coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्पोर्टस अवार्डको तयारी पुरा

काठमाडौं– नेपाली खेलकुदको वहुप्रतिक्षित पल्सर स्पोर्टस अवार्डको तयारी पुरा भएको छ। अवार्ड कार्यक्रम  सोमबार काठमाडौंमा हुँदै छ। कार्यक्ररममा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन्।

शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गर्दै अवार्डको सम्मपूर्ण तयारी पुरा भएको जानकारी दिएको हो। कार्यक्रमको सबै तयारी पुरा भएको र सोमबार कार्यक्रम भव्यरुपमा सम्पन्न हुने मञ्चका अध्यक्ष महेश आचार्यले बताए। लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा खेलाडीवाहेक पाँच विधा (पुरुष, महिला, युवा, प्रशिक्षक र जनताको रोजाई) मा अवार्डका लागि मनोनयनमा परेका पाँच/पाँच जनाले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लाइफटाइम एचिभमेन्ट, विशेष पुरस्कार र पारामा भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रममै विजेताको घोषणा गर्नेछ।

वर्ष २०७३ मा गरेको प्रदर्शनका आधारमा गरिएको मनोनयनमा पुरुष खेलाडीतर्फ राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङसहित क्रिकेटका स्टार शरद भेषावकर, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन्।

त्यस्तै महिलातर्फ एथ्लेटिक्सकी कान्छीमाया  कोजु र सरस्वती भट्टराईसहित फुटबलकी सावित्रा भण्डारी, ब्याटमिन्टनकी नङ्सल तामाङ र आर्चरीकी ज्ञानु अवाले पर्न सफल भएका छन् । कान्छीमाया जनताको रोजाई विधाको मनोनयनमा पनि छिन् । युवातर्फ राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तमाङसँगै राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोतोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली उत्कृष्ट पाँचमा समेटिएका छन्। दीपेन्द्र जनताको रोजाईको मनोनयनमा पनि छन् । त्यस्तै प्रशिक्षक विधामा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजी, रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी सहित राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, एथ्लेटिक्सका पुष्पराज ओझा र ब्याड्मिन्टनका किरण थापा मनोनयनमा परेका छन् ।

जनताको रोजाईको मनोनयनमा कान्छिमाया र दिपेन्द्रसिहसहित पौडीकी गौरिका सिंह, फुटबलका सुजल श्रेष्ठ र जुडोकी फुपूल्यामु खत्री छन् ।

पिपल्स च्वाइस, पुरुष, महिला र प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकलसहित विभिन्न उपहारहरू पाउनेछन् भने अन्य चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित उपहार प्रदान गरिने छ।

प्रकाशित: २४ भाद्र २०७४ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App