७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

जाजरकोट–स्कटल्याण्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन्। ‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन्।

उक्त संस्थाले ‘ए’ लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन लिएर नेपाल, भारत, म्यानमार, दक्षिण अमेरिका, अफ्रिका, मलेसियालगायत ३६ देशमा ३०० स्वयंसेवक खटाउने गरेको छ। ट्रस्ट युकेले बेलायत र फ्रान्सका स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाजसेवामा खटाउने गरेको हो।

ट्रस्टले नेपालमा अंग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ। चार वर्षदेखि बागलुङ, रुकुम, म्याग्दी, प्यूठान र मुस्ताङका विद्यायलमा स्वयंसेवी शिक्षक पठाउँदै आएको उक्त संस्थाले यस वर्षदेखि जाजरकोटमा पनि सेवा शुरु गरेको हो।

संस्थाको सहयोगमा नेपालका छ जिल्लाका १२ विद्यालयमा २४ स्वयंसेवी शिक्षक पुगेका छन्। स्वयंसेवकले विद्यार्थीलाई अंग्रेजी विषयको गुणस्तर वृद्धिमा विशेष जोड दिने प्रोजेक्ट ट्रस्ट युकेका नेपाल प्रतिनिधि डा शान्तराज शर्मा न्यौपानेले बताए।

स्वयंसेवी शिक्षकका रूपमा गएका अन्य जिल्लाका विद्यालयको शैक्षिक गुणस्तरमा निकै सुधार भएकाले अभियान प्रभावकारी भएको डा न्यौपानेको ठम्याइ छ। शिक्षा मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। स्वयंसेवकले त्रिभुवन माविमा ६ देखि ८ कक्षासम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय अध्यापनमा सहयोग पुर्‍याउने छ।

स्वयंसेवी शिक्षक लुइसले भूगोलमा पिएचडी गरेर वातावरण संरक्षणको अभियानमा लाग्ने लक्ष्य लिएको बताए। अर्का ग्रेफले भने स्नातकमा जीव विज्ञानको अध्ययन गरेर डाक्टर बन्ने लक्ष्य सुनाए। रासस

प्रकाशित: २५ भाद्र २०७४ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App