८ वैशाख २०८१ शनिबार
राजनीति

जितेर गएपछि नबिर्सिन जनताको खबरदारी

नवराजपुर(सिरहा)- तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मतदाताको घरदैलोमा धाउँदै मत तान्न सक्रिय देखिन्छन् । यति बेला उम्मेदवार मतदातासमक्ष आफ्ना अजेन्डा सुनाउन व्यस्त छन् ।
नवराजपुर गाउँपालिकाका बौएलाल यादव (६०) को घरमा शनिबार उम्मेदवारको व्यक्तित्वदेखि विभिन्न पार्टीले विगतमा गरेका विकास गतिविधिबारे चर्चा चलिरहेको थियो । मत तान्न उम्मेदवारले दिनहुँजसो गर्ने भोजभतेर र आर्थिक प्रलोभनबारे समेत खुला छलफल भइरहेको थियो । पार्टी फेरेर टिकट लिई नोट र भोजकै बलमा मतदाता झुक्याउन आउने उम्मेदवारसँग सचेत बस्नुपर्ने सल्लाह हुँदैथियो । लोभमा परेर भोट दिने जनतापछि खाडलमा पर्छन् । ‘विकास गर्ने, भेदभाव नगर्ने, समाजमा मेलमिलाप कायम राख्ने, ठूला गफ हाँकेर काम केही नगर्नेलाई चुन्नु हुन्न,’ यादवले भने । उनकै भनाइमा थप्दै खुसीलाल यादव (५०) ले पनि दल बदलु (दल परिवर्तन गर्ने) लाई नोट र भोज खुवाएकै भरमा भोट दिन नहुने विचार राखे । ‘उम्मेदवारको व्यक्तित्व मूल्यांकन गनुपर्छ,’ उनले भने, ‘पैसाको खोलो बगाएर चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन ।’
नोट र भोेजको विकृति मौलाउनुमा मतदाता पनि उत्तिकै दोषी रहेको खुसीलालले भने । ‘घरदैलोमा सँगै हिँडेका कार्यकर्तालाई जलखै (नास्ता), पेट्रोल र पैसा नदिए भोलिपल्ट उम्मेदवारसँग हिँड्नै छाड्छन्,’ उनले भने, ‘उम्मेदवारलाई अरुको नखाइदेओस् भन्ने चिन्ता हुन्छ ।’
‘यो गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विश्वमोहन यादवको चुनावी प्रचार सालिन देखिन्छ’, करमनियाका शिवु यादव भन्छन्, ‘उहाँको घरदैलोमा खट्ने कार्यकर्ता प्रचार सकेर समर्थकको घरमा तरकारीच्युरा नास्ता खाएर घर फर्कन्छन् ।’ फजुल खर्च गर्ने, तडकभडक देखाउने, हुनेनहुने सपना बाँड्ने उम्मेदवारलाई यसपालि मतदाताले राम्रै पाठ सिकाउने उनले बताए । ‘यसपालि भोज पनि खान्छन्, पैसा पनि लिन्छन् तर भोट उम्मेदवारको चरित्र र व्यक्तित्वकै आधारमा खसाल्छन्’, उनले भने, ‘नोटको बलमा भोटको मनसुवा पाल्नेलाई मतदाताले चित पारिदिन्छन् ।’
पहिलाको भगवतीपुर तामासुइया, मझौरा र नवराजपुर गाविस मिलेर गाउँपालिका घोषणा भएको नवराजपुरमा कांग्रेसबाट विश्वमोहन यादव, एमालेबाट सुरेन्द्रकुमार यादव, संघीय समाजवादी फोरमबाट शिवउद्गार यादवबीच अध्यक्षका लागि भिडन्त हुने स्थानीय बताउँछन् । पाँच वडा रहेको यो गाउँपालिकामा ९ हजार ५ सय ५७ मतदाता छन् । यादव, साह, चमार, मुसहर समुदायको बसोवास रहेको यो गाउँपालिकामा यादवको बाहुल्य छ ।

भोट लेके भुल न जैह
नवराजपुर गाउँपालिकामा मतदातामाझ पुग्ने उम्मेदवारलाई गाउँका ज्येष्ठ नागरिकले भन्ने साझा भनाइ हो, ‘भोट लेके भुल न जैह (भोट लिएर जितिसकेपछि नबिर्सिहाल्नु ।’ शनिबार कांग्रेस उम्मेदवार विश्वमोहन यादव मत माग्न पुग्दा ज्येष्ठ मतदाताले यसै भनेका थिए । पहिलापहिला नेताहरु जितेर गएपछि फर्केर गाउँ नआउने अनुभव सँगालेका मतदाताले यसो भन्नु स्वाभाविकै भएको यादवले बताए । ‘जनताको मुखिया बनेपछि जनताकै बीचमा रहेर सेवा गर्नेछु’, उनले मतदातालाई सम्झाउँदै भने, ‘जनताको सरकार अब गाउँमै आउँदैछ, म यही सरकारको नेतृत्वका लागि मत माग्दैछु । गाउँमा सरकार आए विकास, रोजगार, न्यायनिसाफ, सिँचाइलगायतका आवश्यकता यहींबाट पूरा हुन्छन्’, उनले मतदातासँग भने, ‘उम्मेदवारलाई राम्ररी जाँचबुझ गरेर मत खसाल्नुहोला ।’
मतदाताको दैलोमा मत माग्न पुगेका उम्मेदवारले मतदाता आकर्षित गर्न विकासलाई प्रमुख अजेन्डा बनाएका छन् । दुई दशकदेखि गाउँको विकास प्रक्रिया अवरुद्ध छ । गाउँको बाटो, पुल, नदी नियन्त्रण, सिँचाइलगायतको विकास खोजिरहेका जनताको इच्छा पूरा गर्न आफू दत्तचित्त भएर लाग्ने यादवको भनाइ छ ।

प्रकाशित: २५ भाद्र २०७४ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App