७ वैशाख २०८१ शुक्रबार
अन्य

भ्रष्टाचारी भेला

भ्रष्टाचारीको दुनियाँमा अचानक खलबली मच्चियो । संसद्ले भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुन जो पास ग¥यो । यो कानुन फेल गर्ने प्रयास त धेरै भएको थियो । तर कसैको केही लागेन । कानुन पास भएरै छोड्यो । कानुन पास भएलगत्तै यसैबारे छलफल चलाउन  देशका सम्पूर्ण भ्रष्टाचारीको आकस्मिक गोलमेच सम्मेलन डाकियो । ‘भ्रष्टाचारीलाई चुनाव नलडाउने कानुन र भ्रष्टाचारको भविष्य’ बैठकको अघोषित एजेन्डा यही थियो ।
बैठकमा सबै क्षेत्र, पेसा, जाति, भाषा, लिंग, धर्म, पार्टी, सबै तप्काका भ्रष्टाचारीको उपस्थिति थियो । आकस्मिक रूपमा डाकिएको भए पनि बैठकमा कोही छुटेको थिएन । यो देशमा डाकिएको बैठकमा इमानदारीपूर्वक पुग्ने कोही छन् भने त्यो भ्रष्टाचारी मात्रै हो कि जस्तो लाग्छ ।

उही मोटे भ्रष्टाचारीले जवाफ दिए, ‘हेर्नुस्, भ्रष्टाचारलाई उनीहरूले आजसम्म बुझ्नै सकेका छैनन् । भन्न त देश सरकारले चलाउँछ भनिन्छ । तर भ्रष्टाचार नभइदिएको भए सरकार पनि चल्दैन । सरकार चल्ने भनेकै भ्रष्टाचारले गर्दा हो । देश चलाउने सरकारले हो । सरकार चलाउने भ्रष्टाचारले हो । अब सरकारबाट भ्रष्टाचार झिकिदिनुस् त, सरकार ठप्पै हुन्छ ।’

बैठक सुरु भयो । एउटा वरिष्ठ भ्रष्टाचारीले एजेन्डा ओपनिङ गरे, ‘साथीहरू, आज हामी यहाँ किन भेला भएका छौँ, त्यो त यहाँहरू सबैलाई थाहा भइसक्यो होला । भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुन भर्खरै पास भएको छ । यसविरुद्ध अब हामी एकजुट हुनुपरेको छ ।’
मुहारभरि झुप्पै दारी भएका भ्रष्टाचारीले आफ्नो विचार राखे, ‘हेर्नुस्, हामी भ्रष्टाचारीलाई राजनीतिबाट टाढा राख्न यो कानुन ल्याइएको होला । तर उनीहरूले बुझ्नुपर्छ, भ्रष्टाचारविना राजनीति पनि चल्न सक्दैन ।’
‘हो साथीहरू,’ अर्का वरिष्ठझैँ देखिने मोटे भ्रष्टाचारी बोले, ‘वास्तवमा भ्रष्टाचारविना राजनीति त के, देश पनि चल्न सक्दैन ।’
‘देश पनि चल्दैन रे ? कसरी अंकल ?’ भर्खर–भर्खर भ्रष्टाचारी बनेका एक नवभ्रष्टाचारीले प्रश्न गरे ।
उही मोटे भ्रष्टाचारीले जवाफ दिए, ‘हेर्नुस्, भ्रष्टाचारलाई उनीहरूले आजसम्म बुझ्नै सकेका छैनन् । भन्न त देश सरकारले चलाउँछ भनिन्छ । तर भ्रष्टाचार नभइदिएको भए सरकार पनि चल्दैन । सरकार चल्ने भनेकै भ्रष्टाचारले गर्दा हो । देश चलाउने सरकारले हो । सरकार चलाउने भ्रष्टाचारले हो । अब सरकारबाट भ्रष्टाचार झिकिदिनुस् त, सरकार ठप्पै हुन्छ ।’
‘हो, हो । हेर्नुस् तपाईंको, उहाँ दाइले एकदम ठीक भन्नुभयो,’ हेर्दा बुद्धिजीवीजस्तो देखिने अर्का भ्रष्टाचारी बीचैमा बोले, ‘हेर्नुस् तपाईंको, वास्तवमा यो देशमा हामी भ्रष्टाचारी  नभएको ठाउँ कहाँ छ ? हामी भ्रष्टाचारी नपुगेको ठाउँ कहाँ छ ? हेर्नुस् तपाईंको, सरकारै नपुगेको ठाउँमा समेत हामी पुगिरहेका हुन्छौँ । तर जहाँ पुगे पनि त्यहाँ काम गर्ने र गराउने भनेको हामीले नै हौँ हेर्नुस् तपाईंको । अहिले सरकारी तलबमा त कसैले काम गर्दैन । काम गराउने हामी नै हौँ हेर्नुस् तपाईंको । सरकारले ठानेको होला, कर्मचारी सरकारी तलबमा काम गरिरहेका छन् । त्यसो हो भने सरकार गलत ठानिरहेको छ, हेर्नुस् तपाईंको ।’
उनको कुरा सकिन पाएकै थिएन, पहिलेकै झुप्प दारीवाला भ्रष्टाचारीले थपे, ‘नेपालमा अहिले जति पनि मानिस राजनीतिप्रति आकर्षित भएका छन् नि, उनीहरू नेताहरूको विचार हेरेर होइन, भ्रष्टाचार हेरेर आकर्षित भएका हुन् । कुन नेताको कस्तो विचार छ भन्ने कुराको अब राजनीतिमा अर्थै छैन । कुन नेताले कति भ्रष्टाचार ग¥यो भन्ने नै अहिले प्रमुख प्रश्न हो । यदि भ्रष्टाचारीले चुनाव लड्न पाउँदैन भन्यो भने यसले देशको राजनीतिलाई नै घाटा पार्छ ।’
‘होइन, अब यो राजनीतिलाई कति फाइदा हुन्छ कति घाटा हुन्छ भन्ने कुरा छोडौँ,’ एक महिला भ्रष्टाचारीले पनि मुख खोलिन्, ‘हामीलाई कति फाइदा हुन्छ, कति घाटा हुन्छ त्यसमा जाउँ न ।’
‘हो हो अंकल, मेन कुराचाहिँ यही हो । हाम्रो कुरा गर्नुप¥यो । अब हामीलाई के हुन्छ, हामीले के गर्नुपर्छ ?’ उही नवभ्रष्टाचारीले भनाइ राखे ।
सुरुको वरिष्ठ भ्रष्टाचारीले स्पष्ट पार्ने प्रयास गरे, ‘कुरा अघि पनि आइसक्यो । देशमा हामी नभएको ठाउँ कहीँ छैन । सरकार, संसद्, राजनीतिक पार्टी, प्रशासन, न्यायालय, देवालय, विद्यालय, विश्वविद्यालय सबैतिर हाम्रो उपस्थिति छ । हामीविना त यिनीहरू चल्नै सक्दैन । तर चुनाव लड्न नपाउने भएपछि हामीले आफ्नो रणनीति बदल्नुपर्ने हुन्छ ।’
‘कस्तो रणनीति ?!’ सबैले एकैपालो सोधिहाले ।
‘हामीलाई चुनावमा रोक्यो, केही छैन । तर हामी चुनाव नलडे पनि कोही न कोही त लड्नैपर्छ । लड्नुपर्छ कि पर्दैन ?’
पर्छ– सबैको सामूहिक जवाफ ।
‘हऽऽ अब जो जो चुनाव लड्छन्, उनीहरूलाई जित्नु पनि पक्कै छ । जित्नलाई पैसा चाहियो । पैसा हामीसँग बाहेक अरु कोहीसँग छैन । अब हामीले भ्रष्टाचार गरेर चुनाव जित्न नसकेपछि चुनाव जितेर आउनेलाई भ्रष्टाचारी बनाऔँ । पहिले भ्रष्टाचार पछि चुनाव जित्ने गथ्र्यौं, अब चुनाव जितेपछि भ्रष्टाचारी बनाउनेतिर लागौँ । यसो गर्दा कसो होला ?’ वरिष्ठ भ्रष्टाचारीले रणनीतिक कार्यक्रम प्रस्तुत गरे ।
कार्यक्रम सबैलाई मनप¥यो । मनपर्नु स्वाभाविकै हो । ‘अनि अहिले आएको कानुनचाहिँ के गर्ने नि अंकल ?’ नवभ्रष्टाचारीले जिज्ञासा पोखे ।
‘कानुन बनेर केही हुन्न,’ वरिष्ठ भ्रष्टाचारीले भने, ‘कानुन मानेर कोही पनि भ्रष्टाचारी बन्न सक्दैन । भ्रष्टाचारीको कामै कानुन तोड्ने हो । यो पनि तोडिन्छ । के ठूलो कुरा भयो र ?’
हा, हा, हा, हलमा ठूलो हाँसो छुट्यो । बैठक सकिएछ क्यारे, सबैजना तन्दुरीसहितको डिनरतिर लागे ।

प्रकाशित: २४ भाद्र २०७४ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App