६ वैशाख २०८१ बिहीबार
राजनीति

चीन नेपालको भरपर्दो साझेदार : महरा

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भिन्न आकार र सामाजिक प्रणाली भएका नेपाल र चीनबीचको सम्बन्ध विश्वमै उदाहरणीय भएको बताएका छन् । बेइजिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशभित्र र बाहिर थुप्रै परिवर्तन भए पनि नेपाल–चीन सम्बन्ध भने झन्झन् मजबुत बन्दै गएको  बताए ।

‘नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा अडिग छ । हाम्रो छिमेकविरुद्ध हामी नेपालभित्र कुनै पनि गतिविधि हुन दिँदैनौं ।’

‘नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा अडिग छ । हाम्रो छिमेकविरुद्ध हामी नेपालभित्र कुनै पनि गतिविधि हुन दिँदैनौं । नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरेपनि चीनसँगको हाम्रो सम्बन्ध न्यानो र घनिष्ट रहनेछ । यो नै नेपाल–चीन सम्बन्धको विशेषता हो,’ मन्त्री महराले भने ।
मजबुत आर्थिक सहयोग तथा साझेदारीले नेपाल र चीनबीचको राजनीतिक सम्बन्धलाई बलियो बनाएको उनले बताए । ‘हामीले चीनलाई नेपालको सामाजिक–आर्थिक प्रगति र रूपान्तरणको भरपर्दो तथा विश्वसनीय साझेदारका रूपमा लिएका छौं,’ उनले भने ।

नेपालले आफ्नो विदेश नीतिमा नै नजिकको छिमेकीलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेको उनले जनाए । चीनले पनि नजिकको छिमेकीलाई उच्च प्राथमिकता दिएकोमा उनले खुसी व्यक्त गरे ।

मन्त्री महराले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई) ले विकासका लागि साझेदारीका अवसर प्रदान गरेको बताए । बिआरआईअन्तर्गत पूर्वाधार विकास, सम्पर्क सञ्चालको विस्तार, व्यापार, लगानी, पयर्टन र जनता–जनताबीचको सम्बन्धमा नेपालको विशेष स्वार्थ रहने उनले स्पष्ट पारे । ‘नेपालका प्रमुख सहरलाई रेल सेवाले उत्तरी नाकासम्म जोड्ने अधिकांश नेपालीको आशा र इच्छा छ । मलाई लाग्छ, यो नेपालीको जायज माग हो । चिनियाँ स्रोतसाधन र प्रविधिको प्रयोगले यसलाई पूर्णता दिन सकिन्छ,’ मन्त्री महराले भने ।
‘कनेक्टिभिटी’ नेपाल–चीन सम्बन्धको महत्वपूर्ण कडी भएको उनले जनाए । कनेक्टिभिटी अभावमा नेपालको विकासले गति लिन नसकेको उनको भनाइ थियो ।  चीनसँग बढीभन्दा बढी सडक, रेल र हवाई सञ्जाल जोडिनुपर्ने उनले जनाए । सीमापार रेलसेवा, प्रसारण लाइन, नयाँ सडक, पारवहनलगायतले विकासको परिदृश्य बदलिदिने धारणा उनले राखे ।
‘नेपालजस्तो भूपेरिवेष्टित देशका लागि कनेक्टिभिटी र पारवहन तथा यातायात सुविधा महŒवपूर्ण हुन्छ । हामीले सन् २०१६ मा चीनसँग पारवहन तथा यातायात सम्झौता गरेका छौं । यसलाई टुंगोमा पु¥याउन आवश्यक प्रोटोकललाई अन्तिम रूप दिन हामी लागिपरेका छौं,’ मन्त्री महराले भने ।
कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले चिनियाँ लगानीकर्ता लाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरे । जलविद्युत्को नेपालमा प्रचुर सम्भावना रहेको र यसबाट नेपाल र नेपाल दुवैले फाइदा लिनसक्ने उनले बताए ।

 

प्रकाशित: २४ भाद्र २०७४ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App