coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ठूला नेतालाई ‘वर्चस्वको लडाइँ’

सप्तरी – पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको छ सप्तरीको कञ्चनरुप नगरपालिका । जयप्रकाशप्रसाद गुप्ता (जेपी), हेमराज तातैड, नन्दन दत्तजस्ता पूर्वमन्त्री यहाँकै बासिन्दा हुन् । एमाले सांसद हिरालाल चौधरी, सुमनराज प्याकुरेल, माओवादी केन्द्रका सांसद मानपुर चौधरी, फोरम लोकतान्त्रिकका सांसद डा. सुबोध प्याकुरेलजस्ता नेताको जन्मथलो पनि यही हो । यी हस्तीको वर्चस्वको लडाइँले ‘तीक्तता’ समेत बढाएको स्थानीयको भनाइ छ । 

भ्रष्टाचार मुद्दामा जेल परेका गुप्तालाई कानुनले चुनाव लड्न निषेध गरेको छ । उनैका भाइ दीपक गुप्ता लोकतान्त्रिक फोरमबाट नगरपालिकाको मेयर पदका उम्मेदवार छन् । प्रचारमा प्रत्यक्ष संलग्न नभए पनि यो चुनाव जेपीका लागि ‘वर्चस्वको लडाइँ’ जस्तै भएको उनी निकटकाको टिप्पणी छ। 

जेपी गुप्ता, हेमराज तातैड, सुमनराज प्याकुरले, मानपुर चौधरी, डा. सुबोध प्याकुरेलजस्ता ठूला नेताको संलग्नताले कञ्चनरुप नगरपालिकाको चुनाव एकातिर निकै रोचक बन्न पुगेको छ भने अर्कोतिर यो चुनाव उनीहरूको राजनीतिक वर्चस्वको ‘लडाइँ’ जस्तै भएको छ ।

जेपीमात्र होइन, कञ्चनरुपको चुनाव लोकतान्त्रिक फोरमका अर्का नेता तातैडका लागि पनि प्रतिष्ठाको विषय बन्न पुगेको छ । उनी दीपकलाई चुनाव जिताउन खुलेरै लागि परेका छन् । पछिल्लो पटक संविधानसभा निर्वाचनमा पराजय भोगेका तातैडका लागि राजनीतिक भविष्य संरक्षणको अवसरजस्तै बन्न पुगेको छ यो चुनाव।

लोकतान्त्रिक फोरमबाट समानुपातिक तर्फका सांसद पोखरेलका लागि यसपालिको निर्वाचन एकातिर वर्चस्वको लडाइँ हो भने अर्कोतिर धर्मसंकट पनि । उनकी पत्नी निरु पोखरेल नेपाली कांग्रेसका तर्फबाट कञ्चनरुपके उपमेयर पदकी उम्मेदवार हुन् । पोखरेलका लागि एकातिर पार्टीका उम्मेदवार छन् त अर्कोतिर जीवनसंगिनी । यद्यपि उनी पार्टीकै उम्मेदवाका पक्षमा प्रचारमा सक्रिय छन्। 

पछिल्लो संविधानसभा निर्वाचनमा विजयी माओवादी नेता मानपुर चौधरीका लागि पनि यो चुनाव प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ । एक त चौधरी (थारू) को बाहुल्य भएको ठाउँ त्यसमाथि नातामा मामा पर्ने वंशिधर चौधरी माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार । चौधरी यतिखेर दिनरात चुनावी क्याम्पेनिङमा सक्रिय छन्। 

सप्तरी एमालेमा प्रभावशाली मानिने नेता सुमनराज प्याकुरेलका लागि पनि चुनाव वर्चस्वकै लडाइँ बनेका छ । मधेसका जिल्लामा एमालेको खस्किँदो अवस्थाका बीच गृह नगरपालिकामा आफ्ना उम्मेदवारलाई चुनाव जिताएर पार्टीमा प्रभाव जमाउन सक्ने अवसर उपयोग गर्न चाहन्छन् उनी । एमालेका तर्फबाट पुराना नेता वसन्त मिश्रा मेयर पदका उम्मेदवार छन्।

कुनै बेला कांग्रेसको प्रभाव क्षेत्र मानिने यस भेगमा अझै पनि यो दलका पुराना कार्यकर्ता उल्लेख्य छन् । पहाडे समुदाय र गुप्ता (रौनियार) को उल्लेख संख्या भएको भएको यस नगरपालिकामा कांग्रेसले गुप्ता समुदायबाट मेयर र पहाडे समुदायबाट उपमेयरका उम्मेदवार बनाएको छ । कांग्रेसका तर्फबाट ललनप्रसाद गुप्ता मेयर र निरु पोखरेल उपमेयरमा प्रतिस्पर्धामा छन्। 

संघीय समाजवादी फोरम नेपालले शिक्षण पृष्ठभूमिका सुदम्बर यादवलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै राजपा नेपालले एनजिओ पृष्ठभूमिका माधव चौधरीलाई मेयर पदको टिकट दिएको छ । राप्रपाका तर्फबाट नारायण मिश्रा, बहुजन शक्ति पार्टीका तर्फबाट धुनी महतो र नेमकिपाका तर्फवाट सन्तोष यादव कञ्चनरुप नगरपालिकाको मेयर पदका लागि मैदानमा उत्रिएका छन्। 

यस्तो छ जातीय समीकरण 

गुप्ता, पहाडे बाहुन तथा थारू समुदायका व्यक्ति प्रभावशाली देखिए पनि यस नगरपालिकामा दलित र मुस्लिमको बाहुल्य छ । तर दलित र मुस्लिम समुदायबाट यहाँ प्रमुख पदमा एकजना पनि उम्मेदवार छैन। 

बैरबा, बदगामा, बरमझिया, कञ्चनपुर, जगतपुर, पिप्रा पूर्व, घोघनपुर, धरमपुर, रुपनगर र ठेलियाजस्ता ठूला बस्ती मिलाएर बनाइएको कञ्चनरुप नगरपालिकामा मुसहर, पासवान (दुसाध), सरदार (बाँतर), चौधरी (थारू), राम (चमार), मुस्लिम, यादव, गुप्ता, पहाडे बाहुन, जनजातिलगायतका समुदायको बसोबास छ। 

विपन्न दलित तथा मुस्लिम समुदायको मत अन्तिम समयमा किनबेच हुनेगरेका कारण उनीहरूको राजनीितक वर्चस्व हुन नसकेको दलित अधिकारकर्मी राजकुमार पासवानको भनाइ छ । ‘आर्थिक विपन्नताका बीच चेतनाको अभावका कारण दलित तथा मुस्लिम समुदायको राजनीतिक वर्चस्व कायम हुन नसकेको हो’, उनले भने, ‘संख्यागत रुपमा निकै मजबुत देखिए पनि अन्तिम रातमा हुने पैसाको चलखेलको प्रभाव सबभन्दा बढी यसै वर्गका मतदातामा पर्ने गर्छ।’

प्रकाशित: २६ भाद्र २०७४ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App