coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'अजितको सुनियोजित हत्या'

काठमाडौं- काभ्रे होक्सेका अजित ढकाल मिजारको आत्महत्या नभई सुनियोजित हत्या  भएको निश्कर्ष सार्वजनिक गरेको छ। गत असार २९ गते घरनजिकै तामाघाटबाटै बेपत्ता भई ३० असारमा धादिङको गजुरीमा उनको शव फेला परेको थियो। शव बारे गजुरी प्रहरीले आत्महत्या भएको वेवारिसे शव भन्दै गाडेको थियो।

घटनाबारे स्थलगत अध्ययन गरी फर्केको पाँच सदस्यीय टोलीले सो निश्कर्ष निकालेको हो। समता फाउण्डेशनको संयोजकत्वमा विभिन्न पाँच दलित गैरसरकारी संस्था सहितको अनुगमन टोलीले अजितको सुनियोजित हत्या भएको निश्कर्ष बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

अध्ययन प्रतिदनले विभिन्न तुलनात्मक तथ्य अघि सारी मिजारको सुनियोजित हत्या भएको र दोषीउपर कारबाही हुनुपर्ने जनाएको छ। असार २९ गते बेपत्ता भएकै दिन मिजारले ठूलीआमालाई गरेको फोनमा आत्तिएर 'ठूली आमा'भन्ने बित्तिकै फोन खोसेर गीतको आवाज बजाईदिनु ,सोही दिन राति अजितको दाई दिपेन्द्रले सोही नम्बरमा फोन गर्दा गीतको आवाजमात्र सुनाइदिनुजस्ता सुरुका घटनाहरु नै सुनियोजित हत्याको प्राम्भिक शृङ्खला भएको जनाएको छ।

अजितको शव फेला परेको स्थानका अन्य तथ्यले पनि आत्महत्या नभएको पुष्टि भएको जनाए। शवको घाँटीमा बाँधिएको डोरी ट्रकको त्रिपालको हुनु, भुइँमा खुट्टा लत्रयाएर झुण्डिनु, काठमाडौंभन्दा पर कहिल्यै नपुगेका अजित धार्दिङ पुगेर झुण्डयाइएको अवस्थामा फेला पर्नु, झुण्डयाइएको डोरी अजितको घाँटीमा कसिएको अवस्थामा नहुनु, घरबाट हिँड्दाको दिन साथमा ५० रुपैंयामात्र भएका र तामाघाटसम्म जाने भनेका अजितको शव वरिपरि हजारौं रुपैयाका रक्सीका बोटलहरु भेटिनुजस्ता पक्षले घटना नमिल्दो भएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।

बिहानपख भेटिएको शव सम्बन्धित व्यक्तिलाई बुझाउन खोज्नुको सट्टा अन्त्येष्टि गर्नु, भरपर्दो पोष्टमार्टको सट्टा स्थानीय स्वास्थय चौमीमै भर पर्नु,  असार २५ मा अन्तरजातीय विवाह भएको दिनदेखि नै अजित र अजितको परिवारलाई विभिन्न नयाँ र पुराना नम्बरबाट धम्की आउनु, शवको पोष्टमार्टमा प्रक्रिया बलियो नहुनु। बेपत्ता हुनुको दिन साथमा ५० रुपैयाँमात्र बोकेका अजित १ सय ५० किलोमिटर टाढा शव भेटिनु, बेपत्ता भएकै भोलिपल्ट बिहानै धादिङको गजुरीमा शव भेटिनु लगायतका शिलशिलाले अजितको सुनियोजित हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

घटनास्थल र प्रहरी चौकी नजिकैको दूरीमा हुँदा पनि घटनाबारे प्रहरी बेखबर हुनु,घटनाको दिन डियुटीमा रहेको प्रहरीको नाम टोलीलाई चौकीले बताउन नचाहनु र त्यो दिनको डियुटी पुस्तिका अस्पष्ट हुनु, अजितको मृत्यु रहस्मय भएको प्रतिवेदनको निश्कर्ष छ।

अजितको मृत्यु सुनियोजित नै भएको भन्दै उनीहरुले राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानवअधिकारले छिटो भन्दा छिटो दोषी उपर कारबाही गर्न पहल गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्नु पर्ने लगायतका माग अघि सारेको छ।

साउन २ गते गाडेको शव निकाले लगत्तै मृत्यु शंकास्पद लागेपछि अजितको परिवारले दोषीउपर किटानी जाहेरी दिएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगर्नुले हत्या थप रहस्यमय भएको प्रतिवेदन टोलीले जनाएको छ। हत्या अन्तरजातीय विवाहकै कारण भएको र जातीय भेदभावको कारण दलित समुदायको बाँच्न पाउने अधिकार, आत्मसम्मान, मानवीय मर्यादा, अविभेद्, न्याय, समानताजस्ता मानवअधिकारका मूलभुत सिद्धान्त विपरितको कार्य देखिएको जनाएको छ। 'मूलुकी ऐन ज्यान सम्वन्धी महलको विपरितको कार्य समेत भएकोले दोषीलाई हदैसम्मको कानुनी कारबाही र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको पहल गर्न आहवान गरिन्छ' प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १३ श्रावण २०७३ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App