coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीयको अवरोधले चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

काठमाडौं—चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।

कुल लम्बाई ११.४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय बासिन्दाको अवरोधका कारण ६.२० किलोमिटरमा कुनै काम हुन सकेको छैन भने ५.२६ किलोमिटर सडकमा आंशिक अवरोध भएको, कतै केही काम भएको र कतै काम नभएको आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिए।

आयोजनाले ५५५ बिजुलीका पोल, २७ ट्रान्समिटर, २२० टेलिफोनको पोल, १७ टेलिकम क्याबिनेट, ४७८ रुख र ५६१ घरटहरा हटाउनुपर्नेमा हालसम्म जम्मा ११७ घरटहरा मात्र हटाएको र अरु सबै यथावत रहेकाले काम गर्न समस्या परेको छ।

चाबहिल–साँखु सडकखण्डको निर्माणमा ढिलाइ भएपछि आज सडक विभागका महानिर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतको टोलीले उक्त सडकको निरीक्षण गरेको छ।

निरीक्षणपछि विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सडक अवरोध नभएका स्थानमा तत्काल काम गर्न आयोजना र सम्बन्धित ठेकेदारलाई निर्देशन दिए। 'अवरोध नभएका ठाउँमा काम गर्दै जानुहोस्, अवरोध भएका ठाउँमा हामी सम्बन्धित पक्षसँग बसेर अवरोध हटाउने काम गर्छौं', महानिर्देशक सिग्देलले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले वाटो विस्तार रोकिँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको भन्दै सम्बन्धित पक्ष बसेर यसको समाधान चाँडो गर्नुपर्ने बताए।

उक्त बाटो विस्तार नहुँदा काठमाडौँको साँखु, भोटेचौर, सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा आवतजावतमा समस्या परेको छ। रासस

प्रकाशित: २५ भाद्र २०७४ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App