६ वैशाख २०८१ बिहीबार
राजनीति

एक नम्बर बन्न प्रतिस्पर्धा

काठमाडौं- दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा अधिक उम्मेदवार जिताएर पार्टीको स्थिति मजबुत बनाउन मुख्य दलका शीर्ष नेता मधेस जाने भएका छन् । चुनावी परिणाममा एक नम्बर हुने दाबी गर्दै सबै दलका शीर्ष नेता प्रचारप्रसारका लागि मधेस जान लागेका हुन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र  मधेस केन्द्रित दल राजपा नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरू विजय लक्ष्य लिएर चुनाव हुने प्रदेशमै पुगी रणनीतिसहित अभियान सञ्चालन गर्न लागेका छन् । प्रदेशमा हुने स्थानीय तह चुनावमा एक नम्बर पार्टी बन्न नसके पनि कुनै पनि हालतमा दुई नम्बरभन्दा तल नझर्ने उद्देश्यले ती दलले चुनावी अभियान अघि बढाइरहेका छन् ।  
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कम्तीमा तेस्रो नम्बरमा आउने सोचाइले चुनावी अभियानलाई तीव्रता दिएको छ । पार्टी उपाध्यक्ष गीता रानाले दुई नम्बर प्रदेशमा फोरम लोकतान्त्रिक दोस्रो पार्टी हुने र त्यो नभए तेस्रो भएरै छाड्ने दाबी गरिन् ।
 दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय तहमा विजयी हुने पार्टीको रणनीति रहेको कांग्रेसका नेताहरूले बताए । पहिलो र दोस्रो चरणका चुनावमा पराजय भएको क्षतिपूर्ति दुई नम्बर प्रदेशबाटै गर्ने कांग्रेस नेताको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले दुई नम्बर प्रदेशमा कम्तीमा सय सिट ल्याउने रणनीतिका साथ चुनावी प्रचार तीव्र बनाएको बताए । काग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित पार्टीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका आठवटै जिल्लामा पुग्ने उनले बताए । उनका अनुसार केही शीर्ष नेता मधेसमै रहेका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधि शनिबार जनकपुर गएका छन् । उनी चुनावभर जनकपुरमै रहनेछन् । नागरिकसँगको फोन सम्पर्कमा उनले भने, ‘दुई नम्बर प्रदेशमा कांग्रेस सय सीट ल्याएर पहिलो पार्टी बन्नेछ ।’   
पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पहिलो पार्टी भएपछि हौसिएको एमाले तेस्रो चरणको चुनावमा पनि अघिल्लो परिणामलाई निरन्तरता दिने ध्याउन्नमा छ । एमाले नेता माधव नेपाल केही दिनअघि मधेसबाट काठमाडौं आएका छन् । उनी फेरि मधेस जाने तयारी गरेका छन्  । एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरू दुई नम्बर प्रदेशका सबै जिल्लामा पुग्ने तयारी भएको एमाले नेताहरूले जनाए । केही दिनअघि नै महासचिव ईश्वर पोखरेलको नेतृत्वमा मधेसमा सचिवालय गठन गरिएको छ । पोखरेल दुई नम्बर प्रदेशमै व्यस्त छन् । एमाले नेता शत्रुघन महतोले दुई नम्बर प्रदेशमा एमाले पहिलो पार्टी हुने दाबी गरे । ‘चुनावी लहर हाम्रो पक्षमा छ । हामी पहिलो पार्टी हुन्छौं,’ उनले भने । महतोले भदौको अन्तिम साता पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मधेसका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम तय भएको बताए ।  
राजपाका केही स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेपछि मधेसमा एमाले उत्साहित भएको एमाले नेताको भनाइ छ ।
माओवादी केन्द्रका नेता मातृका यादव, रामचन्द्र झा, रामेश्वर यादव, रामकुमार शर्मालगायत अहिले मधेसमा माओवादीलाई पहिलो पार्टी बनाउने रणनीति बनाउँदै  चुनावमा होमिएका छन् । माओवादीका सबै शीर्ष नेता दुई नम्बर प्रदेशका सबै तहमा पुग्ने नीति पार्टीले बनाएको छ । पार्टीका शीर्ष नेताको सहभागितामा माओवादीले दुई नम्बर प्रदेशका आठवटै जिल्लामा कोणसभा गर्ने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले जनाएका छन् ।
मधेस केन्द्रित दल राजपा, फोरम नेपाल र फोरम लोकतान्त्रिका प्रायः सबै  शीर्ष नेता मधेसमा पुग्ने भएका छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबाहेक सबै पाँचजना सदस्य शनिबार मधेस गएका छन् । एकदुई दिनपछि मधेसका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ठाकुर पनि जानेछन् ।  राजपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसमा पार्टीले चुनावी तयारी तीव्र बनाएको बताएका थिए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादवलगायत शीर्ष नेता अहिले मधेसमै छन् । मधेसमा फोरम नेपाल पहिलो पार्टी हुने रणनीति बनाउँदै सो पार्टीले चुनावी अभियान सुरू गरेको छ ।
 

अझै पार्टी फेर्दै नेता
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दाखिलापछि पनि मधेसमा केही नेताले पार्टी परिवर्तन गरेका छन् । राजपाका महासचिव तथा सांसद जंगीलाल राय एमालेमा प्रवेश गर्ने चर्चा चुलिएको छ । औपचारिक रूपमा एमालेमा प्रवेश नगरे पनि उनी चुनाव  प्रचारका क्रममा  एमालेलाई सहयोग गरेका छन् । एमाले नेता शत्रुधन महतोले जंगीलाल एमालेमा प्रवेश गर्ने तयारी भएको बताए । राजपा महासचिव मनिष सुमनले जंगीलाल राजपामै भएको दाबी गरे ।
। यसअघि उम्मेदावर मनोयन गर्न दिन मात्र राजपका महासचिव विमल श्रीवास्त फोरम लोकतान्त्रिकका प्रवेश गरेका थिए ।  यसैगरी धनुषा कांग्रेसका नेता सुखराया यादव फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाले विहीवार गरेका पत्रकार सम्मेलनमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाका केही नेताहरूले पार्टी छाडेकोमा आफू दुखित भएको भन्दै उनले भने, ‘तर कसैले छाड्दैमा  पार्टीलाई  घाटा हँुदैन,’  उम्मेदवार मनोनय गर्नुको केही दिन अघि पनि मधेसका केही नेताहरूले दल अदल बदल गरेका थिए ।  

प्रकाशित: २५ भाद्र २०७४ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App