७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजविराज नगरपालिकामा मेयरका उम्मेदवार पूर्वमन्त्री

राजविराज- नेकपा माओवादी केन्द्रका तर्फवाट सप्तरीको राजविराज नगरपालिकाका मेयर उम्मेदवार अनिस अन्सारी पूर्व राज्य मन्त्री हुन्। २०५३ सालमा उनी श्रम राज्य मन्त्री भएका थिए। मधेसवादी राजनीतिसँग लामो आबद्धता रहेको अन्सारी मेयर पदको टुङ्गो लागेपछि मात्र माओवादी प्रवेश गरेका हुन्।

काँग्रेस निकट नेपाल विद्यार्थी संघवाट राजनीतिक यात्रा प्रारम्भ गरेका अन्सारी स्व. गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सदभावना पार्टीका संस्थापक मध्यैका एक हुन्। २०३९ सालमै उनी राजविराज नगर पञ्चायतको प्रधानपञ्च समेत भएका थिए। मुश्लिम समुदायबीच मजबुत जनाधार भएका अन्सारीको पछिल्लो समय दल बदलि रहने नेताका रुपमा पहिचान फेरिएको छ। यद्यपी उनी दल बदलि रहने आफ्नो बाध्यतालाई जन चाहनाको संज्ञा दिने गर्दछन्।

पहिलो संविधान सभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर तीन वाट तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको तर्फवाट चुनाव लडेका थिए। उक्त चुनाव सदभावनाका उम्मेदवार महेस यादवले जितेका थिए। संविधान सभाको दोश्रो निर्वाचनमा उनी सोहि क्षेत्र वाट सदभावनाको टिकटमा चुनाव लडे । त्यतिवेला माओवादी उम्मेदवार उमेश यादव उक्त क्षेत्रवाट निर्वाचित भए । संसदको अर्को निर्वाचन नआउँदै उनी माओवादी प्रवेश गरे र अहिले सोहि क्षेत्र अन्तर्गतको राजविराज नगरपालिकावाट मेयर पदमा चुनाव लडेका छन्।

 ‘पक्कै पनि मैले दल फेरेको छु तर विचार बदलिएको छैन’, उनी भन्छन्, ‘राजनीति भनेको जनताको सेवा हो यो जनताकै चाहना अनुरुप हुनुपर्छ, मैले जनताकै चाहना अनुरुप आफ्नो विचार र सिद्धान्तमा दृढ रहदै दल परिवर्तन गरेको हुँ ।’ आफु मधेसवादी विचारधाराको रहेको र माओवादी केन्द्र मधेस र मधेसीहरुको अधिकारका लागि साकारात्म रहेकोले आफु माओवादी प्रवेश गरेको उनको भनाई छ।

२०३९ सालमा आफु नगर पञ्चायतको प्रमुख हुँदाको राजविराजको विकासीय अवस्था र हालको अवस्थामा खासै परिवर्तन आउन नसकेको उनको गुनासो छ । ‘बरु अहिले भन्दा निकै व्यवस्थित थिए त्यति वेलाको राजविराज’, उनले भने, ‘क्षेत्रफल र जनसंख्या बढेको बढै छ, तर विकास जहाँको त्यहि ।’

राजविराज नगरपालिका क्षेत्रमा मुश्लिम समुदायका मतदाताहरुको जनसंख्या निकै रहेपछि एकल मुश्लिम समुदायकै मतले जित्न सक्ने अवस्था भने छैन । मुश्लिम समुदायवाटै रहेका युवा काँग्रेस नेता इर्साद अन्सारीलाई काँग्रेस टिकट दिने सम्भावना न्यून हुँदै गएपछि अनिसलाई रातारात माओवादी प्रवेश गराईएको हो । मुश्लिम समुदायको सामूहिक मतका साथै माओवादीको थोर बहुत दलगत मत परे अन्सारीको जितको सम्भावना निकै हुने जानकारहरुको अनुमान छ । यद्यपी माओवादी भित्रकै आन्तरिक कलह तथा मुश्लिम समुदायका इर्साद अन्सारी, गुलाब अन्सारी लगायतका प्रभावशाली नेताहरुको काँग्रेससँगको आबद्धता लगायतका पक्ष अनिसका लागि चुनौति रहेको जानकारहरुको ठम्याई छ।

प्रकाशित: २४ भाद्र २०७४ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App