४ वैशाख २०८१ मंगलबार
राजनीति

जनकपुर उपमहानगरपालिका : मेयरमा १९ जना भिड्दै

बालकृष्ण अधिकारी\सुरेश यादव

जनकपुर- पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरू मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

असोज २ गते हुने स्थानीय चुनावबाट यो उपमहानगरपालिकामा १ सय ३० जना चुनिने छन् । जनअधिकार, आर्थिक विकास र जनकपुरको संवृद्धिलाई चुनावी अजेन्डा बनाएर दलहरू प्रचारमा जुटेका छन् । जनकपुरको नेतृत्व लिन प्रत्याशी बनेका सबैले परिणाम आफ्नो पक्षमा आउने दाबी गरे पनि मुख्य प्रतिस्पर्धा भने कांग्रेस र राजपाबीच हुने देखिन्छ । अन्य दल र स्वतन्त्र उम्मेदवारले कांग्रेस र राजपालाई पछ्याइरहेको स्थानीयको बुझाइ छ । सहरी क्षेत्रमा राजपा र ग्रामीण भेगमा एमालेसँग कांग्रेसले  प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

उम्मेदवारी दर्ताअघि जनकपुरमा राजपा हाबी भए पनि त्यसपछि कांग्रेस बलियो हुँदै गएको जनकपुरका पुराना नेता भरतविमल यादवले सुनाए । ‘अहिलेसम्म हेर्दा प्रतिस्पर्धा दुई दलबीच नै हुने देखिन्छ,’ उनले भने, ‘अन्य उम्मेदवार दुई दलभन्दा केही पछि रहेको देखिन्छ ।’ यो उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी परेको छैन । निर्वाचन इतिहासमै पहिलोपटक कांग्रेसबाट जनकपुरमा विद्रोहीको उम्मेदवारी नपरेको हो । राजपाले कांग्रेस हुँदै आफ्नो पार्टी प्रवेश गरेका जनकपुरकै पूर्वउपमेयर लालकिशोर साहलाई मैदानमा उतारेको छ । उनले कांग्रेसको केही मत काट्न सक्ने बुझाइ छ । साहले २०४९ को निर्वाचनमा कांग्रेस उम्मेदवारविरुद्ध उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । तिनै लालकिशोरविरुद्ध कांग्रेसले मनोज साहलाई प्रमुखको उम्मेदवारमा अघि सारेको छ ।

स्थानीय पत्रकार रामअशीष यादवले संविधान संशोधन नगरी राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागी भएपछि उसप्रतिको आकर्षण घटेको सुनाए । मजबुत र पुरानो संगठनका साथै नयाँ व्यक्तिलाई उम्मेदवार बनाएकाले कांग्रेसको अवस्था पहिलाको भन्दा सुधार भएको सुनाउँदै बागी उम्मेदवारी नपर्नु पनि सकारात्मक संकेत भएको उनको बुझाइ छ । ‘अन्य दलको भन्दा कांग्रेसको संगठन पनि मजबुत छ र बागी उम्मेदवारी पनि नपरेकाले राजपाले लुज गर्न सक्छ,’ उनले भने, ‘तर, उम्मेदवारी दर्ताका दिनको जुलुस र सहभागिता अन्य दलहरूको पनि कम थिएन ।’

विद्रोही उम्मेदवारका लागि उर्वर भूमिजस्तै बनेको जनकपुरमा सधैं कांग्रेसका विद्रोही उम्मेदवारले जित्दै आएका छन् । यसअघि यहाँ स्थानीय निकायमा कांग्रेसबाट विद्रोह गर्दै मैदानमा उत्रिएका वृषेशचन्द्र लाल, बजरंग साहले चुनाव जितेका थिए ।

कांग्रेसभित्रको दुई लाइन संघर्षका कारण यहाँ टिकट नपाउने पक्षले विद्रोह गर्ने परम्परा २०१५ साल देखिकै भएको सुनाउँदै धनुषा कांग्रेसका सभापति रामसरोज यादवले यसपटक कुनै विवाद नरहेको दाबी गरे । ‘२०१५ सालपछि पहिलोपटक यहाँ पार्टीका तर्फबाट बागी उम्मेदवारी परेको छैन । जातीय आधारमा पनि विभाजित हुने अवस्था छैन,’ उनले भने, ‘हामी बहुसंख्यक वडासहित जनकपुरमा जित्छौं ।’

निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने विश्लेषणसहित प्रमुख दलले साहलाई नै अघि सारेका छन् । साहको बाहुल्य रहेको जनकपुरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन् । प्रमुख राजनीतिक दलमध्येबाट साहबाहेक अन्य समुदायबाट उम्मेदवारी दिएको भए साह समुदायको मत विभाजित हुँदा अर्को पक्षले त्यसको फाइदा उठाउन सक्ने सम्भावना अन्त्य भएको छ । यहाँ साहपछि झा र यादव अधिक छन् ।

स्थानीय तहको पुनर्संचरना र जनकपुरलाई उपमहानगरपालिका बनाइँदा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन् । ग्रामीण भेगका मतदाता सहर बजारका भन्दा फरक हुने भएकाले त्यसले पनि चुनावी परिणामलाई प्रभावित गर्न सक्छ ।

सहरी वडामा कांग्रेस मजबुत रहेको र थपिएका भागमा पनि पार्टी संगठन राम्रो रहेको उनले जिकिर गरे । ‘ग्रामीण भेगमा एमाले र सहरी क्षेत्रमा राजपा हामीसँग प्रतिस्पर्धामा छ । त्यसले कांग्रेसलाई अझ सहज बनाएको छ,’ उनले भने, ‘छ दल मिलेर गठन भएको राजपा ग्रामीण क्षेत्रका वडामा तेस्रो ÷चौथो स्थानमा हुनेछ ।’

नगरपालिका हुँदा १६ वडामात्र रहेको जनकपुरमा हाल २५ वटा वडा छन् । थपिएका नौ वडामा लोहना, महुवा, कनकपट्टी, कुर्था, बसबिट्टी, देवपुरा, जमुनियासहितका साबिक गाविस छन् ।

राजपा केन्द्रीय सदस्य परमेश्वर साहले जनकपुरमा राजपाको जित निश्चित रहेको दाबी गरे । प्रतिस्पर्धामा कांग्रेस नै रहेको सुनाउँदै उनले भने, ‘एमाले र माओवादीको यहाँ बेस पनि छैन । संघीय समाजवादी, फोरम लोकतान्त्रिकको त कुरै भएन ।’

संघीय समाजवादी फोरम नेपालका प्रचार संयोजक ज्ञानेन्द्र यादवले चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि आफ्नै दलले जित्ने दाबी गरे । ‘मधेसी जनताका हकअधिकार र आमूल परिर्वतनका लागि काम गर्ने हाम्रो दलको पक्षमा जनलहर छ,’ उनले भने, ‘चुनाव हामी जित्छौं । कांग्रेस दोस्रो, राजपा तेस्रो हुन्छ । एमालेले उम्मेदवारी दिएर विधि पु¥याएको मात्र हो ।’

एमालेले लक्ष्मीनारायण भगत (साह) लाई मैदानमा उतारेको छ । साहबाहेकका समुदायको भोट तान्न दिपु यादवलाई उम्मेदवार बनाउनुपर्ने मत पनि यहाँ थियो । त्यस विषयलाई लिएर एमालेभित्र असन्तुष्टि छ भने सातवटा वडामा उम्मेदवारीलाई लिएर विवाद छ ।

माओवादी अध्यक्ष झल्कु यादवले जनकपुरमा ३÷४ वडामा पार्टीको जित सुनिश्चित भएको दाबी गरे । कांग्रेसअघि मधेसवादी दल दोस्रो र आफ्नो दल तेस्रो स्थानमा रहेको स्वीकार गर्दै चुनावको दिनसम्ममा अवस्थामा सुधार हुने उनले दाबी गरे । जनकपुरको मात्र नभएर धनुषाकै विकास र पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेर चुनावी प्रचारमा जुटेको उनले सुनाए । ‘कृषि, शिक्षा, स्वाथ्यसहितका विषय हुने नै भयो,’ उनले थपे ।

त्यस्तै अर्को पक्ष हो, पहिलोपटक मतदान गर्न लागेका युवा । उनीहरूले कसलाई मतदान गर्छन् भन्नेमा दलहरू अन्योलमा छन् । मधेस आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले युवालाई मधेस केन्द्रित दलतर्फ आकर्षित गरेको हुनसक्ने विश्लेषण छ । परम्परागत मतदाता कांग्रेसका पक्षमा बढी रहेको विश्लेषण गरिए पनि युवा पुस्ता परम्परागत दल (कांग्रेस, एमाले, माओवादी) भन्दा बाहिर जाने त होइन भन्ने आशंका छ । जुन नेतृत्व चयनका लागि निर्णायक बन्न सक्छ ।

‘सुन्दर नगर बनाउँछौं’

जनकपुर उपमहानगरका मेयर उम्मेदवारले जनकपुरलाई जनकपुरलाई सुन्दर सहर र पर्यटकीय नगरका रूपमा विकास गर्ने बताएका छन् । सडक, ढल, खानेपानीसहितका समस्या समाधान गर्दै व्यवस्थित नगर बनाउने प्रतिबद्धता जनाउँदै प्रमुख राजनीतिक दलका मेयरका उम्मेदवारले सुन्दर र धार्मिक पर्यटकीय सहरका रूपमा जनकपुरलाई विकास गर्न आफ्नो उम्मेदवारी भएको दाबी गरेका हुन् ।

कांग्रेसका उम्मेदवार मनोज साहले पनि जनकपुरलाई उत्कृष्ट धार्मिक सहर र प्रदेशको राजधानी बनाउन जनकपुरका मेयर पदमा दाबेदारी पेस गरेको उल्लेख गरे । ‘राजनीतिक पहुँचका आधारमा जनकपुर जहिले पनि अग्रस्थानमा रह्यो तर विकासमा भने त्यतिकै पछि परेको छ’ उनको भनाइ थियो, ‘सहरको पुरानै पहिचानमा आधुनिकता ल्याउनुपर्ने आवश्यक्ता छ ।’

एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले जनकपुरलाई प्रदेशको राजधानी र वर्षौदेखि अलपत्र परेको राजर्षी जनक विश्वविद्यालय सञ्चालन गर्न आफ्नो उम्मेदवारी परेको दाबी गरे । उनले दिनहुँ विदेश पलायन हुने युवालाई सीपमूलक तालिम दिएर मधेस विकासमा परिचालन गरेर सिंगो मुलुकको नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए ।

माओवादी उम्मेदवार चन्द्रशेखर साहले राजनीतिक र साँस्कृतिक पहिचानका आधारमा जनकपुर राजधानीयोग्य सहर भए पनि भौतिक पूर्वाधारका हिसाबले कमजोर रहेको बताए । यो सहर विकासमा पछि पर्नुका मुख्य कारण राज्यको विभेदकारी नीति रहेको उनको आरोप थियो । ‘जनकपुरसँग जहिले पनि सौताको व्यवहार भयो,’ उनले भने, ‘धार्मिक पर्यटनको सम्भावनालाई पहिचान गरी पर्यटन उद्योग सञ्चालन गर्ने हो भने जनकपुरलाई देशकै नमुना सहर बनाउन सकिन्छ ।’

राजपा नेपालका प्रवक्तासमेत रहेका जनकपुरका मेयर उम्मेदवार लालकिशोर साहले दशकौं अगाडि पहाडिया गाछी र तिरहुतिया गाछी रहेको जनकपुरमा मधेसी र पहाडी समुदायबीच सुमधुर सम्बन्ध रहेको बताए । तर, पछिल्लोपटक विभिन्न आन्दोलनका नाउँमा त्यो सद्भाव कमजोर हुन पुगेकोमा चिन्ता व्यक्त गर्दै उनले यो सहरको पुरानो महŒव पुनसर््थापित र नयाँ विकास थालनी गर्नुपर्ने आवश्यक रहेको उल्लेख गरे ।

संघीय समाजवादी फोरमका उम्मेदवार विष्णुदेव साहले वर्षौदेखि राज्यबाट अपहेलित शिक्षा, स्वास्थ्य, खेलकुद र भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने औंल्याए । ‘यो नगरको शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवद्र्धन गरी मुलुककै उदाहरणीय सहरको पहिचान बनाउन सकिन्छ,’ उनले भने ।

लोकतान्त्रिक फोरमका उम्मेदवार हंसराज साहले फोहोर सहरको उपाधि पाएको जनकपुरलाई सफा पार्न आफूले उम्मेदवारी दिएको सुनाए । नेता र हाकिमले जतिसुकै भाषण गरे पनि सफाइमा दिनानुदिन जनकपुरको पहिचान दुर्गन्धित सहरका रूपमा भइरहेको बताउँदै उनले थपे, ‘यो सहरलाई सफा पार्ने एकल अजेन्डा हो मेरो ।’

प्रकाशित: २५ भाद्र २०७४ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App