७ वैशाख २०८१ शुक्रबार
खेल

नाडाल १६औं ग्रान्डस्लाम नजिक

न्युयोर्क- हुँवा मार्टिन डेल पोर्टोको चुनौती चार सेटसम्म चलेको प्रतिस्पर्धामा समाप्त पार्दै राफेल नाडाल तेस्रो पटक युएस ओपन च्याम्पियन हुनबाट एक जितको दूरीमा पुगेका छन् । २०१० र २०१३ का च्याम्पियन ३१ वर्षे स्पेनिस खेलाडीले डेल पोर्टोलाई शुक्रबार ४–६, ६–०, ६–३, ६–२ को नतिजामा पराजित गर्दै करियरमा २३औं पटक ग्रान्ड स्लाम प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरे । १५ पटक ग्रान्ड स्लाम जितिसकेका नाडाल यो वर्ष ग्रान्ड स्लामको फाइनल पुगेको यो तेस्रो पटक हो । फ्रेन्च ओपनमा कीर्तिमानी १० पटक उपाधि जितेका विश्व नम्बर एक नाडालले आइतबारको फाइनलमा ३२औं वरीयताका केभिन एन्डरसनमाथि जित हासिल गरे १६औं स्लाम उपाधि जित्नेछन् ।

५२ वर्षमा पहिलो पटक युएस ओपनको फाइनल पुग्ने क्रममा शुक्रबार स्पेनका पाब्लो कारेनो बुस्टामाथि ४–६, ७–५, ६–३, ६–४ को जित हासिल गरेका थिए । १२औं वरीयताका स्पेनिस खेलाडीमाथि जित हासिल गर्दै पहिलो पटक ग्रान्ड स्लामको उपाधि भिडन्तलाई लायक भएका एन्डरसनले फाइनलमा शीर्ष वरीयताका खेलाडीको सामना गर्नुपर्नेछ ।

२००९ का च्याम्पियन डेल पोर्टोका लागि शुक्रबारको खेल अघिल्लो चरणमा रोजर फेडेररमाथि जित हासिल गर्दाको मिहिनेतका कारण शारीरिक र मानसिक दुवै रूपमा कठिन बनेको थियो । फेडेररलाई चार सेटसम्म चलेको प्रतिस्पर्धामा पराजित गर्दाको थकानका कारण सेमिफाइनलमा उनी स्वाभाविक लय प्रस्तुत गर्न सफल भएनन् । तथापि डेल पोर्टोले युएस ओपन यात्रामा सन्तुष्टि जनाए ।

चार पटकसम्म नारीको शल्यक्रिया गरेपछि डेल पोर्टोको करियर सकिएको अनुमान गरिएको थियो । चोटकै कारण १० वटा ग्रान्ड स्लाममा सहभागिता जनाउन नसकेका डेल पोर्टोले कोर्टमा फर्किन सक्नुलाई नै उपलब्धिका रूपमा बयान गरे । ‘यो स्तरमा फर्किएर प्रतिस्पर्धा गर्नु मेरा लागि अहिले सबभन्दा महŒवपूर्ण थियो । यसले मलाई अझै करियर बाँकी छ भन्ने विश्वास दिएको छ,’ उनले भने, ‘आज नाडालले निकै राम्रो टेनिस खेले । उनी जितको हकदार थिए । उनलाई बधाई छ । तर एउटा ठूलो अवसरबाट चुक्दा मलाई आफंैसँग भने रिस उठेको छ ।’

‘पछिल्ला वर्षहरुमा केही खतरनाक चोटबाट गुज्रिनु परे पनि मेरा लागि यो सिजन अत्यन्तै उत्साहजनक भइरहेको छ,’ अस्ट्रेलियन ओपनको फाइनलमा फेडेररलाई नतिजा सुम्पिँदै २०१७ को सुरुआत गरेका नाडालले भने, ‘मेरा लागि यो वर्ष निकै भावनात्मक रह्यो । म फेरि एकपटक फाइनलमा पुगेको छु, जहाँ मैले अर्को एक उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछु । यो निकै महŒवपूर्ण कुरा हो ।’

शुक्रबार पहिलो सेट गुमाए पनि त्यसपछि रणनीति परिवर्तन गरेका कारण जित सम्भव भएको नाडालको भनाइ थियो । ‘मैले उनको ब्याकह्यान्डमा धेरै खेलेँ । त्यसपछि उनले मबाट त्यहीँ खेलिरहोस् भन्ने चाहेको मैले बुझेँ,’ ग्रान्ड स्लामका खेलमा लगातार १५औं जित हासिल गरेपछि नाडालले भने, ‘मैले त्यसलाई तुरुन्त परिवर्तन गरेँ र त्यसले राम्ररी काम ग¥यो । मैले उनलाई धेरैभन्दा धेरै कोर्टमा चहारेर खेल्न बाध्य पारेँ । केही उनको अनुमानविपरीतका सट खेलेँ । जसका कारण फाइनल पुग्न सम्भव भयो ।’

फाइनलका प्रतिद्वन्द्वी एन्डरसनविरुद्ध नाडालको इतिहास राम्रो छ । उनीविरुद्ध खेलेका सबै चार खेलमा नाडालले जित हासिल गरेका छन् । तर विश्व नम्बर एक खेलाडीले विपक्षीलाई कमजोर नआक्ने बताए ।

‘उनी अत्यन्तै खतरनाक खेलाडी हुन् । यो कोर्टमा उनी राम्ररी खेल्न सक्छन् र उनको सर्विस झेल्न सहज छैन । म उनलाई हामी १२ वर्षको हुँदादेखि चिन्छु,’ नाडालले भने, ‘उनले करियरमा थुप्रै पटक चोटको सामना गर्नुप¥यो । तर उनले जसरी कोर्टमा पुनरागमन गरे, त्यो नयाँ पुस्ताका लागि उदाहरण हो ।’

१९८१ को अस्ट्रेलियन ओपनमा योहान क्रिइकपछि ग्रान्ड स्लामको फाइनल पुग्ने ३१ वर्षे एन्डरसन पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् । युएस ओपनको फाइनलमा भने पछिल्लो पटक १९६५ मा दक्षिण अफ्रिकाका क्लिफ ड्रिस्डाले पुगेका थिए । तर उनी म्यानुअल सान्टानासँग पराजित भएका थिए ।

‘लामो यात्रापछि म यहाँ आइपुगेको छु । यो मेरा लागि निकै महत्वपूर्ण छ,’ नितम्बको समस्याका कारण अस्ट्रेलियन ओपन दौरान करियर नै संकटमा परेका एन्डरसनले भने, ‘त्यसपछि मैले धेरै मिहिनेत गरेको थिएँ । जसका कारण अहिले म टेनिसको सबभन्दा माथिल्लो अवस्थामा पुगेको छु । साँच्चै भन्ने हो भने म फाइनललाई लिएर पूरा नर्भस छु ।’

प्रकाशित: २५ भाद्र २०७४ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App