coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

साइकलमा घुमफिर

तेह्रथुमको श्रीजुङ घर भए पनि धरान १० नारायणचोकमा बस्दै आएकी २२ वर्षीया आशा लिम्बू पुतलीलाइनस्थित कामना बेकरीमा आंशिक जागिरे छिन् । उनीसँग साधारण साइकल छ । त्यही साइकलमा घरबाट बेकरी आउजाउ गर्छिन् । साइकल चलाउनु उनको बाध्यता होइन, साइकल यात्रा उनलाई मनपर्छ । कामबाट फुर्सद पाउनासाथ उनी साइक्लिङमा निस्कन्छिन्, साइक्लिस्ट दाइहरुसँग । त्यसबेला उनीसँग आफ्नो साइकल हुँदैन, दाइहरुले उनका लागि माउन्टेन बाइक व्यवस्था गरिदिन्छन् । फुरुङ्ग हुँदै उनी दाइहरुसँगै पाइडल मार्दै घुमफिरमा निस्कन्छिन् । उनी पछिल्लो पटक धरानबाट चतरासम्म ‘बोलबम राइड’मा गइन् । आशा भन्छिन्, ‘साइकल चलाउन मनपर्छ, दाइहरुसँग समूहमा साइक्लिङ जाँदा बेग्लै रमाइलो हुन्छ, नयाँ ठाउँमा पनि पुगिन्छ ।’
धरान १५ का सायमन श्रेष्ठ र धरान १३ का ओसम राई पनि साइक्लिङ भनेपछि हुरुक्कै हुन्छन् । दुवैको उमेर १३ वर्ष मात्र हो । सायमन कक्षा ७ र ओसम कक्षा ८ मा पढ्छन् । दुवैसँग माउन्टेन बाइक छ । बिदाका दिन यी जुनियर राइडर्स पनि साइक्लिङमा निस्कन्छन् । उनीहरु धरानभित्रै नियमित सिटी राइड गरिरहेका हुन्छन् तर अलि फुर्सद हुँदा अलिक टाढा पानबारी, तरहरा, बक्लौरी र चतरासम्म पनि पुगिरहेका हुन्छन् । परीक्षाको समयमा मात्र उनीहरुलाई साइकलमा डुल्न घरबाट कडाइ छ । ‘हामी नराम्रो काममा हिँड्दैनौँ, त्यसैले परीक्षा आउँदा मात्र जान दिनुहुन्न,’ सायमन भन्छन्, ‘अरुबेला साइक्लिङ जान रोक्नुहुन्न, घुम्न पाउँदा रमाइलो लाग्छ ।’
आशा, सायमन र ओसम धरानका पछिल्लो पुस्ताका प्रतिनिधि पात्र हुन्, जो साइक्लिङ गर्न असाध्यै रुचाउँछन् । केही वर्षअघिसम्म माउन्टेन बाइक चलाउनेको संख्या न्यून थियो । साइकल चलाउने युवालाई खिसीको दृष्टिले हेरिन्थ्यो । अचेल खिसी गर्ने युवाहरु नै माउन्टेन बाइक किन्न थालेका छन् र साइक्लिङमा धरान आसपासको डाँडाकाँडा, गाउँघरतिर पुग्छन् । माउन्टेन बाइक नभएकाहरु पनि भाडामा प्याकेजमा घुम्न निस्कन्छन् र प्रतिदिन यो संख्या बढिरहेको छ । उमेर र पेशा, व्यवसायको छेकबार छैन । के किशोर, के युवायुवती, पाका हुन् कि डाक्टर, व्यापारी होऊन् या इञ्जिनियर, विद्यार्थीसमेत साइकलमा डुल्न निस्कन्छन् । यस क्रम बढेसँगै धरानमा विभिन्न ब्रान्डका माउन्टेन बाइक बिक्री केन्द्र खुल्ने क्रम बढ्दो छ । साइकल संघ वा समूह पनि गठन भइरहेको छ । तिनै बिक्री केन्द्र र संघ, समूहले पनि साइक्लिङ प्रर्वद्धन गर्न हरेक साँझमा सिटी राइड गराउँछन् भने सातामा एक दिन धरानबाहिरको गन्तव्यतिर लैजान्छन् ।
‘पछिल्लो युवापुस्ताहरु साइक्लिङमा आकर्षित हुँदैछन्, यो खुसीको कुरा हो । साइक्लिङ मानिसको स्वास्थ्य र वातावरणसँग मात्र जोडिएको छैन, साहसिक खेल र पर्यटनसँग पनि सम्बन्धित छ,’ सुनसरी जिल्ला साइक्लिङ एसोसिएसनका उपाध्यक्ष राजन लिम्बू भन्छन्, ‘काठमाडौँ, पोखरापछि सुनसरीको धरानमा नै धेरै साइकिले छन् र नियमित साइकिले यात्रामा जान्छन् ।’ जुनियर राइडर्स रमाइलो गर्न, युवाहरु एड्भेञ्चर र स्पोर्टसको लागि साइक्लिङमा जान्छन् भने पाका उमेरकाहरु सोख एवं स्वास्थ्यका लागि साइक्लिङ गर्ने लिम्बूको भनाइ छ । उनी आफैँ पनि डेढ दसकयता नियमित साइक्लिङमा छन् । उनी साइकलमा मनाङ, मुस्ताङ, गोर्खा, पोखरा, लुम्बिनी,  इलामको सन्दकपुर हुँदै भारतको दार्जिलिङ, सिक्किमसम्म पुगिसेका छन् । प्रायः एक्लै साइकलमा डुल्न जाने उनी दुई वर्षयता भने समूहको नेतृत्व गर्न थालेका छन् ।


साइकल पर्यटन र टुर प्याकेज
स्वस्थ रहन मद्दत पुग्ने र रमाइलो पनि हुने भएपछि अचेलका सहरिया साइक्लिङमा आकर्षित हुन थालेका छन् । डाँडापाखामा हुने साहसिक यात्राले पनि युवाहरुको ध्यान आकर्षित गरेको हो । नयाँ ठाउँमा साइक्लिङमा जाँदा विविध प्रकृति र संस्कृतिसँग पनि घुलमिल हुन पाइन्छ । त्यसैले माउन्टेन बाइक हुनेहरु आफ्नैमा र नहुनेहरु भाडामा लिएर भए पनि घुमघाममा निस्कन्छन् । त्यसैले धरानमा केही वर्षमा माउन्टेन बाइक सो रुम धमाधम खुलेका छन् । ती सो रुमले धरान आसपासका पर्यटकीय गन्तव्य र अन्य जिल्लालाई पनि लक्षित गरेर टुर प्याकेज बनाएका छन् । धरान घुम्न आउने विदेशी ती प्याकेजमा जान्छन् । सौखिन धराने युवाहरु पनि जान थालेका छन् । यसले ग्रामीण पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको छ । धराने युवाहरुको साइक्लिङ अभियानले इटहरी, विराटनगर, झापाको दमकका युवाहरु पनि तातिएका छन् । यसले समग्रमा घुमफिरको बानी बसाल्ने र नेपालको पर्यटनमा योगदान पुर्याउने साइक्लिङ धरानका सचिव एवं टस्क माउन्टेन बाइक स्टोरका साइक्लिस्ट कृष्ण केसी बताउँछन् । उनी भन्छन्, ‘थुप्रै टुर प्याकेज बनाएका छौँ, ती गन्तव्यमा समूह बनाएर पुग्छौँ, रमाइलो पनि हुन्छ । साइकललाई पर्यटनसँग जोड्न सकेका छौँ । यसमा खुसी लागेको छ ।’
केसी आफैँ पनि नियमित रुपमा साइकलमा घुम्न गइरहन्छन् । उनी २०७३ कात्तिकमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. समीर चौधरीसँग मुगुको रारा तालसम्म १४ दिनको ट्रिपमा गएका थिए । यस्तै दुई पटक भारतको सिक्किम पुगिसकेका छन् भने संखुवासभाको गुफापोखरी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा हुँदै दुई पटक साइकलमा फन्को मारिसकेका छन् ।
साइकल अभियन्ताहरुका अनुसार धरानबाट एक दिनदेखि हप्ता दिनसम्मको साइकल टुर प्याकेज तयार छ । धरानबाट कोसी टप्पु, चतरा हुँदै बराहक्षेत्रसम्म, भेडेटार हुँदै धनकुटाको डाँडाबजार–राजारानीसम्म, भेडेटार पाथिभरा मन्दिर आहाले हुँदै धरान आउने चुरे महाभारत ट्रेल, धरानबाट मोरङको वेतना सिमसार, जंगल सफारी हुँदै अमाह सिमसार, रास ताल लगायत थुप्रै गन्तव्यका प्याकेज छन् । ती प्याकेजमा युवा विद्यार्थी, बैंकका कर्मचारी, विभिन्न संस्थाका सदस्यहरु साइक्लिङ जान्छन् । बेलाबखत हुने प्रतियोगिताले पनि युवाहरुलाई साइक्लिङ मोह बढाइरहेको छ ।


धरान बाइकिङ क्लब खोलेर साइक्लिङको सुरुवात गर्नेमध्येमा पर्छन्, फरेन लिम्बू । हाल धरान १० सैनिक चोकमा अन्य साइक्लिस्टसँग मिलेर हाउस अफ बाइकर्स (एचओबि) खोलका लिम्बू साथीहरुसँग गुफापोखरी, पाथिभरा हुँदै सात दिनको राइड गइसकेका छन् । यस्तै लुम्बिनी, पोखरा, काठमाडौँमा पनि साइक्लिङमा गएको उनको अनुभव छ । ‘सहरिया युवाहरु साइकलमा घुम्न जाने चलन फेसनका रुपमा उदाएको छ । साइकल चलाउन ठूलो पक्की बाटो चाहिँदैन, भीरपाखा, उकालो ओरालो र मान्छे मात्र हिँड्नसक्ने सिंगल ट्र्याकमा पनि चलाउन सकिन्छ,’ उनी भन्छन्, ‘नेपालको भूगोलअनुसार साइकल पर्यटनको प्रचूर सम्भावना छ । युवा र विद्यार्थी साइकलमा घुम्न थालेका छन्, विदेशीहरु पनि जान्छन् ।’
साइकल सिटीको सपना
धरानमा वि.सं.२०१० सालदेखि ब्रिटिस आर्मीको भर्ती केन्द्र खुलेको हो । त्यसपछि नै धरानमा माउन्टेन बाइक गुड्न थालेको जानकारहरु बताउँछन् । साइक्लिङ संघका उपाध्यक्ष लिम्बूका अनुसार ब्रिटिस क्याम्पमा गोरा र ब्रिटिस आर्मीमा भएका सिंगापुरे, ब्रिटिस लाहुरेहरुले बिएमएक्स र माउन्टेन बाइक चढ्थे । ब्रिटिश क्याम्प धरानबाट हटेपछि केही धरानेले मात्र काठमाडौँबाट माउन्टेन बाइक झिकाए । पछिल्लो आधा दसकयता भने धरानको सडकमा थुप्रै माउन्टेन बाइक गुड्न थालेका छन् । ब्रिटिस क्याम्पबाट सुरुवात भएको माउन्टेन बाइकिङलाई युवाहरुले साहसिक खेल पर्यटनसँग जोड्दै साइकल सिटी अभियान पनि चलाइरहेका छन् । ‘धरानलाई साइकल सिटी बनाउने अभियान हो,’ लिम्बू भन्छन्, ‘सडकहरु साइकलमैत्री बनोस्, र साइक्लिङको लागि रेस ट्र्याक बनोस् भन्ने चाहना छ ।’
युवाहरु साइकल सिटीको अभियानलाई मूर्तरुप दिन विभिन्न अवसर पारेर र्याली निकाल्छन् । साइक्लिङले व्यक्तिको स्वास्थ्यलाई मात्र फाइदा पुग्दैन, पर्यावरण पनि जोगिन्छ । दुर्घटनामा ज्यान जाने जोखिम कम हुन्छ भने सहरमा ट्राफिक जाम कम हुने साइकल सिटीका अभियन्ताहरु बताउँछन् । साइक्लिङ धरानका सचिव केसी भन्छन्, ‘एउटा कार अट्ने ठाउँमा १० वटा साइकल अट्न सक्छ, त्यसैले साइकल सिटीको अभियानलाई पनि अघि बढाएका हौँ । हरेक मानिससँग साइकल होस् भन्ने हाम्रो सपना छ ।’
साइकल सिटी अभियान धरानबाट विस्तार हुँदै विराटनगर, दमकसम्म पुगेको छ । त्यता पनि साइक्लिङ गर्नेहरुको जमात बढ्दो छ । विराटनगरमा त डा. राजीव श्रेष्ठको अध्यक्षतामा १५ जनाको साइकल सिटी विराटनगर समूह गठन भइसकेको छ । यस टोलीले सुनसरीको कोसी टप्पु, शान्तिवनतिर राइड गरिसकेको छ ।

साइक्लिङ गर्दागर्दै व्यवसायी
रमाइलोका लागि साइक्लिङ गर्दागर्दै धरानका युवाहरु व्यवसायीसमेत बनेका छन् । उनीहरु आफैँले विभिन्न ब्रान्डको सो रुम खोलेर प्याकेज टुरसँगै माउन्टेन बाइक पनि बिक्री गर्छन् । धरानमा सबैभन्दा पहिला २०११ तिर साइक्लिङमा आकर्षित भएका भूपेन गुरुङ, आशीष श्रेष्ठ र फरेन लिम्बू मिलेर इस्टर्न ट्रेल स्टोर खोलेका थिए । केही महिनाअघिसम्म यो सञ्चालनमा थियो ।


इस्टर्न ट्रेलबाट छुट्टिएर फरेनले राइडर्स एन्ड एमटिबी जोन खोलेर एक्लै माउन्टेन बाइक र टुर प्याकेजको व्यापारमा लागे । उनले व्यापारसँगै साइक्लिस्टका लागि राइडर्स एन्ड एमटिबी जोन क्लब पनि खोलेका थिए । त्यही क्लबका सदस्य हेम लिम्बू, डा. समीर चौधरी र कृष्ण केसी मिलेर २०१३ ग्रिन विह्ल्स नामक नयाँ माउन्टेन बाइक सो रुम खोले । जुन अहिले बन्द भइसकेको छ । पुनः २०१५ मा डा. समीर र कृष्ण मिलेर टस्क माउन्टेन बाइक स्टोर सञ्चालनमा ल्याएका छन् भने राइडर्स एन्ड एमटिबी जोनका फरेन लिम्बू, बन्दन राई र राजन लिम्बू मिलेर ९ महिना अघिदेखि हाउस अफ बाइकर्स (एचओबी) सञ्चालनमा ल्याएका छन् । ती सो रुममा कम्तीमा ४० हजारदेखि ३ लाख रुपैयाँ बढीका विभिन्न ब्रान्डका माउन्टेन बाइक बिक्रीमा छन् ।

प्रकाशित: २५ भाद्र २०७४ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App