर वृत्तलाई परिसरबाट निर्देशन गए पनि वृत्तका प्रहरीले सुन बोकेको गाडी फेला पार्न सकेनन् । सोही गाडी महाशाखाले फेला पारेको थियो । 

दुई हजारको लोभमा पर्दा हिरासत
केरुङ नाका कटेर तिब्बत जान अनुमति पाएका दाम्पा तामाङ भदौ १५ मा नाकामै थिए । साढे तीन बजेतिर बा १७ च ६४२७ नम्बरको गाडी सीमा पार गराउन प्रस्ताव आएपछि उनी राजी भए । 

सीमा कटाएबापत २ हजार नेपाली रुपैयाँ र केही युआन पैसा टिप्स पाएपछि उनी भोलिपल्ट केरुङ फर्किए । नाका प्रवेशको अनुमति पाएका दिलीप खड्काले १९ गते त्यही गाडी तिब्बतको नाका कटाएर नेपाल ल्याए र टिप्स लिएर छाडिदिए ।

१९ गते बेलुका त्यही गाडि ८८ किलो सुनसहित काठमाडौंमा समातियो । रेकर्ड हेर्दा सो गाडी तामाङ र खड्काले सीमा कटाएको खुलेपछि दुवैजनालाई रसुवा प्रहरीले पक्राउ गरेर काठमाडौं पठायो । अहिले दुवै चालक महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा छन् ।

तामाङ रसुवाकै स्थानीय हुन् भने खड्का सिन्धुपाल्चोकका हुन् । चीनले रसुवाका करिब ६ हजारलाई सीमा वारपार गर्ने अनुमति दिएको छ । खड्काले सिन्धुपाल्चोकबाट बसाइँ सराइको पत्र ल्याएर कार्ड लिएको एक सुरक्षा अधिकारीले बताए। 

सुन तस्करीमा जोडिएका अर्का चालक मनोज अधिकारी गाडी लिन जाँदा सुन ओसार्ने गाडीसहित पक्राउ परेका थिए । सुन बरामद भएको एक साता हुँदासमेत प्रहरीले यी तीन चालकबाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन । 
संगठित अपराध ऐनअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएकाले उनीहरू न्यूनतम ६० दिन प्रहरी हिरासतमा रहनेछन्। 

अनुसन्धान टुंगो लागेर अदालत पुग्दा अन्य कोही पक्राउ परेनन् भने बरामद सुनको मूल्य ४४ करोडलाई आधार मानेर अदालतले धरौटी माग्यो भने एक जनाको भागमा १४ करोड पर्छ । 

‘बयानमा पक्राउ परेका २ चालक सुन ओसार्ने गाडी केरुङ नाका वारपार गर्न संलग्न देखिएका छन्,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘बयानमा २ हजार लिएर काम गरेको दाबी गरेका छन्, तस्करीमा संलग्नताबारे अनुसन्धान जारी छ ।’
तीनैजना चालकलाई गाडी लैजान र ल्याउन लगाउने चिनियाँ नागरिक पान विङ मिङ संलग्न रहेको खुलेको छ । ठमेलमा काठमाडौं वान नामको होटल खोलेर बसेका उनीबारे सुन बरामद भएकै दिन प्रहरीले सूचना पाएको थियो । तर उनी श्रीमतीसहित सम्पर्कविहीन छन् ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App