coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पारित भयो सेज नियमावली

काठमाडौं- सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावली लामो समयपछि पारित गरेको छ । मन्त्रिपरिषद्बाट नियमावली पारित भएसँगै सेज सञ्चालनमा थप सहज हुनेछ । सेज ऐनका प्रत्येक बुँदा कार्यान्वयन गर्न नियमावली आवश्यक थियो । सेज ऐन पोहोर भदौमा व्यवस्थापिका संसदबाट पारित भएको थियो ।

‘हप्ता दिनअघि सेज नियमावली पारित भएको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘अब सेज ऐनमा उल्लेख भएका प्रावधान लागू गर्न सहज हुनेछ ।’ सेज ऐनमा निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न पाउने उल्लेख छ । उक्त प्रावधान कार्यान्वयन गर्न नियमावलीले सहज बनाएको भट्टले बताए । त्यसैगरी, सेजमा उद्योग दर्ता, कर लगायत एकद्वार सेवा दिन पनि यसले सहयोग पु¥याउने छ ।

सेज नियमावली पारित भएसँगै मुलुकभर बन्न लागेका दर्जनभन्दा धेरै सेजमा काम गर्न सजिलो पर्ने प्राधिकरण्को भनाइ छ । प्राधिकरणले सातवटै प्रदेशमा सेज निर्माण गर्ने काम अघि बढाएको छ । सातवटै प्रदेशमा सेज निर्माण गर्ने काम अघि बढाएको र त्यसमध्ये पनि तीनवटालाई प्राथमिकतमा राखेर काम गरिरहेको प्राधिकरणको भनाइ छ ।

भट्टका अनुसार भैरहवा, सिमरा र पाँचखालको सेजलाई प्राथमिकतमा राखेर काम भइरहेको छ । सबै सेज एकैपटक सुरु गर्न खोज्दा आर्थिकदेखि अन्य बोझ हुने भएकाले पहिला तीनवटा सञ्चालनमा ल्याएर त्यसको अनुभवका आधारमा अन्यमा काम गर्ने सोच प्राधिकरणको छ ।

दुई महिनापछि भैरहवा सेज सञ्चालन हुने

१९ वटा उद्योग स्थापना गर्न प्राधिकरणसँग सम्झौता भइसकेको भैरहवा सेज सञ्चालन अबको दुई महिनापछि हुने भएको छ । अन्य सबै भौतिक पूर्वाधार तयार भए पनि विद्युत् अभाव हँुदा त्यहाँ उद्योग सञ्चालन हुन सकेको थिएन ।

‘अबको दुई महिनापछि उद्योग सञ्चालन हुने निश्चित भएको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘दुई महिनाभित्रमा सेजमा बिजुली आउने भएको छ ।’ प्रधानमन्त्रीस्तरीय बैठकमा भैरहवा सेजमा दुई महिनाभित्र विद्युत् पु¥याउने निर्णय भएको भट्टले बताए । विद्युत् अभावले उद्योग सञ्चालन हुन नसकेको भन्दै प्रधानमन्त्री सहितको बैठकले दुई महिनाभित्र विद्युत् पु¥याउने निर्णय गरेको भट्टले बताए ।

उक्त क्षेत्रमा डेडिकेटेड फिडरबाट १५ मेगावाट बिजुली उपलब्ध गराइने छ । विद्युत् उपलब्ध नहँुदासम्म कुनै पनि उद्योग चल्न नसक्ने भएपछि सरकारले विद्युत्लाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा १९ वटा उद्योगसँग सम्झौता भएर दर्ता प्रक्रिया सुरु भइसकेको छ । १९ वटा उद्योगले उक्त सेजमा झन्डै सात अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरिसकेका छन् ।

औद्योगिक क्षेत्र भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र भारतको नयाँ दिल्लीसँग हजार किलोमिटर दुरीमा छ । ३६ हेक्टर जमिनमा फैलिएको यो सेज कानपुर, हरियाणालगायत प्रदेशनजिक पर्छ भने लखनउ र गोरखपुर क्रमशः चार सय र ९५ किलोमिटर दुरीमा पर्छन् ।

सेजको अवधारणा नै उत्पादित वस्तु निर्यात गर्नु हो । नेपालमा स्थापना गर्न लागिएका केही विशेष आर्थिक क्षेत्र भारत नजिक छन् । जसको प्रमुख बजार केन्द्र भनेको नेपालका सिमानामा जोडिएका भारतीय बजार हुन् ।

भैरहवा सेजको प्रमुख निकासी केन्द्र नै भारत हो । नेपालसँग जोडिएको सुनौली नाका केही किलोमिटर मात्र पर छ । भैरहवाको सेज सञ्चालन गर्न सके यस क्षेत्रको सबैभन्दा ठूला बजार नै भारत हुने व्यवसायी बताउँछन् ।

यो क्षेत्रमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने प्रावधान छ । उत्पादकले २५ प्रतिशतभन्दा धेरै उत्पादन नेपालको आन्तरिक बजारमा बिक्री गरेमा केन्द्रीय कार्यालयले जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था छ ।

प्रकाशित: २५ भाद्र २०७४ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App