७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाली टोलीको एसिया कप लक्ष्य

मलेसिया- एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आयोजना गरेको एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोटमा नेपालले सोमबार थाइल्यान्डविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्दै छ । प्रतियोगिताजस्तै पहिलो पटक नेपाली यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उपाधि जित्दै एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको बताएका छन् ।

‘यो प्रतियोगिता खेल्न पाएकोमा सबै खेलाडी उत्साहित छन् । हामीले धेरै मिहिनेत पनि गरेका छौं,’ राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कप्तान ऐरीले थपे, ‘राम्रो क्रिकेट खेल्दै अघि बढ्न चाहन्छौं ।’

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले थाइल्यान्डविरुद्ध क्लब ओमानमा खेल्नेछ । बुधबार भुटानसँग दोस्रो तथा बिहीबार किन्नरा ओभलमा सिंगापुरविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ । शुक्रबार मलेसिया आइपुगेको नेपाली टोलीले शनिबार किन्नरा ओभलमा अभ्यास थालेको छ ।

प्रतियोगिताको समूह ‘बी’ मा आयोजक मलेसिया, चीन, हङकङ र म्यानमार रहेका छन् । दुवै समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान बनाउनेछन् । फाइनल पुग्ने २ टोलीले यु–१९ एसिया कपमा स्थान बनाउनेछन् ।

नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासले खेलाडीले आत्मविश्वासका साथ खेले राम्रो नतिजा निकाल्न सकिने बताए । प्रशिक्षक दासले थपे, ‘अन्य टोलीभन्दा नेपालको स्तर राम्रो छ । खेलाडीले आत्मविश्वासका साथ प्रदर्शन गरे भने हामी च्याम्पियन बन्न सक्छौं ।’

शनिबार भएको पत्रकार सम्मेलनमा कप्तान ऐरीले उमेरसमूहका टोलीबाट धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

‘प्रतियोगिताका लागि हामीले राम्रो तयारी गरेका छौं । यसलाई हामीले माथिल्लो स्तरको क्रिकेट खेल्ने ढोकाको रूपमा लिएका छौं । फाइनलमा स्थान बनायौं भने एसिया कपमा छनोट हुनेछौं,’ कप्तान ऐरीले थपे, ‘त्यसैले हामीलाई माथिल्लो स्तरको अनुभव हासिल गर्न यो प्रतियोगिता महत्वपूर्ण छ ।’

नेपाल साउनमा आइसिसी यु–१९ विश्वकप एसियाली छनोट प्रयितोगिताका लागि सिंगापुर भ्रमण गरेको थियो । उक्त प्रतियोगितामा ब्याटिङ चल्न नसकेपछि नेपालको यु–१९ विश्वकप खेल्ने सपना समाप्त भएको थियो । त्यति बेला कप्तानको भूमिकामा रहेका स्पिनर सन्दीप लामिछानेले प्रतियोगिताकै सबैभन्दा धेरै २४ विकेट लिएका थिए । त्यस्तै दीपेन्द्रसिंहले नेपालबाट सबैभन्दा धेरै १ सय ३१ रन बनाएका थिए ।

तथापि त्यति बेलाको टोलीमा केही परिवर्तन गरिएको छ । यु–१६ टोलीका पूर्वकप्तान सुमित महर्जन, अलराउन्डर सन्दीप जोरा, लेग स्पिनर विक्रमकुमार भुसाल र तीव्र गतिका बलर नन्दन यादव टोलीमा समेटिएका छन् । उनीहरूले ब्याट्सम्यान आदिल खान, विकेटकिपर प्रकाश केसी, तीव्र गतिका बलर रिजन ढकाल, बायाँहाते स्पिनर ललितनारायण राजवंशीलाई प्रतिस्थापन गरेका हुन् ।

प्रकाशित: २५ भाद्र २०७४ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App