८ वैशाख २०८१ शनिबार
अन्य

कालिगडको गाउँ

ढुंगामा कला कुद्ने कलाकारको सांकेतिक तस्बिर ।

गएको बिहीबार घर पुग्दा योगेन्द्र बज्राचार्य ढुंगामा बुट्टा भर्न तल्लीन थिए । अर्डरमा आएको ढुंगाको सानो चैत्य बनाउन कालो ढुंगामाथि उनको हातको छिना र हथौडा चलिरहेको थियो । ३३ वर्षीय योगेन्द्रको दैनिकी पाटनको भिन्छेबहालमा रहेको घरको छिँडीको ढोकै छेउ बसी यसैगरी ढुंगामा कला भर्दै बित्छ । ढुंगामाथि छिना पर्दा उठेको धुलो र झिल्कासँगै उनले जीवन साटेको दुई दशक बितिसकेको छ ।

आज पनि शाक्य अनि बज्राचार्यका ज्यासःबाट साना–ठूला ढुंगाका सुन्दर मूर्ति निकालिन्छन् र स्थापित गरिन्छन् मन्दिरदेखि गुम्बासम्म । कुनै आकार नभएको कोरा ढुंगालाई जीवन्त मूर्ति बनाउन पारंगत शाक्य र बज्राचार्यका सन्तानले पाटनको यो क्षेत्रलाई अझै पनि कालिगडको गाउँका रूपमा चिनाइरहेका छन् ।


पुरानो पाटन सहरको पूर्वाेत्तरको छेउमा पर्छ, भिन्छेबाहाः अर्थात मयूरवर्ण महाविहार । राजा शंकरदेवको पालामा बनेको यो बाहाः (विहार)को नामबाट त्यो ठाउँ पनि भिन्छेबहालकै नामले चिनिन्छ । बहाःको संरक्षण त्यहीँँका बज्राचार्य र शाक्यलगायत नेवार समुदायले गर्दै आएको छ । नेवार जातिको शाक्य र बज्राचार्य आवाद पनि भिन्छेबहालमा राम्रै छ ।
नेवार जातिमा ‘प्रिस्टली कास्ट’ भनिन्छ, बज्राचार्यलाई । शास्त्र अनि धर्मका ज्ञाता पण्डित मानिन्छन्, उनीहरू । इतिहासको एक समय तिब्बतका बौद्ध पाटनका बज्राचार्यलाई गुरु थापेर पढ्न आउन लर्काे लाग्थे भनेर इतिहासका जानकारले भन्ने गरेका छन् । पाटनका बज्राचार्यको कीर्ति कहाँसम्म थियो भनेर त्यहीँबाट बुझ्न सकिन्छ ।  
शास्त्रका पण्डित त बज्राचार्य थिए नै । भिन्छेबहाल पुगेपछि बज्राचार्य मूर्तिकलाका पनि पण्डित लाग्छन् । पुस्तौंदेखि ढुंगाका मूर्ति बनाउने धेरै बज्राचार्य र शाक्य परिवारको आवास अझै भिन्छेबहालमा छ । आज पनि शाक्य अनि बज्राचार्यका ज्यासःबाट साना–ठूला ढुंगाका सुन्दर मूर्ति निकालिन्छन् र स्थापित गरिन्छन् मन्दिरदेखि गुम्बासम्म । कुनै आकार नभएको कोरा ढुंगालाई जीवन्त मूर्ति बनाउन पारंगत शाक्य र बज्राचार्यका सन्तानले पाटनको यो क्षेत्रलाई अझै पनि कालिगडको गाउँका रूपमा चिनाइरहेका छन् । प्रस्तरकला भनेपछि धेरैले बुझ्छन्, भिन्छेबहाल ।   
ठ्याक्कै भिन्छेबहालमा छ, योगेन्द्र बज्राचार्यको घर । बहाः र उनको घरको आँगन एउटै छ । योगेन्द्र बिहानदेखि बेलुकासम्म घरको छिँडीमा राखिएको वर्कसपमा छिना र हथौडा चलाइरहेका हुन्छन् । कहिले ढुंगामा अक्षर कुँद्छन् त कहिले बुट्टा भर्छन् अनि कहिले उनी ढुंगामा भगवानका सुन्दर मूर्ति बनाउँछन् । एक कक्षा पढ्दैखेरि उनले ढुंगामा बुट्टा भर्न सिकेका थिए आफ्नै बुबाबाट । बुबाको वर्कसपमा ज्यावल खेल्दाखेल्दै उनी ढुंगामा कला भर्न सिपालु भए । त्यसपछि केही तालिम अनि आफ्नै अनुभव लिएर बुबाको वर्कसपमा सघाउन थाले ।
आफ्नो जेठो सन्तान आफ्नै पेसामा रमेको देख्दा बज्राचार्य बेखारत्नलाई पनि खुसी लाग्थ्यो । बाबुछोरा मिलेर आकार न प्रकारका थुप्रै ढुंगामा मुखाकृति खोपेर मूर्ति बनाए ।
मानिसको स्वास्थ्य न हो, कतिखेर बिग्रिन्छ थाहा हुन्न । झण्डै सात वर्षअघि बेखारत्न बज्राचार्यलाई ब्रेन स्ट्रोक भयो । त्यसपछि उनी ज्यावल चलाउन नसक्ने गरी पक्षघातको बिरामी बने । अहिले उनी भर्खर ६३ वर्षका छन् । बेखारत्न बिरामी परेपछि उनको परिवारको टेको त धरमर भयो नै, कैंयौं बहुमूल्य मूर्ति बन्ने सम्भावना तुहिए ।
योगेन्द्रका अनुसार बेखारत्न ढुंगाको सिंहमूर्तिका ‘स्पेसलिस्ट’ थिए । उनले बनाएका सिंह मूर्ति महŒवपूर्ण ठाउँमा ठडिएका छन् । स्वयम्भूको बुद्धपार्कमा रहेको जोडी सिंह मूर्ति बेखारत्नको सबैभन्दा पछिल्लो कृति हो । योगेन्द्र सुनाउँछन्, ‘त्यो सिंह बनाइसकेर अमेरिकाबाट आएको ढुंगाका केही पिल्लर बनाउँदा बनाउँदै बुबालाई स्ट्रोक भयो ।’
त्यसपछिका दिनमा योगेन्द्र पुख्र्यौली घरको छिँडीमा एक्लै ज्यावल चलाइरहेका छन् । उनको योबाहेक अरु कुनै पेशा वा व्यवसाय छैन । ढुंगामा छिनो चलाएर बनाइएको कला उनका लागि पारिवारिक जीविकाको स्रोत हो ।
योगेन्द्र भन्छन्, ‘जीविका यहीँ छ, जीवन पनि यहीँ । एउटा मूर्ति बनाइसक्दा नयाँ मान्छे नै जन्माएजस्तो आनन्द आउँछ ।’
तर, केही वर्षयता यो पेसामा संकटको उनले महसुस गरेका छन् । मूर्तिका लागि चाहिने ढुंगा झिक्न प्रशासनले रोक लगाएको छ । बल्लतल्ल लुकाएर ल्याइपुर्याएको ढुंगालाई फारो गरीगरी धानेका छन्, उनले पेसा । ढुंगाकै अभावका कारण कुन दिन उनको ज्यासल नै बन्द हुने हो भन्ने चिन्ता खुब लाग्छ, अचेल योगेन्द्रलाई ।
भन्छन्, ‘यस्तै भयो भने बन्द गरेर अरु नै काम गर्नुपर्छ ।’ उनले निकै समयदेखि ठूला मूर्तिको अर्डर लिन सकेका छैनन् । उनीपछिका सन्तानले यो पेसा नअंगाल्ने लगभग निश्चित जस्तै भएको उनले ठहर गरेका छन् ।
अहिले नै पनि वरपरका कालिगडको परिवारले पेसाका लागि वैकल्पिक पेसाको खोजी गर्न थालिसकेको उनी सुनाउँछन् । अहिलेका पुस्ताको सिक्ने किशोर र युवा उमेर स्कुल कलेजमा नै बित्छ । पढाइ सकिएपछि सिकेर कालिगडी गर्ने सम्भावना अत्यन्त न्यून छ । ठूलो समय, श्रम अनि धैर्य खर्चेर मात्र कालिगडीमा निपुण हुन सकिन्छ । अहिलेका युवा त्यति धीर नभएको योगेन्द्रको अनुभव छ । त्यसमाथि ढुंगा अभावले कालिगडले आफ्ना सन्तानलाई सीप सिकाउन चाहँदैनन् । बरु वैकल्पिक क्षेत्रमा भविष्य खोज्न प्रेरित गरिरहेका छन् ।
योगेन्द्रकै घरको कुरा गर्दा, उनका बाजेबराजु कालिगड नै थिए । बुबा बेखारत्नले जीवनभर कालिगडी नै गरेर घरबार मात्र चलाएनन्, सिंहमूर्तिका विशेषज्ञ नै भए । योगेन्द्रका काका हीरा बज्राचार्य पनि बरिष्ठ कालिगड छन् ।
अहिले योगेन्द्रलाई भने कतिखेर ज्यावल थन्काएर अन्य रोजगारी खोज्नपर्ने हो, ठेगान छैन । उनका सहोदर भाइ जयेन्द्रले त पुर्खौली पेसा समातेकै छैनन् । जयेन्द्र प्लस टु सकेर दुई वर्ष प्रवासमा रोजगार गरेर फर्के । फर्केपछि फेरि अध्ययन गरे अनि अहिले उनी ट्राभल एजेन्सी चलाइरहेका छन् । योगेन्द्रले भन्छन्, ‘घरकै पुस्तैनी पेसा राम्रोसँग गएको भए भाइले दुई पैसाको लागि दुबई जान पनि पर्दैनथ्यो । आएर ट्राभल एजेन्सी चलाउन पनि पर्दैनथ्यो ।’
योगेन्द्रका अनुसार अहिले धेरै कालिगडका परिवार यस्तै वैकल्पिक पेसातिर सेटल हुने क्रम बढ्दो छ । स्टोनको लकेट बनाउने, खुद्रा व्यापार गर्ने, जागिर खाने अनि विदेश जाने उनीहरूको रोजगारीको क्षेत्र बनेका छन् ।
यो योगेन्द्रको परिवारको मात्र नभई ढुंगाको ‘क्राफ्टमनसीप’ पुख्र्याैली पेशा भएका भिन्छेबहाल वरपरका शाक्य र बज्राचार्यको पुख्र्याैली पेसामा आएको संकट हो । पहिले भिन्छेबहालमा मात्र रहेको ढुंगाको कालिगडका परिवारको अलि परपरसम्म पनि घरबास छ ।
तिनै बचेका कालिगड परिवारले जसोजसो ढुंगामा ज्यावल चलाइरहेका छन् । भिन्छेबहाल, पिन्छे, चपट, सौगल, सुन्धारा क्षेत्र कालिगडका छिना, कटरको आवाजले दिनैभरि गुञ्जायमान भइरन्छ । तर, ढुंगाका मूर्तिकार धर्मराज शाक्य भने अहिले त्यस्तो आवाजको घनत्व धेरै कम भएको बताउँछन् ।
भन्छन्, ‘पहिले टोलको प्रत्येक घर ज्यासल थियो । ज्यावल चलाएको आवाज हरेक घरभित्रबाट आउँदाको संगीतले सबैलाई जाँगरिलो बनाउँथ्यो ।’
उनका अनुसार घर–घरभित्रबाट निस्कने ज्यावलको संगीत पातलिनुको अर्थ कालिगडीको निरन्तरता पातलिनु हो । यसका पछाडि धेरै कारण छन् । सबैभन्दा ठूलो कारण ढुंगाकै अभाव रहेको उनी बताउँछन् ।
हात्तिवन, फर्पिङलगायत क्षेत्रबाट पाटनका कालिगडले ढुंगा मगाउने गरेका छन् । त्यसमा प्रशासनले कडाइ गर्दा ढुंगा पाउनै गाह्रो भएको छ । गाउँलेले आफ्नो जग्गाको ढुंगा निकालेर ल्याउँदा प्रशासनले बाटैमा समात्ने, जरिवाना लिएर दुःख दिन्छन् । धर्मराज शाक्यका अनुसार २०६२÷६३ को जनआन्दोलनपछि टोलटोलमा आमा समूह, महिला समूह, विभिन्न उपभोक्ता समितिले पनि ढुंगा ल्याउनेलाई तर्साउन थाले । त्यसपछि गदा ढुंगाको मूल्य बढ्यो । दुःख झेल्नुपर्ने भएपछि किसानले ढुंगा बेच्न पनि छोडे ।  
उनी भन्छन्, ‘पहिले–पहिले किसान दसैंतिहार आउन थालेपछि ढुंगा दिन घरमै आउँथे । चाहिँदैन भन्दा पनि ढुंगा छोडेर जान्थे । अहिले ल्याइदेऊ भन्दा पनि ल्याउन गाह्रो मान्छन् ।’ ढुंगाको दुःखले सहरमा बस्ने शाक्य र बज्राचार्य कालिगडका ज्यासल बन्द गर्नुपर्ने अवस्था आयो ।
चाल्नाखेल, हात्तीवन, गोदावरी, मच्छेनारायण क्षेत्रबाट पहिलेपहिले ढुंगा ल्याइन्थ्यो । शाक्य भन्छन्, ‘मूर्तिका लागि जहाँतहीँको ढुंगा प्रयोग गरिँदैन । निश्चित ठाउँको ढुंगा मात्र प्रयोग गर्नुपर्छ ।’ मूर्ति बनाउन कालो ढुंगाको प्रयोग गरिन्छ । कालो ढुंगा अति बलियो हुने हुनाले मूर्तिको टिकाउका लागि यो ढुंगाको मात्र प्रयोग गरिन्छ । ढुंगा उत्खनन् र ओसारपसारमा प्रशासनले कडाइ गरेपछि पाटनका कालिगडलाई त समस्या भएकै छ । त्यसमाथि अहिले देशमा भूकम्पपछि पुनर्निर्माण भइरहेका सम्पदामा कमसल ढुंगाको प्रयोग हुने खतरा रहेको शाक्य बताउँछन् । पशुपति क्षेत्रमा भइरहेको पुनर्निर्माणमा कमसल स्याण्डस्टोन प्रयोग भइरहेको भन्ने खबर उनले सुनेका छन् ।
शाक्य आफैं नेपाल हस्तकला महासंघका अध्यक्ष हुन् । सम्पदा पुनर्निर्माणमा महासंघ र कालिगडसँग कुनै प्रकारको सल्लाह सरकारले नलिएको उनी बताउँछन् । भन्छन्, ‘ठेकेदारले सस्तो पाउने दाउमा एक–दुई वर्षमा नै फुस्स जाने ढुंगा प्रयोग गर्ने खतरा छ । यो धेरै खतरनाक कुरा हो ।’
सम्पदा निर्माणको नै यस्तो हालत छ भने आफ्नै घरमा ज्यासल चलाएर मूर्ति बनाउने कालिगडले यो संकट थाम्न सक्ने कुरै भएन ।
ढुंगा संकट समाधान गर्न कानुनी व्यवस्था गरिदिन आफूहरूले झण्डै २० वर्षदेखि सरकारसँग कुरा गर्दै आएको शाक्य बताउँछन् । तर अझै समाधानको कुनै विकल्प सरकारले दिएको छैन । निश्चित रोयल्टी तिर्ने गरी कानुन बनाएर ढुंगा निकाल्ने अनुमति दिनुपर्ने उनको सुझाव छ । तर, कुनै कानुनबिना कालिगडले काम गर्नुपरिरहेको छ । गाउँबाट लुकाएर ढुंगा ल्याउनुपर्ने अवस्था छ ।
यसले गर्दा यो झमेला गर्न कालिगडलाई गाह्रो भयो । अनि बढ्यो, पसल चलाउने सजिलो उपाय ।
शाक्य भन्छन्, ‘पहिले घरबाट निस्केर हिँड्दा सबै ज्यासल नै ज्यासल देखिन्थे । अहिले पसल नै पसल छन् ।’ उनका अनुसार अहिले पुराना ज्यासल बन्द हुँदै गए र पसल खुल्ने प्रतिस्पर्धा चल्दै गयो । यो परिवर्तनले समाजमा एक खालको स्तरीकरणको सिर्जना भयो । पहिले ज्यासलमा काम गर्ने सबै कालिगड थिए । सबैको सामाजिक आर्थिक हैसियत बराबर थियो । अहिले कोही कालिगड भए, कोही अरुले बनाएको मूर्ति बेच्ने पसले । ढुंगा कुँद्ने कालिगड गरीब, पसले चाहिँ धनी भए । कसैको पसल ठूलो कसैको सानो भयो । ठूलो पसलले सानो पसललाई हेप्ने प्रवृत्ति देखा परेपछि माहोल बिग्रेको शाक्य बताउँछन् ।
भन्छन्, ‘यसरी कालिगडकै समाजको संरचनामा नदेखिँदो तरिकाले आएको यो परिवर्तनले कालिगडमा निराशा छायो । ढुंंगामा सबैले इज्जत गर्ने देवता बनाउनेले आफ्नो पेसामा इज्जत महसुस गर्न छाडे ।’
पुराना कालिगडले आफ्ना सन्तानलाई अवसरका अन्य क्षेत्र पहिचान गर्न प्रेरित गर्ने गरेका छन् । शिल्पका पारंगत शाक्य बज्राचार्यका नयाँ सन्तान शिल्पबाट नै यसरी विमुख हुँदैछन् । मर्दैछ, बज्राचार्य र शाक्यको पुर्खौली कौशल ।
बरु अहिले ढुंगाको मूर्तिकलामा पर्वतेको प्रवेश भएको छ । पहाडतिरबाट झरेका तामाङ, गुरुङ अनि अन्य जातका मानिस कालिगडीमा रहेको शाक्य बताउँछन् ।
ढुंगाको मूर्तिकलाले संकटको अवस्था झेलिरहेको अवस्थामा पनि यसैमा भविष्य सोच्ने पनि नभएको भने होइन । पाटन सुन्धाराका २४ वर्षीय जयन महर्जन त्यस्तै एक उदाहरण हुन् । उनका बुबा न्हुच्छेबहादुर महर्जन (बाबु) ले उनी जन्मनु अघिदेखि नै ढुंगाको मूर्ति कुँद्ने काम गरेका थिए । झण्डै ३० वर्षपछि न्हुच्छेबहादुरको उत्तराधिकारी भएर निस्किएका छन्, जयन । जयनले न्हुच्छेको बाबु स्टोन ह्यान्डीक्राफ्ट नामक ज्यासलमा सघाउन थालेको दुई वर्ष भयो ।
ढुंगामा अक्षर काट्दाकाट्दै बुट्टामा रुचि जागेपछि उनले कालिगडीलाई निरन्तरता दिने सोच बनाएका हुन् । जयन भन्छन्, ‘यो त जीवनसँग जोडिएको कुरा हो । यो कला सिक्न एउटा जीवन पनि पर्याप्त नहुन सक्छ ।’ उनको बुबाले जीवन दिएर गरिरहेको कालिगडीलाई उनले पनि आफ्नो जीवनको हिस्सा मिसाउने निर्णय गरेका छन् । त्यसैले उनले ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट पढेका छन् । चौथो वर्ष सकेर उनी बाबुको काममा सघाइरहेका छन् । स्नातकोत्तर भर्ना हुनुअघि केही समय आर्टको प्राक्टिकल गर्न समय छुट्याउन चाहन्छन् । भन्छन्, ‘कलाकारिता सैद्धान्तिक भन्दा बढी प्राक्टिकल विषय हो । त्यसैले केही समय आफ्नो प्राक्टिकल ज्ञान अझ तिखार्न चाहन्छु ।’
ज्यासलमा काम गरिरहेका बेला मूर्तिको कम्पोजिसमा बाबुको लामो अनुभव र जयनको सैद्धान्तिक ज्ञानको टकराव पनि हुन्छ । उनी भन्छन्, ‘कहिलेकाहिँ विचारको कन्ट्राडिक्सन हुन्छ । मैले सम्झाएपछि बुबाले बुझ्नुहुन्छ । मेरो सुझाव लिइसकेपछि बुबाको फाइन आर्ट रिफाइन्ड आर्ट बन्छ ।’ बुबाले शास्त्रीय ज्ञानको आधारमा बनाउने मूर्तिमा आफूको सैद्धान्तिक ज्ञान मिसिएपछि ‘प्रपोजिसन’ ठीक हुने उनी बताउँछन् ।
स्कप्चरमा रुचि भएका र पढिरहेका नयाँ पुस्तामा मोडर्न आर्टमा बढी आकर्षण रहेको जयन बताउँछन् । जसका कारण भविष्यमा ‘ट्राडिसनल आर्ट’ को मौलिकता हराउँदै जाने खतरा रहेको उनी बताउँछन् ।
भन्छन्, ‘हाम्रो आर्ट फिलोसफीकल्ली नै सिम्बोलिक र सभ्य छ । पश्चिमाको आर्ट एनाटमिकल्ली सही हुन्छन् तर त्यसमा भावना कम हुन्छ । माडर्न आर्टको प्रभाव बढ्दै गए हाम्रो मौलिकतामा धक्का पुग्न सक्छ ।’
उनी आफू पनि मोडर्न आर्टमा बढी स्वतन्त्र महसुस गर्छन् । भन्छन्, ‘स्वतन्त्रता भयो भने राम्रो सिर्जना हुन सक्छ । हाम्रा मूर्ति देवताको मूर्तिका कपी मात्र हुन्, अर्थात ती क्राफ्ट मात्र हुन् । क्रिएसन होइनन् ।’ न्यू मिडिया आर्टमा नयाँनयाँ विचारका सिर्जना बनाउन सकिने भएकोले उनी बढी यसमा स्वतन्त्र महसुस गर्छन् ।
यद्यपि उनी आफ्ना बुबाको उत्तराधिकारीका रूपमा नेपाली मौलिक मूर्तिकलाको अभ्यासलाई पनि निरन्तरता दिन चाहन्छन् । यसबाट पैसा र नाम दुवै कमाउने उनको सपना छ । यसका लागि सरकारले चौतर्फी रूपमा सहज वातावरण बनाइदिनुपर्ने उनको अपेक्षा छ ।
जयन पुस्ताका लागि नेपाल हस्तकला महासंघले योजना बनाएको छ । केही वर्षमा सार्क ह्याण्डीक्राफ्ट डिजाइन एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गर्दैछ । जसका लागि सरकारले घरेलु उद्योग विभागअन्तर्गत तीन रोपनी जग्गा र भवन बनाउन तीन करोड रूपैयाँ बजेट पनि यसैपाली दिइसकेको छ । झण्डै तीन वर्षमा यो सेन्टर बनिसक्ने शाक्यले बताए ।
सेन्टरबाट ढुंगाको मूर्ति बनाउने सक्षम पुस्ता तयार हुने आशा गर्न सकिने अध्यक्ष शाक्य विश्वास गर्छन् । त्यसो भएमा भिन्छेबहालका शाक्य र बज्राचार्य समुदायको पुस्तारन्तरणबाट क्रमिक रूपमा छुट्दै सीप पनि जोगिनेछ । यसले देशको अर्थतन्त्रमा समेत राम्रो टेवा पुग्न सक्ने विश्वास उनी गर्छन् । अहिले वर्षमा आन्तरिक बजारमा प्रस्तरका कति मूर्तिकला उत्पादन हुन्छ भन्ने तथ्यांक छैन । निर्यात भने वर्षको एक–दुई करोड रूपैयाँ बराबरको हुने गरेको महासंघका अध्यक्ष शाक्यले बताए ।
 

जिम्मेवारीले कालिगड बनायो
धर्मराज शाक्य
मूर्तिकार तथा अध्यक्ष, नेपाल हस्तकला महासंघ

मैले कहिलेदेखि ढुंगा कुँद्न सिकेँ सम्झना छैन । यो मेरो परिवारको पुख्र्याैली पेसा हो । मेरा बाजेदेखि नै यहि पेसालाई निरन्तरता दिँदै आएका छौं । बाजेभन्दा अघिका कति पुस्ता प्रस्तरकलामा थिए भन्ने हामीलाई थाहा छैन ।
हाम्रो घरमै ज्यासल थियो । बुबा आमा बिहान उठेदेखि राति नसुतेसम्म नै ज्यासलमा काम गर्नुहुन्थ्यो । मैले बुबासँग ज्यासल खेल्दाखेल्दै ढुंगा खोप्न सिकिसकेको रैछु । पछि बुबाले मूर्तिमा खाक्सी लगाउने अनि सानातिना बुट्टा बनाउने काम दिनुभयो । त्यसरी बुबालाई सघाउँदा सघाउँदै राम्रै जानिसकेको रैछु । बुबा नुमनराज शाक्य ललितकला क्याम्पसको मूर्तिकला विभागमा उपप्राध्यापक पनि हुनुहुन्थ्यो । उहाँ पढाउने पनि भएकोले कहिलेकाहिँ काम नभ्याउँदा मैले नै फिनिसिङ गरिदिनुपथ्र्याे । यस्तो हुँदाहुँदै ग्राहक बुबासँगभन्दा मसँग बढी चिनजान र भेटघाट हुँदै गयो । त्यसरी पेसामा एक प्रकारको नसा पनि लाग्यो ।  
स्वतन्त्र रूपमा कालिगडी र व्यवसाय गर्न थालेको ३२ वर्ष जति भयो । त्यतिबेला पनि बुबाआमाले छोराछोरी ढुंगा कुँदेर बसुन् भन्ने चाहँदैनथे । सधैं धुलोमुलोमा बस्नुपर्ने, गह्रौं ढुंगा ओल्टाइपल्टाइ गर्नुपर्ने भएकोले यस्तो गाह्रो काम आफ्ना सन्तानले नगरुन् भन्ने अभिभावकको चाहना हुन्थ्यो । त्यसैले मलाई मूर्ति हैन पेन्टिङ पढ्न लगाए । मैले पेन्टिङमा मास्टर्स गरेको छु । पढाइ पेन्टिङ भए पनि पेसाका रूपमा प्रस्तरकलालाई छाड्न सकिनँ । यसको पनि कारण छ । २०४८ सालमा नेपाल हस्तकला संघले आयोजना गरेको प्रतियोगितामा मैले बनाएको सिद्धिलक्ष्मीको १५ इन्चको मूर्तिले पहिलो पुरस्कार पायो । सन् १९९६ मा नाफाले गरेको प्रतियोगितामा मैले बनाएको प्रज्ञा पारमिताको मूर्तिले पनि पहिलो पुरस्कार जित्यो । सन् १९९७ मा बनेपामा जलशयन २२ फिट अग्लो नारायणको मूर्ति बनाउने अर्डर आयो, यद्यपि अझै त्यो पूरा भएको छैन । त्यसपछि झन् सबैतिर चर्चा भयो । त्यो बनाउँदाबनाउँदै भिजिट नेपाल १९९८ को उपलक्ष्यमा बसन्तपुरको सिंहको मूर्ति बनाउने अवसर पाइयो । त्यसो गर्दागर्दै मलाई यो क्षेत्रमा बसिरहन पर्ने भयो । २०५६ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार र २०५७ सालमा गोरखा दक्षिणबाहु पाएँ । त्यसपछि त जति गाह्रो भए पनि यो पेसा गर्नैपर्ने बाध्यताजस्तो सिर्जना भयो । जिम्मेवारीले थिचेपछि निरन्तरता नदिई सुख पनि भएन । यसरी काममा स्थापित हुँदै गएपछि बुबाले पनि यहि काममा प्रोत्साहन दिन थाल्नुभयो ।
सुरुमा पुरानो घरमै ज्यासल थियो त्यसैमा काम गरियो । त्यसपछि चपट टोलको नयाँ घरमा पनि गर्न थालियो । त्यहाँ पनि ठाउँ नपुगेपछि चक्रपथमा जग्गा भाडामा लिएर कारखाना चलायौं । त्यसमा पनि ठाउँ पुगेन । त्यसपछि २०५८ सालमा पाटन औद्योगिक क्षेत्रमा कारखाना खोल्ने ठाउँ मिल्यो । त्यतिबेलादेखि यहि ठाउँमा बसेर प्रस्तरकलाको अभ्यास गरिरहेको छु । म दिनभरि नै यहिँ हुन्छु । संस्थागत जिम्मेवारीका कारण कतै कार्यक्रम भएको बेलाबाहेक म हरेक समय यहि ज्यासलमा हुन्छु ।
अहिलेसम्म मखनटोलमा दुइटा मन्दिर बनायौंैं । बसन्तपुरकै सेरोफेरोमा चिकंमुगल भन्ने ठाउँमा चैत्य बनायौं । भक्तपुरको श्यामाश्यामाधाममा ढुंगाको राधा मन्दिर बनायौं । मध्यपुर ठिमी चोकमा रहेको शंखधर साख्वको मूर्ति पनि बनायौं । मुस्तांगमा ३२ फिट अग्लो बुद्धको मूर्ति बनाइरहेका छौं । लुम्बिनीमा १० फिट अग्लो बुद्धको मूर्ति बनायौं । रसियाको मस्कोमा नेपाल हाउसमा थुप्रै ढुंगाको मूर्ति बनाएका छौं । जापान, जर्मनी, अमेरिका चीनलगायत मुलुकमा हाम्रो मूर्ति जान्छ ।

प्रकाशित: २४ भाद्र २०७४ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App