७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपप्रधानमन्त्री गच्छदारसँग आयोगको स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री, राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

आयोगले प्रदेश २ मा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनमा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

उपप्रधानमन्त्री गच्छदार सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताले वीरगन्ज महानगरपालिको चुनाव प्रचारप्रसारका क्रममा २५ वटाभन्दा बढी गाडी र १०० भन्दा बढी मोटरसाइकलमा जुलुस निकालेका थिए । र्‍यालीमा गाडी, मोटरसाइकल प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी आयोगमा उजुरी परेको थियो । 

‘वीरगन्ज महानगरपालिकामा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ (१३) र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ को दफा ४ (क) विपरीत गाडी तथा मोटरसाइकल र्‍याली’ निकाली आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ ।  

‘निर्वाचन आचारसंहिता उल्लंघन भएकाले कारबाही किन नगर्ने ? चौबीस घन्टाभित्र स्पष्टीकरण पेस गर्नू’, आयोगले पत्रमा भनेको छ । 

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका वीरगन्ज मेयर उम्मेदवार विमलप्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घन्टाभित्र स्पष्टीकरण माग गर्ने भन्ने पत्र पठाएको थियो । 

सिँचाइ राज्यमन्त्री पुनले जितपुर, सिमरा, फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने आयोगमा उजुरी आएको थियो । उनलाई पनि स्पष्टीकरण सोधिएको थियो । 

मन्त्रीहरूले निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको स्पष्टीकरण पेस गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । मन्त्री गच्छदारले कार्यकर्ताले भूलबस आचारसंहिता उल्लंघन गरेकाले अबदेखि नगर्ने स्पष्टीकरण आयोगमा दिएका छन् । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरे पनि सामान्य स्पष्टीकरण मागेर औपचारिकता पूरा गर्दै आएको छ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App