coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

५५ वर्षमा १२ कक्षा पास

काठमाडौं- अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु (झुमा सुब्बा) । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ वर्षमा आएर पूरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्वितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् ।
विभिन्न परिस्थितिले वाल्यकालमै पढाइ छुटे पनि उनको अध्ययनप्रतिको लगाव यथावतै थियो । अध्ययनलाई निरन्तरता दिने चाहनाकै बीच २०४० सालमा १९ वर्षको उमेरमा इन्जिनियर विजय सुब्बासँग बिहे भयो । बिहेपछिको पारिवारिक जिम्मेवारी र सन्तानको स्याहारसुसारका कारण उनको पढाइ छुट्यो । श्रीमान्ले इन्जिनियरको जागिर छाडेर राजनीतिमा सक्रिय हुन थालेपछि उनको घरायसी जिम्मेवारी र व्यस्तता झन् बढ्यो ।
‘सानैमा पढाइ छोड्नुको पीडाले खुब सताएको थियो । म उचित समयको पर्खाइमा थिएँ । ५० कटेपछि त्यो समय आयो,’ झुमाले नागरिकसँग भनिन् । उनलाई आफ्ना बालबच्चालाई केही सिकाउन नजान्दा नपढ्नुको पीडा बिझेको थियो । राजनीतिमा लागेका पति सांसद बने । त्यसपछि झन् पढाइको अभाव खड्कियो । ‘श्रीमान् सांसद भएपछि विभिन्न स्थानमा जाँदा शैक्षिक योग्यता नहुनुको अभाव खट्किनथ्यो,’ उनले भनिन् ।
क्यान्सरका कारण आमा र मिर्गौला रोगले बुवाको निधन भएपछिको निराशालाई चिर्न उनले पढाइलाई निरन्तरता दिने सोच बनाउँदा उनको  उमेर ५० वर्ष पारि पुगिसकेको थियो ।
पढ्ने सोच बनाएर उनी उपयुक्त शिक्षण संस्थाको खोजीमा लागिन् । त्यस क्रममा उनी पुगिन्, उत्प्रेरणा महिला माध्यमिक विद्यालय । तर त्यहाँ पुग्दा उनलाई स्कुल पढ्न आएकी भन्ने आँट आएन । ‘विद्यालयमा हामीले सुरुमा अरूकै लागि भनेर कुरा ग¥यौं तर नाम भने आफ्नै लेखायौं,’ ५० वर्षको उमेरमा कक्षा २ मा भर्ना हुँदाको अनुभव सुनाउँदै झुमाले भनिन् ।
कक्षा २ को परीक्षामा झुमासँगै भर्ना भएकी साथी फेल भइन् तर झुमा पास भइन् । उनको पढाइ राम्रो भएकाले उनले कक्षा ३ का लागि तीन महिना र ४ नपढी ५ का लागि तीन महिना मात्र पढिन् । त्यसपछि उनले कक्षा ८ को तयारी गरिन् र लगत्तै अर्को वर्ष उनले ८ कक्षाको जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरिन् । एसएलसी तयारी गर्दा उनको उमेर थियो, ५३ वर्ष । ५४ वर्षमा कक्षा ११ भर्ना भएकी झुमाले केही दिनअघि सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा द्वितीय श्रेणीमा उत्तीर्ण भइन् ।
तर उनी अध्ययनलाई यत्तिमै टुंग्याउने सोचमा छैनन्, निरन्तर राख्न चाहन्छिन् । आफ्नो सफलतामा पतिको सहयोग र हौसलाले महŒवपूर्ण भूमिका खेलेको उनी बताउँछिन् । ‘आफन्तजनको हौसला र मेरो लगावले थप अध्ययनका लागि उत्साह पाएकी छु,’ उनले भनिन् । कक्षामा सानासाना नानीबाबुको संगत र सहयोग पाउँदा पढाइमा रुचि बढेको पनि उनको अनुभव छ । ‘धेरै समयपछि पढाइ थाल्दा सुरुमा केही असहज भयो तर बिस्तारै रमाइलो लाग्न थाल्यो,’ उनले भनिन् ।
उमेरका कारण लेख्न, पढ्न भने केही असहज हुने उनको अनुभव छ । उनलाई कतिपय साथीसंगीले बुढेसकालमा के दुःख गरिहेको भन्थे तर उनी यो दुःखमा सुखी छिन् । ‘जीवनमा आफूलाई मन लागेको कुरा गर्न पाउनु सुख पो हो त । यसरी बुढेसकालमै भए पनि पढाइमा सफलता पाउनु  मेरा लागि सबैभन्दा सुख र खुसीको कुरा हो ।’
ज्ञान प्राप्त गर्न उमेर वा अन्य कारण बाधक नहुने झुमाले प्रमाणित गरेकी छिन् । ‘इच्छाशक्ति हुनुपर्छ, ज्ञान प्राप्तिको बाटो सधैं खुला छ,’ उनले भनिन् ।

प्रकाशित: २५ भाद्र २०७४ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App