७ वैशाख २०८१ शुक्रबार
प्रविधि

'नेट फर गुड'

गत शनिबार काठमाडौंको राष्ट्रिय सभागृहको माहोल रमाइलो थियो । पारिपट्टि भृकुटीमण्डपमा वयस्क नाडा अटो सोमा गाडी हेरेर रमाइरहँदा वारिपट्टि सभागृहको चौर र अडिटोरियममा बालबालिका रमाइरहेका थिए ।

सभागृहको चौरमा रहेको एउटा स्टलमा भक्तपुरका १४ वर्षीय राजेश खड्का चित्र कोर्दै थिए । उनले चित्र कोर्दा उनीसँगै पढ्ने साथीहरू र उनीजस्तै अरु बालबालिकाले हेरिरहेका थिए । चित्रकलामा रुचि भएका उनले बनाएको चित्र हेरिसकेपछि त्यहाँ रहेका अरुले ताली बजाए । ‘बाहिर यसरी चित्र बनाएको पहिलोपल्ट हो । सबैले मनपराएको थाहा पाउँदा खुसी लाग्यो,’ उनले बताए ।
अलि पर अर्को स्टलमा बालबालिका खेल खेल्दै थिए । भ्वाइस अफ चिल्ड्रेन नामको संस्थाले बालबालिकालाई कसरी अनलाइन संसारमा सुरक्षित बन्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रियात्मक खेल खेलाइरहेको थियो ।
सभागृहकै परिसरमा बालबालिका ठूलो फ्लेक्समा लुँडो खेल्दै थिए । अनलाइन सुरक्षासम्बन्धी सन्देश लेखिएको यो लुँडो खेल्न बालबालिका झुम्मिएका देखिन्थे । सामान्यतः गोटी राखेर खेलिने लुँडोमा गोटीको सट्टा बालबालिका आफैँ नै उभिएका थिए ।
अडिटोरियम छिर्ने लबीमा ठूलो अक्षरमा फेसबुक लेखिएको एउटा फोटो बुथ थियो । बुथमा विभिन्न इमोजी रहेको प्लेकार्ड समेत लिएर फोटो खिच्नेको भीड देखिन्थ्यो । त्यसको बायाँतिर केही बालबालिका कम्प्युटरमा गेम बनाउँदै थिए । सधैँ अरुले बनाएको गेम कम्प्युटरमा र मोबाइलमा खेल्दै आएका उनीहरू आफैँ गेम बनाउन सिक्दा दंग थिए ।
यी दृश्य बालबालिकालाई अनलाइन संसारमा कसरी सुरक्षित राख्न सकिन्छ भनेर युनिसेफले नेपाल दूरसञ्चार प्राधिकरण, फेसबुक लगायत विभिन्न १५ संघ–संस्थासँग मिलेर आयोजना गरेको ‘नेट फर गुड’ अनलाइन सुरक्षा मेलाका हुन् ।
नेपालमा प्रविधि सुलभ बन्दै जाँदा इन्टरनेट चलाउने जमात पनि बढ्दै छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, अहिले नेपालमा कुल जनसंख्याको ५८ प्रतिशत नागरिकले इन्टरनेट चलाउँछन् । यसमध्ये आफ्नै वा अभिभावकको मोबाइल वा कम्प्युटरमा इन्टरनेट चलाउने बालबालिका पनि प्रशस्तै छन् ।
फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सोसल मिडिया र भाइबर, ह्वाट्सएप, इमोजस्ता इन्स्टेन्ट मेसेन्जरले गर्दा अहिले सञ्चार सजिलो भएको छ । यसबाट साथी बनाउन र कुराकानी गर्न पनि सहज भएको छ । योसँगै विभिन्न खालका हिंसा र दुव्र्यवहार पनि बढिरहेका छन् । यसै सन्दर्भमा बालबालिकालाई अनलाइनबाट हुने हिंसाबाट जोगाउन र इन्टरनेटको सदुपयोगमा प्रेरित गर्न ‘नेट फर गुड’ अभियान सुरु गरिएको युनिसेफ नेपालकी सञ्चार प्रमुख रूपा जोशीले बताइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले पछिल्लो समय इन्टरनेट प्रयोग बढ्दै गएको र यसबाट हुने विकृतिबाट बालबालिकालाई सुरक्षित राख्नु सबैको दायित्व भएको बताए ।
अघिल्लो पुस्ताले प्रिन्ट, रेडियो र टेलिभिजनजस्ता परम्परागत सञ्चार माध्यमबाट सूचना र जानकारी लिने गरेकामा अहिलेको डिजिटल युगले यस्तो सूचना प्राप्त गर्ने र भावना व्यक्त गर्ने नयाँ अवसर सिर्जना गरेको युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले बताए । ‘इन्टरनेटले नयाँ कुरा सिक्ने, नयाँ मानिसलाई भेट्नेदेखि नयाँ–नयाँ ठाउँमा पुग्ने र नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ,’ उनले थपे, ‘तर कुनै जानकारीविना इन्टरनेट चलाउँदा साइबर संसारमा भएका दुव्र्यवहार र हिंसाको जोखिममा पनि उत्तिकै पर्न सकिन्छ ।’
मेलामा अनलाइन संसारमा कसरी सुरक्षित रहने भन्ने विषयमा फेसबुकले करिब एक घन्टा किशोरकिशोरीलाई तालिम दिएको थियो । नेपाली बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न फेसबुकले आफ्ना कार्यक्रम नेपालमा सञ्चालन गर्ने फेसबुकका दक्षिण तथा पूर्वी एसियाका प्रतिनिधि रितेश मेहताले बताए ।
बालबालिकालाई अनलाइनमा कसरी सुरक्षित राख्ने भन्ने विषयमा चार प्यानल छलफल पनि आयोजना गरिएको थियो । पहिलो प्यानलको छलफलमा महावीर पुन, नशला जोशी, अमुन थापा र फुङ्मा फुदोङ थिए । दोस्रो प्यानल छलफलमा बालबालिकाले आफ्नो अनलाइन अनुभव बाँडेका थिए । तेस्रो प्यानलमा आनन्दराज खनाल, डिएसपी अमरेन्द्र सिंह, अधिवक्ता प्रविन सुवेदी, सुम्निमा तुलाधर र महेश उप्पलले अनलाइनमा कसरी सुरक्षित रहने र आपत् परे के गर्ने भन्नेबारे बताएका थिए ।
अन्तिम छलफलमा नायिका आना शर्मा, संगीतकर्मी नट्टु शाह र भ्लगर तथा ¥यापर गिरीश खतिवडाले छलफल गरेका थिए । कार्यक्रमको बीच–बीचमा बालबालिकाले नाटक र विभिन्न प्रतिभा पनि प्रस्तुत गरेका थिए ।
यस्ता छलफल र ‘इन्फोटेनमेन्ट’ले बालबालिकालाई मनोरञ्जन गर्दै सिक्ने अवसर दिने जोशीले बताइन् । यो अभियानको सुरुवात मात्र भएको र अभियान देशभर लैजाने समेत उनले बताइन् । ‘अब हामी तत्कालै तालिममार्फत देशका करिब १७ हजार बालबालिकासम्म प्रत्यक्ष रूपमा पुग्दै छौँ,’ उनले भनिन् । बालबालिकालाई अनलाइनमा कुनै समस्या भए आफूसँग मात्र सीमित नराख्न र साथी वा अभिभावकसँग त्यसबारे कुरा गर्न पनि उनले आग्रह गरिन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App