तपाईंले डेस्कटप अथवा ल्यापटप खोल्नेबित्तिकै रिफ्रेस गर्न थाल्नुहुन्छ ? माउस वा माउसप्याडको दाहिनेतर्फको बटम दबाएर रिफ्रेस गर्ने मानिसको बानी अन्य बानीमध्ये बहुचर्चित बानी हो ।
कसैकसैले रिफ्रेसलाई बारम्बार गर्छन् तर कहिल्यै तपाईंले रिफ्रेस गर्दा के फाइदा हुन्छ भन्ने सोच्नुभएको छ ? हुन त फाइदा हुन्छ नै भनेर त्यसो गर्नुभएको होला तर त्यसको कुनै पनि फाइदा छैन ।
१० मध्ये ९ जना विन्डो प्रयोगकर्ताहरु मज्जैले रिफ्रेस गर्छन् । तर तिनले रिफ्रेस गर्दा कम्प्युटरले खासै फाइदा पाउँदैन र त्यसो गर्नु बेकार हो भन्ने कमैलाई थाहा हुन्छ ।
छेउमा बसेको मानिसले पनि त्यसै गरेको देखेर अधिकांश मानिसहरु रिफ्रेस गर्ने गर्छन् । यसो गर्दा कम्प्युटरको र्याम रिफ्रेस भएको केहीलाई लाग्छ भने केहीलाई चाहिँ त्यसो गरेर कम्प्युटरको गति बढेको महसुस हुन्छ ।
हुँदाहुँदा केही मानिस त ३० सेकेन्डसम्म रिफ्रेस गरिरहन्छन् । रिफ्रेसका लागि ‘एफफाइभ’ बटन पनि हुन्छ र धेरैले निकैबेरसम्म सो बटन थिचिरहन्छन् ।
रिफ्रेस गर्दा डेस्कटपको आइकनहरुमा हलचल सुरु हुन्छ । यसबाहेक अरु केही हुने होइन । यसले र्याम रिफ्रेस गर्ने पनि होइन, न त तपाईंको निजी कम्प्युटरको कार्यक्षमता बढ्छ ।
उसो भए रिफ्रेस टुल किन चाहियो ?
रिफ्रेस टुल डेस्कटपका आइकनहरुलाई पुनः देखाउनका लागि हुन्छन् । कैयौँ पटक तपाईंले डेस्कटप आइकनहरु परिवर्तन गर्नुहुन्छ तर जबसम्म रिफ्रेस गर्नुहुन्न ती आइकन देखिँदैनन् । त्यसका लागि रिफ्रेस बटन राखिएको हो ।
तपाईंले डेस्कटपमा कुनै आइकन परिवर्तन गर्नुभयो र वर्णानुसार सेट गर्नुभयो । सेट गरेपछि कुनै नयाँ आइकन जोड्नुभयो भने त्यो कम्प्युटर डेस्कटपको सबैभन्दा तल देखिन्छ । यस्तोमा रिफ्रेस गर्नुभयो भने नयाँ आइकन पनि वर्णानुक्रमअनुसार बस्छ । यसबाहेक यो रिफ्रेसको अरु कुनै काम छैन ।
मानिसहरु बारम्बार रिफ्रेस किन गर्छन् ?
कम्पल्सिभ डिसअर्डरबाट पीडित मानिसहरु यस्तो काम बारम्बार गर्छन् । यस्ता मानिसहरु नचाहिँदो चिजलाई पनि जाँच्नुपर्ने बानीका हुन्छन् । यस्तो बानी सर्वसाधारणमा मात्र होइन, कम्प्युटर इन्जिनियरको पनि हुन्छ । कतिपय इन्जिनियरलाई त एफफाइभ बटनबाट यति मोहित हुन्छन् कि एक मिनेटसम्म दबाइरहन रुचाउँछन् । यसो गर्नु मूर्खताबाहेक अरु केही होइन । सचेत भएर यस बानीलाई निमिट्यान्न पार्नुबाहेक यसको अरु कुनै उपाय छैन । यसो गर्नु समयको बर्बादी मात्र हो ।
अब कसैले त्यसो गरेको देख्नुभयो भने तपाईं उसलाई के भनेर सम्झाउनु हुन्छ ?
प्रकाशित: २४ भाद्र २०७४ ०७:४९ शनिबार